१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सप्तरीमा ६ महिनामा तीन सीडीओ फेरिए

राजविराज — सप्तरीमा ६ महिनामा तीन जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । जिल्लाको वस्तुस्थिति बुझ्नै नपाउँदै प्रजिअ फेरिँदा शान्ति सुरक्षाको अवस्था फितलो छ । प्रशासन र अन्य सरकारी निकायबीच समन्वयमा अन्योल देखिएको छ । प्रशासनका काम पनि प्रभावित भएका छन् ।

सप्तरीमा ६ महिनामा तीन सीडीओ फेरिए

सप्तरीमा ९ महिनाको कार्यकाल सकाएर २०७७ जेठ २० मा प्रजिअ सुनिल खनालको सरुवा भएको थियो । त्यसपछि आएका प्रजिअहरूको केही महिनाकै अवधिमा सरुवा भएको हो । खनालपछि २०७७ साल चैत १ गते प्रजिअमा फणिन्द्रमणि पोखरेल आए । उनको साढे ३ महिनामै सरुवा भयो । २०७८ असार १३ गते गृह मन्त्रालयमा सरुवा भएका पोखरेल अहिले मन्त्रालयका प्रवक्ता छन् ।

पोखरेलपछि २०७८ असार १४ मा नयाँ प्रजिअका रूपमा जयनारायण आचार्य आए । जिल्लाको अवस्था राम्ररी बुझ्न नपाउँदै उनको पनि गृह मन्त्रालयमै सरुवा भयो । आचार्य भदौ २१ गते सरुवा भएर गएका छन् । आचार्यपछि भदौ २३ देखि नयाँ प्रजिअ जनार्दन गौतम आएका छन् ।

निजामती सेवा ऐन र नियमावली विपरीत सप्तरीमा प्रजिअको सरुवा भइरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले बताए । ‘ऐन नियमावलीविपरीत अहिले सप्तरीमा प्रजिअको सरुवा भइरहेको छ,’ अध्यक्ष झाले भने, ‘आएका प्रजिअहरू काम थाल्छन् । कामले गति नलिँदै सरुवा हुन्छन् । यसले समग्र जिल्लाको सेवाप्रवाहदेखि शान्ति सुरक्षासम्ममा असर पर्छ ।’ उनले प्रजिअ टिक्न सके सरकारी सेवाप्रवाहलाई चुस्तदुरुस्त हुने बताए ।

प्रजिअहरूले नै राजनीतिक नेतृत्वसमक्ष लबिइङ गरेर सरुवाको माग गर्दा जिल्लामा प्रजिअहरू नटिकेको कर्मचारीहरू बताउँछन् । नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले प्रजिअ नटिक्दा सेवाग्राहीको काममा ढिलाइ भएको बताए । ‘प्रजिअको सरुवाको लहर हेर्दा सरकारले नै निजामती ऐन नियमको खिल्ली उडाएको देखिन्छ,’ उनले भने । लगातार प्रजिअको सरुवाले जिल्ला प्रसासन कार्यालयको कामकाज मात्र होइन, समग्र जिल्लाकै सुशासनमा समस्या सिर्जना भइरहेको यादवको भनाइ छ ।

प्रकाशित : आश्विन ४, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?