कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पालिकाले नै फाल्छ सडकमा फोहोर

दुर्गन्ध र दूषित धूवाँको मारमा स्थानीय, डम्पिङ साइट बनाउन छुट्याइएन बजेट
शिव पुरी

रौतहट — पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकबाट झन्डै १९ किलोमिटर दक्षिणतर्फ गरुडा नगरपालिका पर्छ । त्यहाँ जाने सडकखण्डमा नगरपालिका क्षेत्रबाट संकलन गरिएको फोहोर जताततै फ्याँकिएको छ ।

पालिकाले नै फाल्छ सडकमा फोहोर

नगरपालिकाले मुख्य सडकलाई नै डम्पिङ साइटजस्तै प्रयोग गरेको छ । फोहोरमैला व्यवस्थापनका नाममा दिनहुँ नगरक्षेत्रको फोहोर ल्याएर सडकमै फाल्ने गरेको छ । त्यही आगो लगाएर वातावरण दूषित पार्ने काम भइरहेको छ ।

सडकको आडैमा फोहोर फालेको भनेर जनप्रतिनिधि र स्थानीयले डम्पिङ साइट बनाउन माग गर्दै आएका छन् । तर नगरपालिकाले नै बेवास्ता गरेको स्थानीयको भनाइ छ । नगरपालिकाकी उपप्रमुख रंगीलादेवी यादवले सडकमै फोहोर फाल्दा स्वास्थ्यमा समस्या आउनुका साथै जनप्रतिनिधिकै बदनामी भएको बताइन् । ‘मैले कैयौं पटक फोहोर व्यवस्थापनमा ध्यान दिउँ । सडकमै फालेर आगो लगाउनु हुन्न भनेको हुँ,’ उनले भनिन्, ‘मेयरसाबले चासो लिनु हुन्न ।’

चन्द्रपुर अस्पतालका डा. सुभाष चौधरीले दूषित र फोहोर वस्तुमा लगाइएको आगोको धूवाँले झनै असर गर्ने बताए । ‘दूषित धूवाँको असरले छातीमा समस्या आउँछ । यस्ताबेला मुख र नाक छोप्ने गर्नुपर्छ । धूवाँबाट जोगिनु नै उचित हुन्छ,’ उनले भने । सडक नै दुर्गन्धित हुने गरी फोहोर फाल्ने कामको विरोध जनाउँदै आएको गरुडाका वडाध्यक्ष चुनचुन साहले बताए । ‘चाँडोभन्दा चाँडो बजार क्षेत्रभन्दा बाहिर डम्पिङ निर्माण गरी फोहोर व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘२४ सै घण्टा व्यस्त सडकछेउमै फोहोर फालेर आगो लगाउने गर्दा आलोचना भइरहेको छ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले परिषद् हुन नसकेकाले डम्पिङ साइटका लागि बजेट विनियोजन हुन नसकेको बताए । ‘हामी फोहोरलाई चाँडै व्यवस्थापन गर्छौं । सडकमै फाल्ने काम राम्रो होइन,’ उनले भने, ‘बजेट अभावले नै डम्पिङ साइट बनाउन नसकेका हौं । यस पटक जसरी पनि बनाउँछौं ।’ असार १० गतेभित्र परिषद् गर्नुपर्नेमा जनप्रतिनिधिबीच विवादका कारण गरुडामा अहिलेसम्म भएको छैन ।

रौतहटका गरुडा, देवाही, फतुवाविजयपुर, यमुनामाई, गुजरालगायत अधिकांश नगरपालिकाले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट बनाएका छैनन् । चन्द्रपुरले डम्पिङ साइट बनाएको भनिए पनि पश्चिमको जंगलमा फोहोर फाल्न छाडेको छैन । जंगललाई डम्पिङ साइटका रूपमा प्रयोग गर्दा वन्यजन्तुलाई असर परेको भन्दै डिभिजन वन कार्यालयले आपत्ति जनाउँदै आएको छ । नगरपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक काजीमान माझीले दुई वर्षअघि चन्द्रपुर १ स्थित पौराई जंगलमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले डम्पिङ साइट निर्माण गरिसकेको बताए । नगरपालिकाले १२ लाखभन्दा बढी खर्च गरेर चन्द्रपुर ४ स्थित हातेमालो सामुदायिक वन क्षेत्रमा रहेको पोखरीमा फलामे पोलमार्फत चारैतिरबाट तारजालीले घेरेर पक्की पर्खालसहित संरचना निर्माण गरेको थियो । तर डम्पिङ साइटको तारबार नै गायब भएपछि उक्त स्थान पोखरीमा परिणत भएको छ ।

प्रकाशित : आश्विन ३, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?