कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍वविद्यालय स्थापनका लागि प्रदेश २ सरकरद्वारा अध्यादेश सिफारिस

कान्तिपुर संवाददाता

धनुषा — प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्‍को मंगलबार बसेको बैठकले वीरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना गर्न २ वटा अध्यादेश प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुला हुनेछ ।

विश्‍वविद्यालय स्थापनका लागि प्रदेश २ सरकरद्वारा अध्यादेश सिफारिस


कृषि तथा प्राविधिक सम्बन्धी उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेशस्तरी कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम अध्यादेश सिफारिस गरेको प्रदेश सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले बताए । प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको साहले बताए ।

मन्त्रिपरिषद् बैठकले 'ग्रीन सिटी क्लिन सिटी' अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगंजमा सरसफाई, विजुली बत्ती तथा वृक्षारोपण कार्य संचालन गर्ने निर्णयसमेत गरेको साहले बताए । मन्त्रिपरिषद्‍ले प्रदेश सरकारद्वारा संचालित विकास निर्माणको कार्यलाई प्राविधिकसहितको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिलासुस्ती एवं गुणस्तरहीन काम गरेको पाइए निर्माण कम्पनीको बैंक ग्यारेन्टी जफत र कालो सूचीमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले एसिड पीडित पर्साका मुस्कान खातुनालाई थप उपचारको लागि प्रदेश सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाईसमेत पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रकाशित : कार्तिक ९, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?