कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारिश्रमिक नपाएपछि वडामा ताला

भरत जर्घामगर

सिरहा — सिरहाको नरहा गाउँपालिकाको १ नम्बर वडा कार्यालयमा बुधबार श्रमिकले तालाबन्दी गरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गरेको कामको भुक्तानी नदिएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।

पारिश्रमिक नपाएपछि वडामा ताला

काम गरेको ५ महिना बितिसके पनि ४३ जना कामदारले पारिश्रमिक नपाएको जनाएका छन् । उनीहरूले गत वैशाख १२ गतेबाट ५० दिनसम्म काम गरेका थिए । पारिश्रमिक नपाएपछि तालाबन्दी गर्न बाध्य भएको कामदार सुनिल दासले बताए । पटकपटक रकम दिन माग गरे पनि वडा कार्यालयले बेवास्ता गरेको उनको भनाइ छ । श्रमिकहरूलाई असार १५ गतेसम्म भुक्तानी दिनुपर्ने थियो ।

‘हामी गरिब मान्छे, दैनिक ज्यालादारीमा काम गरेर खान्छौं, काम गरेको पैसा नै नपाएपछि हाम्रो गुजारा कसरी चल्छ ?’ श्रमिक गीतादेवी दासले भनिन्, ‘धनी मान्छेहरूको काम समयमै भइहाल्छ, तर हाम्रो ५ महिना भइसक्यो, अहिलेसम्म काम गरेको पैसा पाएको छैनौं ।’

वडा कार्यालयका अनुसार ४३ जना कामदारले १० लाख ७५ हजार रुपैयाँ भुक्तानी पाएका छैनन् । एक कामदार बराबर २५ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । वडाध्यक्ष अशोक साहले कर्मचारीको लापरबाहीले श्रमिकहरूले पैसा पाउन नसकेको बताए । उनले कर्मचारीकै लापरबाहीका कारण आर्थिक वर्षभित्रै चेक बन्न नसकेको बताए ।

‘वडाबाट आफूले गनुपर्ने सबै काम गरेर सम्बन्धित शाखा र लेखा शाखामा पठाएको हुँ,’ उनले भने, ‘तर लेखा र सम्बन्धित कर्मचारीको कारण निकासा हुन सकेको छैन ।’ वडाध्यक्ष साहले श्रमिकहरूले पाउनुपर्ने पारिश्रमिकका बारेमा आफूले पहल गरिरहेको बताए ।

प्रकाशित : आश्विन ७, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?