कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

तस्करी बढ्यो, गस्ती छैन

गस्ती गर्न सहज भए पनि वनका कर्मचारी र साझेदारीका समितिले चासो देखाएनन् 
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीस्थित साझेदारी वनमा सालका रूखको चोरी तस्करी बढेको छ । घना जंगलमा तस्करहरूले छानीछानी सालका रूखहरू कटान गरिरहेका छन् । तर, वन कार्यालय र साझेदारीका पदाधिकारीले भने तस्करी रोक्न उदासीन देखिएका छन् । उनीहरूले गस्तीसमेत बढाउन सकेका छैनन् । 

तस्करी बढ्यो, गस्ती छैन

सर्लाहीको हरिवनस्थित घुर्कौली र जानकीनगरको बीचमा रहेको झण्डै १ हजार २ सय हेक्टरमा फैलिएको जंगलमा तस्करहरूले अहिले जथाभावी काँचो सालका रूखहरू छानी–छानी कटान गर्न थालेका हुन् । तस्करहरू दिनहुँ सालका रूख काटेर टुना बनाई साइकलमा लोड गरेर चोरीतस्करी गर्न थालेको स्थानीय बताउँछन् ।

सालका रूखहरू कटान हुँदा घना जंगल पातलिँदै गएको छ । गस्ती गर्न सहज भए पनि वनका कर्मचारी तथा साझेदारीका समितिले चासो देखाएका छैनन् । गस्ती नभएकै कारण वनमा चोरीतस्करी बढेको घुर्कौलीका एक स्थानीयले बताए । उनले सम्बन्धित निकायको मिलेमतोमा काठ तस्करी मौलाएको आरोप लगाए 

‘हावा नचली पात नहल्लिएजस्तै वन कर्मचारी र साझेदारीका पदाधिकारीको सहमतिबिना काठ तस्करी सम्भव नै छैन,’ उनले भने, ‘सहज स्थानमा पनि गस्ती नगर्नु र जंगलको काठचोरी तस्करी हुनुमा मिलेमतो रहेको स्पस्ट हुन्छ ।’ जानकीनगरको घुर्कौलीतर्फको जंगलको बीच भागमा अहिले जताततै सालका रूखहरू कटान भएको देखिन्छ । काम नलाग्ने कम मोटाइका सालका गोलिया भने त्यतिकै फालिएको छ । ‘जंगलबाट ल्याइएका सालका टुना घर तथा सुरक्षित स्थानमा लुकाएर तस्करहरूले राख्ने गर्छन्,’ एक स्थानीयले भने, ‘पछि त्यसको फल्ली बनाई महँगोमा बिक्रीवितरण गर्ने गर्छन, जंगल छेउका बस्तीका अधिकांश यो काममा संलग्न छन् ।’

सर्लाहीको चुरेक्षेत्रमा एक दशकअघि वनविनाश हुने गरी तस्करहरूले सालका गोलियाहरू निर्बाधरूपमा कटान गरेका थिए । सुरक्षा पहुँच नभएको मौका छोपी चुरेमा सालका रूखहरू कटान भएको थियो । पछि प्रहरी प्रशासन सक्रिय भएपछि करोडौंको सालका गोलिया बरामद पनि भएको थियो ।

त्यसबेला तत्कालीन वन प्रमुखसहित ७ जना निलम्बन गरिएका थिए । तर जानकीनगरमा सुरक्षा पहुँच भएपनि तस्करी रोकिएको छैन । सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पुरा नगर्दा तस्करी मौलाएको नागरिक अगुवा रजनिकान्त झाले बताए । उनले जंगलमा छानीछानी रूख कटान भइरहेकोमा त्यसको जिम्मा वन कार्यालय र साझेदारीका पदाधिकारीले लिनुपर्ने बताए ।

जानकिनगरको जंगलमा रूखहरू कटान भइरहँदा पनि आफुलाई जानकारी नरहेको साझेदारीका अध्यक्ष रामविश्वास रायले बताए । जिल्ला वन कार्यालय र सव डिभिजन जानकिनगरको कार्यालयले पनि रूखहरू कटान भइरहेको भेउ पाउन सकेका छैनन् ।

सव डिभिजनका प्रमुख सहायक वन अधिकृत सुवास साहले कर्मचारी अभावका कारण वनमा गस्ती गर्न नसकिएको जानकारी दिए । उनले वनमा गस्ती गर्न सुविधा समेत नभएको गुनासो पोखे । ‘यहा जम्मा आठ जना कर्मचारी छौं, जसमध्ये तीनजना चुरेका लागि राखेका छौं, पाँच जना राजमार्गभन्दा तलको जंगल हेर्छौं,’ उनले भने, ‘त्यसमा पनि सेवा सुविधा केही पनि छैन, जसको फाइदा तस्करहरूले उठाउँछन् ।’ साहका अनुसार सीमित कर्मचारी भए पनि साउन यता १ सय ५० सीएफटी काठ सहित दुई ट्याक्टर, तीन साइकलसहित ५ मानिसलाई पक्राउ गरेर बुझाइएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख माधवप्रसाद देवले जंगलमा पेट्रोलिङ गरिरहेको दाबी गरे । उनले रूखहरू कटान भएको क्षेत्रमा निरीक्षण गर्ने जानकारी दिए । वन प्रमुख देवका अनुसार जंगल छेउछाउको बस्तीका व्यक्तिहरूले नै यो कार्यमा संलग्न छन् । उनले बेला बेला जंगल आसपासका क्षेत्रमा खानतलासी गर्दा काठहरू बरामद हुने गरेको जानकारी दिए ।

‘पेट्रोलिङ गरेर कर्मचारीहरू फर्केको मौका छोपी स्थानीय साइकलमा जंगल पस्ने र रूखहरू कटान गरेर तस्करी गर्ने गरेको जानकारी पाएको छु, त्यहीअनुसार बेलाबेला खानतलासी गर्दा काठहरू बरामद हुने गरेको छ,’ उनले भने, ‘जानकिनगरमा फेरि पनि आसपासका मानिसहरू सलबलाइरहेका छन्, उनीहरूलाई नियन्त्रण लिने प्रयासमा छौं ।’

प्रकाशित : कार्तिक १८, २०७८ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×