कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

झडपपछि सर्लाहीमा कांग्रेस अधिवेशन अन्योल

आधा दर्जनभन्दा बढी नेता–कार्यकर्ता घाइते
ओमप्रकाश ठाकुर

सर्लाही — जिल्लामा बिहीबार हुने भनिएको कांग्रेसको वडा अधिवेशन हुन सकेन । मतदान अधिकृत खटनपटन र निर्वाचन कार्यालय स्थानान्तरण विवादपछि कांग्रेसको संस्थापन र इतर पक्षबीच बिहीबार झडपसमेत भयो । जसका कारण वडा अधिवेशन अनिश्चित बनेको हो ।

झडपपछि सर्लाहीमा कांग्रेस अधिवेशन अन्योल

यसअघि दुवै पक्षले सहमति गर्दै बिहीबार वडा अधिवेशन गर्नेगरी मिति तोकेका थिए । तर मतदान अधिकृत खटनपटनमै विवाद चुलिएको थियो । बुधबार अबेर रातिसम्म अधिकांश स्थानमा विवाद समाधान भए पनि दुई स्थानमा कसलाई मतदान अधिकृत खटाउने भन्नेमा सहमति जुट्न सकेन । दुवै पक्षबीच बिहीबार बिहान टुंगो लगाउने मौखिक सहमति बन्यो । तर सहमति नै नगरी निर्वाचन अधिकृत दिवाकर पाण्डेले एक पक्षीयरुपमा मतदान अधिकृतको नामावली सार्वजनिक गरेपछि विवाद बढेको हो । यसअघि निर्वाचन अधिकृतको कार्यालय राख्ने स्थानका विषयमा पनि विवाद थियो । शुभेच्छुक संस्थाले पार्टी कार्यालयबाटै गर्ने सहमति गराएपछि विवाद टुंगिएको थियो । तर बुधबार राति पाण्डे निर्वाचनका सम्पूर्ण कागजातसहित सभापतिनिकट व्यक्तिको होटलमा बसेपछि इतरपक्ष चिढिएका थिए । जसले झडपको रूप लिएको थियो । मलंगवास्थित पार्टी कार्यालयमा बिहीबार अपरान्ह दुई पक्षबीच कुटाकुट नै भयो । जसमा दुवै पक्षका गरी आधा दर्जनभन्दा बढी नेता–कार्यकर्ता घाइते भएको बताइएको छ ।

विवादको क्रममा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र सिंहका अंगरक्षकले कांग्रेस इतर पक्षका नेताद्वय विनोद खनाल र बलिराम झामाथि पेस्तोल ताकेपछि झडप भएको पूर्वसभापति लक्ष्मण रायले बताए । उनले बहालवाला सभापतिकै कारण झडप भएको आरोपसमेत लगाए । सभापतिले सहमति एकथरी काम अर्कोथरी गरेकाले समस्या आएको उनले बताए । सभापतिको अनुचित कार्यलाई निर्वाचन अधिकृतले साथ दिएको उनको आरोप छ । ‘सहमतिअनुसार काम हुनुपर्‍यो । तर संस्थापन पक्षले सहमति गरेर कार्यान्वयन गर्दैन । यो कुरा बुझ्न जाँदा हामीमाथि नै आई लागे । मन्त्रीका गार्डले समेत नेतामाथि पेस्तोल ताकेपछि झडप हुन पुग्यो,’ उनले भने, ‘यो सबैको जड सभापति नै हुन् ।’

सभापति नागेन्द्रकुमार रायले मतदान अधिकृत खटाउने विषयमा कुराकानी भइरहेको बेला निर्वाचन अधिकृतलाई घेरा हालेर हातपात गरिएको दाबी गरे । दुई पक्षबीचको विवादले बिहीबार तोकिएका मतदान अधिकृत पनि वडामा पुग्न सकेनन् । जसले निर्वाचन गतिविधि अघि बढ्न सकेन । विवाद सुल्झाएर अधिवेशन गर्न बिहीबार साँझसम्म दुवै पक्षबीच छलफल भएको छैन ।

प्रकाशित : मंसिर ३, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×