कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कात्तिकपछि फर्मासिस्ट नियुक्ति प्रक्रिया अघि बढाउँछौं : मन्त्री साह

अवधेशकुमार झा

राजविराज — प्रदेश नम्बर २ का सबै अस्पताल र स्थानीय तहहरुमा आगामी कात्तिक महिनाबाट फर्मासिस्टको नियुक्तिका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाउने भएको छ ।

कात्तिकपछि फर्मासिस्ट नियुक्ति प्रक्रिया अघि बढाउँछौं : मन्त्री साह

विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी संघ सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित कार्यक्रममा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी कात्तिकदेखि स्वास्थ्य संस्था र स्थानीय तहहरुमा फर्मासिस्ट नियुक्ति प्रक्रिया अघि बढाइने बताएका हुन् । ‘कात्तिकसम्ममा कुन अस्पताल र स्थानीय तहमा फर्मासिस्ट छैन त्यसको विवरण संकलन गरी नभएको स्थानमा नियुक्ति प्रक्रिया अघि बढाइने छ’, मन्त्री साहले भने ।

‘फर्मासिस्टको पढाइ गराउने, डिग्री दिने तर उचित सम्मान र व्यवस्थापन गर्न सकिएको छैन’, मन्त्री साहले भने, 'अब फर्मासिस्टहरुको दरबन्दी रहेका स्थानमा नियुक्ति प्रक्रिया अघि बढाउनुका साथै उचित सम्मानको वातावरणसमेत मिलाइनेछ ।’ तर फर्मासिस्टहरु पनि इमान्दार हुनपर्नेमा मन्त्री साहको जोड छ । ‘बिना चिकित्सकको पुर्जाको औषधि बिक्री वितरण गर्ने कार्य पनि राम्रो होइन त्यसलाई पनि रोक्नुपर्छ ।’

‘जहाँ औषधि कारोबार हुन्छ त्यहाँ फर्मासिस्ट अनिवार्य राखिनुपर्छ’, फार्मेसी संघ सप्तरीका सल्लाहकार तुलानाथ माझीले भने,‘स्थानीय तहमा करारमा कार्यालय सहायकदेखि चालकसम्म राख्न अनिवार्य ठान्छन् तर मानवजीवनसँग जोडिएको औषधिको उचित वितरण र व्यवस्थापनका लागि फर्मासिस्टको नियक्ति आवश्यक ठानिँदैन, यही बिडम्बना छ ।’

‘सरकारले फर्मासिस्टको पढाइमात्र होइन्,अध्ययन पूरा गरेकाहरुलाई रोजगारी पनि दिनुपर्छ’ नेपाल फार्मेसी संघ सप्तरीका अध्यक्ष सुजितकुमार झाले भने,‘एकातिर फर्मासिस्ट पढाइसकेकाहरु बेरोजगार छन् भने अर्कोतर्फ फर्मासिस्टको नियुक्ति हुनुपर्ने स्थानमा दरबन्दी पूर्ति गर्नेतर्फ ध्यान जान सकेको छैन।’ उनले सबै अस्पताल र स्थानीय तहहरुमा फर्मासिस्टहरु नियुक्ति हुनुपर्नेमा जोड दिए ।

प्रकाशित : आश्विन ९, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?