मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मार्दैमा संघीयता कमजोर हुँदैन : सोनल- प्रदेश २ - कान्तिपुर समाचार

मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मार्दैमा संघीयता कमजोर हुँदैन : सोनल

सन्तोष सिंह

जनकपुर — प्रदेश २ का प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीको गतिविधिका कारण प्रदेशको गरिमामाथि प्रश्न उठेको आरोप लगाएका छन् । 

‘साइकल खरिद विषयमा मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको छ,’ सोनलले भने, ‘साइकल खरिदमा मुख्यमन्त्रीलाई लागेको दाग धुन मार्गप्रशस्त गर्नुपर्छ । सुशासन भाषणमा मात्रै नभएर व्यवहारमा देखिनु पर्छ ।’

अख्तियारले प्रदेश सरकारलाई बद्‍नाम बनाउन खोज्यो : मुख्यमन्त्री राउत

प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता सोनलले मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धानको छापाले संघीयतामाथि कुनै खतरा नहुने बताए । ‘संघीयता लौकाको कोपिला होइन,’ सोनलले भने, ‘मुख्यमन्त्री कार्यालयमा साइकल खरिदमा भएको अनियमितताको उजुरी अधारमा अख्तियारले छापामारीले संघीयता गुम्दैन ।’

प्रदेशसभामा मुख्यमन्त्री कार्यालयले साइकल खरिद बारेको जानकारी दिएकोमा धन्यवाद दिँदै संसदीय समितिले पटक–पटक साइकल खरिदको कागजात माग्दा नदिनुको कारण मुख्यमन्त्रीले प्रस्ट पार्नुपर्ने बताए । ‘मुख्यमन्त्रीको निरीहतामाथि प्रश्न उठेको छ,’ सोनलले भने, ‘कार्यालयको गतिविधि जानकारी नहुनु, मन्त्रालयको विवाद अदालतमा जानु दुर्भाग्य हो ।’ अनुसन्धानका लागि मुख्यमन्त्री कार्यालयबाट कागजात लिएर गएपछि अख्तियारविरुद्ध प्रदर्शन गर्नुको तुक नभएको पनि उनको भनाइ थियो ।

प्रदेश सरकारले छोरी बिमा कार्यक्रम ल्याएर डंका बजाएर प्रदेशमा लाखपति छोरी जन्मिने घोषणा गरे पनि व्यवहारमा लागू नभएको सोनलको टिप्पणी थियो ।

प्रकाशित : आश्विन २०, २०७८ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

अख्तियारले प्रदेश सरकारलाई बद्‍नाम बनाउन खोज्यो : मुख्यमन्त्री राउत

सन्तोष सिंह

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सरकारलाई बद्नाम गर्न जालझेल गरेको टिप्पणी गरेका छन् । प्रदेश सभालाई समबोधन गर्दे मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम हुने षड्यन्त्र भएको बताए ।

मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत साइकल वितरण कार्यक्रमलाई विवादित बनाउने राजनीति षड्यन्त्र भएको उनले आरोप लगाए । प्रदेश सभाबाट पारित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन, राउतले भने, ‘मुख्यमन्त्री र प्रदेश सरकारलाई जालझेल गरी बद्नाम गरिएको छ । सरकारविरुद्ध षड्यन्त्र भएको छ ।’

मुख्यमन्त्री कार्यालयले प्रक्रिया पूरा गरी साइकल खरिद गरेको कागजात प्रदेश सांसदलाई देखाउँदै मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारको गरिमामाथि प्रहार गरेको बताए । ‘अख्तियारको छापा संस्था माथिको आक्रमण हो,’ राउतले भने, ‘अख्तियारले पत्र नै नपठाइ छापा मारे । यो व्यवहार ठीक हो त ? प्रदेशको सिंहदरबारको अख्तियारले छापा मार्न मिल्छ ?’ आयोगले समन्वय गरेको भए आफै सबै कागजात उपलब्ध गराउने पनि उनको भनाइ थियो ।

साइकल खरिदको लागत र कम्पनी सार्वजनिक

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले वितरण गरेको साइकलले प्रदेशको छोरीको सुरक्षा र शिक्षामा सहयोग भएको बताए । इबिडिङ गरी न्यूनतम मूल्यमा साइकल खरिद गरिए पनि साइकल खरिदलाई विवादित बनाएको आरोप लगाए । ‘सुशासनका लागि प्रतिबद्ध म आफै अनुसन्धानमा सहयोग गर्न तयार छु,’ मुख्यमन्त्री राउतले भने, ‘जालझेल गरी प्रदेश सरकारमाथि आक्रामण भयो । मुख्यमन्त्री कार्यालयमा आउँदा समन्वय हुनुपर्थ्यो । कार्यालयमा अपनाएको प्रक्रिया सही भएन ।’

कर्मचारीको असहयोग र जनशक्ति अभावका कारण प्रदेश सरकारका चर्चित अभियानहरु प्रभावित भएको राउतले आरोप लगाए । ‘कर्मचारीबाट पाउनु पर्ने सहयोग नपाउनु र न्यून कर्मचारीका कारण सरकारलाई सिस्टम बसाल्न समस्या भएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ कर्मचारीकै असहयोगका कारण प्रभावित भएको छ ।’

अभियानअन्तर्गत प्रदेशमा जन्मिने छोरीहरुको बिमा कार्यक्रम कर्मचारीकै कारण अवरुद्ध भएको राउतले आरोप लगाए । प्रदेश सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ले अन्य प्रदेशलाई समेत पाठ सिकाएको बताउँदै छोरी बिमा कार्यक्रम प्राविधिक कारणले अगाडि बढ्न नसकेको बताए । एक लाखबाट सुरु भएको छोरी बिमा कार्याक्रम तीन लाख पुगेको जानकारी गराउँदै प्राविधिक कारणले अभियान रोकिएको बताए । साढे तीन वर्षमा प्रदेश सरकारले सीमित स्रोत साधनबाट उदाहरणीय काम र प्रदेशका लागि आवश्यक उत्कृष्ट कानुन बनाएको राउतले दाबी गरे ।

प्रदेशसभाको सातौ अभिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पठाएको पत्र पढेर सभामुख सरोजकुमार यादवले जानकारी गराएका थिए । प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभामा प्राप्त छैटौं अधिवेशन अन्त, सातौँ अधिवेशन आह्वान, मन्त्रिपरिषद पुनर्गठन बारेको पत्र सभामुखले वाचन गरेका थिए । प्रदेशसभामा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदैछन् । सातौँ अधिवेशनको पहिलो बैठकमा दलका सांसदहरुलाई बोल्ने समय दियएको छ । दोस्रो बैठकमा राउतले विश्वासको मत लिने छ ।

प्रकाशित : आश्विन २०, २०७८ १३:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×