कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहसंस्कारबाटै शव नियन्त्रण प्रकरण : घटना लुकाउने र प्रमाण दबाउनेविरुद्ध मुद्दा

भूषण यादव

वीरगन्ज — दाहसंस्कार गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि काठमाडौं पठाएको शवको मृत्यु झुन्डिएर भएको खुलासा भएको छ । गत असोज २२ मा वीरगन्ज महानगरपालिका– १३ मुर्ली नयाँ टोलस्थित कब्रिस्तानमा एक भारतीय युवतीको दाहसंस्कार गर्दागर्दैको अवस्थामा प्रहरीले शव नियन्त्रणमा लिएको थियो ।

दाहसंस्कारबाटै शव नियन्त्रण प्रकरण : घटना लुकाउने र प्रमाण दबाउनेविरुद्ध मुद्दा


झुण्डिएर मृत्यु भए पनि पोस्टमार्टम नगराई शव गाड्न थालिएकाले घटना थप शंकास्पद भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ । घटना लुकाउने र प्रमाण दबाउने प्रयास गरेको भन्दै प्रहरीले वीरगन्ज महानगरपालिका १५ का वडा अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

जबर्जस्ती करणी गर्ने क्रममा अत्याधीक रक्तश्राव भई १४ वर्षीय युवतीको मृत्यु भएको र घटना लुकाउन मुस्लिम परम्परा अनुसार शवलाई गाड्न थालिएको सूचनाको आधारमा प्रहरीले असोज २२ को साँझ युवतीको शव नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जनाए । असोज २३ मा शव पोस्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको थियो ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले युवतीको मृत्यु झुन्डिएर भएको रिपोर्ट आएको जनाए । ‘पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्यांगगिङ’ उल्लेख गरिएको छ,' कान्तिपुरसँग डीएसपी खनालले भने ।

शवमा भित्री/बाहिरी चोट पटक देखिएको छैन । झुन्डिएर मृत्यु भए पनि घटनाबारे प्रहरीलाई जानकारी नदिई दाहसंस्कार गर्न लागिएकाले घटनालाई शंकास्पद बनाएको थियो । ‘घटना लुकाउने र प्रमाण दबाउने प्रयास भएको छ,’ उनले भने, ‘अपराध संहिताको कसूर प्रमाण दबाउने सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको छ ।’

भारतको बिहारको पश्चिमी चम्पारणस्थित इनर्वा खनिया निवासी मृतक जयुनत खातुन जगरनाथपुर गाउँपालिका निवासी आफ्नो भिनाजुको घर बस्दै आएकी थिइन् । मृतक युवती जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँका कान्छो छोराकी साली थिइन् । स्रोतका अनुसार शंकास्पद मृत्युमा पहुँचवाला व्यक्ति संलग्न हुनसक्ने आशंकामा प्रहरीले शव पोस्टमार्टमका लागि काठमाडौं पठाएको थियो । प्रहरीले शंकास्पद मृत्युमा जबर्जस्ती करणीकै आशंका गरेका छन् ।

वीरगन्जको मुर्लीस्थित जालिमको जेठो छोराको घरमा युवतीको शव राखिएको छ भन्ने प्रारम्भिक सूचना आएको थियो । प्रहरी घरमा पुग्दा महिलाहरु मात्र थिए, त्यसपछि मुस्लिम समुदायको दाहसंस्कार गर्ने स्थलहरुमा प्रहरीले खोजबिन सुरु गरेको थियो । खोजबिनकै क्रममा मुर्ली नयाँ टोलस्थित कब्रिस्तानमा युवतीको शव गाड्न थालिएको अवस्थामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सबुत प्रमाण नष्ट गर्ने कसूरमा प्रहरीले जालिम मियाका जेठो छोरा नासिर मिया, केटीका बुवा र वीरगन्ज महानगरपालिका १३ का वडा अध्यक्ष विरुद्ध मुद्दा दर्ता गरेको एसपी बेल बहादुर पाण्डेले जनाए । ‘शव कब्रिस्तान लैजानुभन्दा अगाडि नासिरको घरमा राखिएको थियो,’ एसपी पाण्डेले भने, ‘मृतक युवतीका बुवालाई घटनाबारे जानकारी हुँदा पनि प्रहरीलाई खबर गरेनन्, शव नियन्त्रणमा लिने बेला वडा अध्यक्षले अवरोध पुर्‍याएका थिए ।’

प्रकाशित : कार्तिक ७, २०७८ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?