कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक कर्मचारीको भरमा कार्यालय

बिमा दर्ता प्रक्रियामा ढिलाइ हुँदा समयमै स्वास्थ्य सेवा नपाउने समस्या
सुनिता बराल

महोत्तरी — छरपस्ट कागज, यत्रतत्र फ्याँकिएको बोतल र गिलास । कार्यालय प्रमुखकै टेबुलबाट भुइँमा खसेका कागजका पन्नाले कार्यालय कुरुप देखिन्छ । कार्यालय नै यस्तो भएपछि सेवा कस्तो होला ? 

एक कर्मचारीको भरमा कार्यालय

स्वास्थ्य बिमा कार्यालय महोत्तरीको अवस्था हो यो । अस्तव्यस्त कार्यालयमा निकै व्यस्त छन् कार्यालय प्रमुख पप्पुकुमार यादव । जिल्लाका एक मात्र दर्ता अधिकारी यादवलाई महोत्तरीका १५ पालिकाको जिम्मेवारी छ । बोर्डले पर्याप्त कर्मचारी दिन नसक्दा यादवले एक्लै काम गर्दै आएका छन् । इच्छुक व्यक्ति तथा परिवारको बिमा दर्ता गर्नुपर्ने जिम्मेवारी त उनलाई छँदै छ, बिमितले सेवा पाउन समस्या भए अस्पताल पुग्नुपर्ने र प्रत्येक पालिकाका बिमाका फाइल कार्यालयमा ल्याउनुपर्ने जिम्मेवारी पनि एक्लै सम्हाल्नुपर्दा उनलाई भ्याइनभ्याई भएको हो ।

यादव पहिले स्वास्थ्य चौकीमा काम गर्थे । बिमातर्फ अनुभव नभएका उनलाई बोर्डले तालिमसमेत दिएको छैन । कामका क्रममा सिकाइ पनि हुँदै गएको उनी बताउँछन् । ‘तर, बोर्डले तालिम भए काम गर्न झनै सहज हुन्थ्यो,’ यादवले भने । एक्लो व्यक्ति भएकाले काम भ्याउन निकै समस्या हुने गरेको उनले बताए । ‘त्यसैले कार्यालय पनि भद्रगोल छ, सफा गर्न भ्याएको छैन,’ उनले भने ।

बिमाकै कामले जिल्लाका विभिन्न पालिका पुग्नुपर्दा पालिकाका दर्ता सहयोगीले उनलाई मुस्किलले भेट्ने गरेका छन् । फोन गरेर समय मागेपछि एक सातामा बल्लतल्ल भेट्न सकिने गौशाला नगरपालिका ४ की दर्ता सहयोगी आशा तोलाङ्गेले बताइन् ।

दर्ता अधिकारीको कमीको मुख्य असर ३ महिनाको बिमा चक्रमा पर्ने गर्छ । आर्थिक वर्षको सुरुवातदेखि यो चक्र सुरु हुन्छ । साउन, भदौ र असोजमा बिमा दर्ता गराए एक महिना छाडेर मंसिरबाट बिमा सुविधा पाउनुपर्छ । तर, त्यो अवधिमा प्रक्रिया पुग्न नसके बिमितले मंसिरमा त्यो सुविधा पाउँदैनन् । प्रक्रिया अघि नबढेकै कारण बिमाको स्वास्थ्य सेवा पाउन एक–डेढ महिनासम्म ढिलाइ भएको बिमितहरूको गुनासो छ । अहिले यस्तो गुनासो आउन नदिने गरी काम गरेको प्रमुख यादवले दाबी गरे । ‘यो समस्या नआओस् भन्नका लागि घरमा समेत राति अबेलासम्म बिमा दर्ताकै काम गर्ने गरेको छु,’ उनले भने ।

स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी शोभित रिजालले स्वास्थ्य बिमाका लागि हाल देशभर ३०५ दरबन्दी भए पनि १५४ जना मात्र कार्यरत रहेको जानकारी दिए । ‘सरकारले फाजिलका कर्मचारी दिने भने पनि दरबन्दीअनुसार पाउन सकेका छैनौं,’ उनले भने, ‘जिल्लाको जनसंख्याको आधारमा दरबन्दी दिएका छौं ।’ उनले कर्मचारीका लागि ओएन्डएम सर्भे गरेर सरकारलाई बुझाएको र प्रक्रिया अघि बढिरहेको बताए ।

महोत्तरीमा अहिलेसम्म २५ हजार ५ सय ४७ व्यक्तिले स्वास्थ्य बिमा गराएका छन् । तर, यो संख्या कम भएको यादव बताउँछन् । स्वास्थ्य प्रदायक संस्था नभएकाले बिमामा आकर्षण नदेखिएको उनको भनाइ छ । चालु आर्थिक वर्षको सुरुवाती ३ महिनाको चक्रमा हालसम्म जिल्लाका ७ सय ४३ जनाले स्वास्थ्य बिमा गराएका छन्, जसमा २ सय ८१ जना ज्येष्ठ नागरिक, लक्षित वर्ग (पूर्ण अपांगता भएका, महिला स्वयंसेविका, एचाईभी एड्स भएका व्यक्ति) ३५ जना, १ सय १९ परिवार नवीकरण र ३ सय ६८ परिवारले बिमा गरेका छन् । नजिकै सबै सेवा दिने स्वास्थ्य संस्था नहुँदा रेफर गर्नुपर्ने समस्याका कारण महोत्तरीबाट उल्लेख्य बिमा नभएको यादवले बताए ।

जिल्लास्थित जलेश्वर अस्पताल, बर्दिवास अस्पताल र निजीतर्फ बर्दिवासमा रहेको शुभस्वस्तिक अस्पतालले स्वास्थ्य बिमा सेवाको स्वीकृति पाएका छन् । यहाँका धेरैजसो अस्पतालबाट रेफर लिएर काठमाडौंलगायत जिल्लाका सबै सेवा भएका अस्पतालमा जाने गरेको बर्दिवास अस्पतालका डा. सुनील दाहालले जानकारी दिए ।

प्रकाशित : आश्विन २४, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?