कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

ठोरीमा फस्टाउँदै केरा खेती

धान खेतमै केरा लगाउने तयारी, बजारको समस्या नभएकोले किसान ढुक्क
शंकर आचार्य

पर्सा — ठोरी गाउँपालिकाका किसान गत वर्षदेखि व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । यहाँका दुई किसानले मात्र हाल २१ बिघामा व्यावसायिक केरा खेती गरेका छन् । ४० वर्षीय किसान सूर्यबहादुर फिवाले ठोरी–५ सुवर्णपुरमा १७ बिघा जग्गा भाडामा लिई गत वर्षदेखि केरा खेती गरेका छन् ।

ठोरीमा फस्टाउँदै केरा खेती

चितवनमा डेढ दशकदेखि केरा खेती गर्दै आएका फिवाले आफ्नै गाउँमा भने गत वर्षदेखि केरा खेती थालेका हुन् । चितवनजस्तै हावापानी र माटो भएकाले आफूले यहाँ पनि सम्भव देखेर एकैसाथ ठूलो परिमाणमा केरा खेती गरेको उनले बताए ।

‘मलाई चितवनमा १५ वर्षदेखि केरा खेती गरेको अनुभव छ, यहाँ पनि चितवनकै जस्तै हावापानी र माटो भएकाले केरा खेती सम्भव छ जस्तो लाग्यो,’ उनले भने, ‘जग्गा भाडामा लिएर एकैसाथ १७ बिघामा खेती सुरु गरे र सफल पनि भयो ।’

जीतपुर, हेटौंडादेखि काठमाडौंसम्म केरा सहजै बिक्री भइरहेकाले आफूलाई बजारको समस्या नरहेको उनले बताए । पहिलो वर्ष केरा खेतीमा रोगव्याधि नलागे पनि यस वर्ष धेरै पानी परेर केही क्षति पुगेको उनको भनाइ छ । ठोरी–४ विजयबस्तीमा पनि गत वर्षदेखि बुद्धलक्ष्मी श्रेष्ठले ४ बिघामा व्यावसायिक केरा खेती सुरु गरेकी छन् । निजी जग्गामै खेती गरेकाले उनले सुरुमा १ लाख ५० हजार रुपैयाँ मात्र लगानी गर्नुपरेको बताइन् । १ वर्षयता लगानी उठाइसकेकी श्रेष्ठले उत्पादित केरा हेटौंडाका व्यापारीले खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको जानकारी दिइन् ।

१५ देखि २० दिनमा केरा काट्ने गरेको बताउँदै उनले यसरी काट्दा एक गाडी संकलन हुने बताइन् । एक पिकअप भ्यान केरा बिक्री हुँदा पनि ३२ देखि ४३ हजार रुपैयाँ कमाइ हुने गरेको छ । यसबाहेक स्थानीयस्तरमा ठोरी बजारका व्यापारीले पनि केरा खरिद गर्ने गरेको उनले बताइन् । फिवा र श्रेष्ठको अनुसरण गर्दै यस भेगका थुप्रै किसानले थोरबहुत केरा खेती सुरु गरेका छन् ।

कतिपयले माछा पोखरी डिलमा पनि ठूलो परिमाणमा केरा लगाएका छन् । थप केही किसानले धान फल्ने खेतमा पूर्णकालीन केरा खेती गर्ने तयारीमा रहेको स्थानीय रन्जित कार्कीले बताए । ‘धान खेतीभन्दा केरा खेतीबाटै लाभ हुने र यो नगदे बाली सावित हुने धेरै किसानको बुझाइ छ,’ उनले भने, ‘वीरगन्ज–ठोरी हुलाकी सडक निर्माणसँगै केरा खरिद गर्न आउने व्यापारीहरूलाई यहाँसम्म आउन सहज भएकाले किसानले उत्पादन गरेको केरालाई बजारको समस्या छैन, त्यस कारण पनि किसान निर्धक्क भएर केरा खेतीमा हात हाल्ने मनस्थिति बनाउँदै छन् ।’

प्रकाशित : आश्विन ८, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?