कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१६ वर्षमा पनि बनेन छात्रावास

कान्तिपुर संवाददाता

रौतहट — भूमिगत संगठनको दबाब, मूल्यवृद्धि र मधेस आन्दोलनको बहाना बनाउदै बीचमै निर्माण छाडिएको रौतहटको गौरस्थित जुद्ध माविको छात्रावास भवन १६ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीले बिभिन्न बाहना बनाएर जिल्ला छाडेपछि भवन अधुरो र अलपत्र अवस्थामा छ ।

१६ वर्षमा पनि बनेन छात्रावास

भारतीय दूतावासको १ करोड ९८ लाख ८० हजार रुपैयाँ सहयोगमा निर्माणाधीन भवनको गोर्खा, स्काई र क्यानिजियो कन्स्ट्रक्सन जेभीले ठेक्का सकारेको थियो । भवनको सम्झौता २०६२ साल पुस १४ गते भई ०६४ असार १३ मा काम सक्ने भनिएको थियो । दूतावासले पटक–पटक ठेकेदारलाई निर्माण सुरु गर्न दबाब दिँदै आएको थियो । पछिल्लो समय ठेकेदार सम्पर्कमा नै आउन चाहेको छैन । दूतावासले भवन निर्माणका लागि ७० लाख रुपैयाँ पेस्की दिइसकेको छ ।

राणाकालमा स्थापना भएको उक्त विद्यालयमा विद्यार्थीको चाप बढेपछि छात्रावास बनाउन थालिएको हो । तर लामो समयसम्म छात्रावास नबन्दा शिक्षक, विद्यार्थी र अभिभावक निराश छन् । ५१ कोठाको ३ तल्ले भवन निर्माण गर्नुपर्ने सम्झौता थियो । ठेकेदारले क्यान्टिन भवन र कम्पाउन्ड वालसमेत निर्माण गर्नुपर्ने थियो । भवन बनेको भए झन्डै १ सयभन्दा बढी विद्यार्थीले बस्ने सुविधा पाउँथे । भवनको अहिलेसम्म ३५ प्रतिशतमात्र काम भएको छ । निर्माणस्थलमा ठेकेदारले राखेका रड कामै नलाग्ने भएका छन् । भवन बनाउन ल्याइएका इँटालगायत सामग्री बिग्रेका छन् ।

निर्माणको पूरा गर्न ताकेता गर्दा अटेर गरेपछि तत्कालीन जिल्ला विकास समितिले २०६९ साल फागुन ५ गते ठेकेदार बेपत्ता भएको भन्दै ठेक्का तोडेर उक्त कम्पनीलाई हर्जानासहित कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंमा सिफारिस गरेको थियो । अनुगमन कार्यालयले कालोसूचीमा राखेर पछि हटाएको जिविसलाई जानकारी गराएको थियो । पुनः ठेक्का प्रक्रियाबाट निर्माण गराउने तयारी भइरहेका बेला ठेकेदार र जिविसबीच सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा मुद्दा चल्यो । ठेकेदारले जिविसविरुद्ध तत्कालीन पुनरावेदन अदालत हेटौंडामा मुद्दा दायर गरेको थियो । त्यहाँबाट हारे पछि ठेकेदारमाथि सार्वजनिक खरिदमा मुद्दा चलेको हो । त्यसपछि अहिलेसम्म भवनको काम सुरु हुन सकेको छैन ।

पछिल्लो समय भवन निर्माण हुने वा नहुने भन्ने अन्योल छाएको विद्यालयका प्रधानाध्यापक चन्देश्वर राउतले बताए । ‘एउटा भवन निर्माणको काम १६ वर्षमा पनि सम्पन्न नहुनु दुःखद हो । बाहिरबाट आउने विद्यार्थी चर्को भाडा तिरेर बाहिर बस्न बाध्य छन्,’ उनले भने,‘आफ्नै भवन बन्न नसकेपछि सबैले दुःख भोग्नुपरेको छ ।’

जिविसको संरचना फेरिएपछि भवन निर्माणमा कुनै पक्षले चासो नदेखाएको विद्यालयका शिक्षकहरूको आरोप छ । भवन अहिले जीर्णजस्तै भएको छ । विद्यालय व्यवस्थापनले निर्माणको काम थाल्न वा नयां ठेक्का लगाउन सम्बन्धित निकायलाई गुहार्दै आएको छ ।

निर्माण कम्पनीका अध्यक्ष यज्ञध्वज कार्कीले मधेस आन्दोलन र तराईमा सशस्त्र सघर्षरत भूमिगत संगठनको चन्दा–आतंकले काम गर्न सक्ने वातावरण नभएको बताउँदै आएका छन् । पछिल्लो समय उनि पनि सम्पर्कविहीन भएको प्रअ राउतको भनाइ छ ।

प्रकाशित : आश्विन १०, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?