कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

रौतहटमा उपप्रमुखद्वारा नगरसभा बहिष्कार 

शिव पुरी

रौतहट — रौतहटको गरुडा नगरपालिकाका उपप्रमुखलगायत २६ जना जनप्रतिनिधिले आइतबार सुरु भएको छैटौं नगरसभा बहिष्कार गरेका छन् । नियमविपरीत नगरसभा गरिएको भन्दै उनीहरुले बहिष्कार गरेका हुन् ।   

रौतहटमा उपप्रमुखद्वारा नगरसभा बहिष्कार 

चालु आर्थिक वर्षको योजना तर्जुमाका लागि असार १० भित्र परिषद् सम्पन्न गरिसक्नु पर्ने थियो । तर गरुडामा प्रमुख ईन्नुराय यादव र उपप्रमुख रंगीलादेवी जैसवाल बीचको विवादले परिषद् हुन सकेको थिएन । परिषद् बस्न उपप्रमुख जैसवालले पटक-पटक ताकेता गरे पनि प्रमुख यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले आलटाल गर्दै आएका थिए । यहीबीच परिषद्‌को मिति तय गरियो । परिषद् हुँदैछ भनेर हुलाकबाट चिठी आएपछि मात्र थाहा पाएको उपप्रमुख जैसवालले बताइन् । ‘नगरपालिका र मेरो घरको दुरी नजिक छ । कोही कर्मचारी आयो भने पनि समय लाग्दैन । प्रमुखज्यूले हुलाकबाट चिठी पठाउने काम गर्नु भयो,’उनले भनिन्,‘कानुन मिचेर परिषद् गर्न लागेकोले मैले उपस्थिति हुन मनासिव ठानिनन् ।’ कार्यपालिका बैठक नबसी जबरजस्ती नगरसभा गर्न थालेपछि विवाद चुलिएको हो ।

निमित्त अधिकृत आलमको समेत उपस्थिति बेगर नगरसभा गर्न लागेपछि उपप्रमुख जैसावाललगायत वडा नम्बर ९, २, ३, ७ का अध्यक्षलगायत कार्यपालिका सदस्य गरी २६ जनाले परिषद् बहिष्कार गरेका छन् । उनीहरु परिषद्स्थलमै गएनन् । अघिल्लो वर्ष पनि गरुडामा नगर प्रमुखले एकलौटी ढंगले परिषद् गर्न लागेको भन्दै उपप्रमुख लगायतका जनप्रतिनिधिले बहिष्कार गरेका थिए । परिषद्‌मा सहभागी हुन हुलाकबाट उर्दी जारी गरेजस्तै पत्र पठाएपछि उपप्रमुखलगायतका जनप्रतिनिधि रुष्ट छन् । प्रक्रिया नै पूरा नगरी सभा गर्न लागेपछि झनै विवाद बढेको हो ।

परिषद्‌मा नगर प्रमुख यादवलगायत केही जनप्रतिनिधिहरुमात्रै थिए । निमित्त अधिकृत आलमसमेत छैनन् । उनी मोबाइलको स्वीचअफ गरेर सम्पर्कविहीन भइबसेका छन् । नगरपरिषद् अगाडि राजस्व परामर्श समिति बैठक बसेर छलफल गर्नुपर्छ । त्यसपछि कार्यक्रम तर्जुमा समितिले निर्णय गर्छ । आगामी आबको व्यय बजेट पारित गर्नुअगावै नगरपालिका बैठक बसी नीति तथा कार्यक्रम पारित गराउनुपर्छ । यही क्रममा वडामा कार्ययोजनाको सिलिङ पठाउनुपर्छ । वडाले योजना बनाएर परिषद्मा पेस गर्छ । यी प्रक्रियाहरु नभई परिषद् हुन लागेको भन्दै जनप्रतिनिधिहरुले बहिष्कार गरेका हुन् ।

निमित्त अधिकृत आलमले असोज १७ गते नगरसभा आह्वान गरिएकोमा विभिन्न समिति बैठकलगायत निर्णयहरु नभएको र तयारी पूरा नभएकाले परिषद् स्थगित गरेको असोज १५ गते सूचना निकालेका थिए । उनले सूचना जारी गरेको एक घण्टा पनि बित्न नपाउँदै प्रमुख यादवले सोही मितिमा नगरसभा स्थगित नभएको भनेर सूचना जारी गरे । स्थगितको पत्र कुनै आधिकारिता नभएको र नगरसभाको सम्पूर्ण अधिकार प्रमुखलाई नभएकाले तोकिएकै मितिमा परिषद् हुने जानकारी दिए । ‘सबै प्रक्रिया पूरा गरेर परिषद् गरिएको हो,’प्रमुख यादव भन्छन्,‘नियमको परिधिभित्र रहेर सभा गरेका हौं ।’ जनप्रतिनिधिहरुले सभा बहिष्कार गरे पनि प्रमुख यादवले सुचारु राखेका थिए ।

रौतहटको गरुडा नगरपालिकाका उपमेयर रंगीलादेवी जैसवाल नगर परिषद् बहिष्कार गर्दै । तस्बिर : शिव पुरी/कान्तिपुर





प्रकाशित : आश्विन १७, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?