कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१२

बढ्यो काठ तस्करी

प्रहरी, प्रशासन र वन कर्मचारीको पहुँच कम भएका स्थानमा तस्करले साल, खयर, साज काट्न थाले

सर्लाही — सर्लाहीको उत्तरी क्षेत्रका वन–जंगलमा पछिल्लो समय काठ चोरी तस्करी बढेको छ । जंगलमा अहिले दिनदहाडै तस्करहरूले रूख कटान गरी राति तस्करी गर्दै आएका छन् । तस्कर सक्रिय भए पनि सम्बन्धित निकायले भने नियन्त्रण गर्न सकेको छैन । 

तस्करहरूले काँचो साल, खयर, साज कर्मालगायत जातका रूख कटान गर्न थालेका हुन् । स्थानीय प्रहरी, प्रशासन र वनका कर्मचारी पहुँच कम भएको स्थानको फाइदा उठाउँदै तस्करहरूले रूख कटान गरिरहेका हुन्छन् । तस्करहरूले पहिला बोक्रा काटेर रूखलाई सुकाउने र सुकेपछि कटान गरी त्यसका कडी, पटहा, फलीलगायत चिरान गरेर तस्करी गरिरहेको स्थानीयले बताए ।

विहिबार मात्र वनको टोलीले हरिवन नगरपालिका–६ सुकुम्वासी टोलका विभिन्न घरहरूमा लुकाएर राखिएको सालका अवैध काठ बरामद गरेको छ । सुकुम्वासी टोलका घरहरू खानतलासी गर्दा सालको ११ थान गोलिया, ४९ थान चिरान फली र एक थान चौकस फेल परेको डिभिजन वन प्रमुख माधवप्रसाद देवले जानकारी दिए । उनले पक्राउ परेको काठका बारे थप अनुसन्धान भइरहेको बताए ।

तस्करहरूले चिरान गरेका काठहरू राति/राति एक ठाउँबाट अर्को ठाउँमा बिक्रीका लागि लाने गरेका छन् । अबेर राति काठ लोड गरिएको ट्र्याक्टर हिँड्नुले मिलेमतोमा कारोबार भइरहेको स्थानीयको दाबी छ । एक दुई दिन बिराएर राति/राति काठ लोड गरिएको ट्र्याक्टर दक्षिणतर्फ जाने गरेको स्थानीयले जनाए । दुई दिनअघि मात्र राति २ बजे बबरगन्ज किसनपुर हुँदै दुई ट्र्याक्टर लोड गरिएको काठ सदरमुकामतर्फ गएको स्थानीय राजकुमार यादवले बताए ।

‘अहिले वनमा तस्करहरूको रजगज छ, उनीहरूले साताको दुई–तीन दिन तस्करी गरिरहेका छन्,’ उनले भने, ‘काठ तस्करीमा सम्बन्धित निकाय मौन छ, प्रहरीले पनि समातेको देखिएको छैन ।’ तस्करले नयाँ कटान गरिएको काठ पुरानो बनाउन माटो, बालुवा, स्याउलाले छोपेर राख्ने र पछि पुरानो देखिएपछि बेच्ने गरेका छन् । उनीहरूले सालको एउटा कडी चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् ।

काठ तस्कारीमा गिरोह नै सक्रिय भएको स्थानीयले जनाए । एक दशकअघि चुरेमा करोडौंको सालका गोलिया बरामद भएको थियो । अवैध रूपमा सालका गोलिया कटान भएको भन्दै वन मन्त्रालयले तत्कालीन जिल्ला वनका प्रमुखसहित सात जना निलम्बन गरेको थियो । यस क्षेत्रमा त्यसबेलादेखि रोकिएको काठ तस्करी पुनः मौलाउन थालेको छ । सम्बन्धित निकायले प्रभावकारी ढंगले अनुगमन गर्न नसक्दा मिलेमतोमा तस्करी मौलाउने गरेको स्थानीयको आरोप छ ।

काठ कटान र तस्करीको सूचना वन कार्यालयमा आएको र त्यहीअनुसार गस्ती पनि खटाइएको डिभिजन वन प्रमुख देवले बताए । उनले सूचनाकै आधारमा बिहीबार घरमा राखिएको अवैध काठ बरामद गरिएको जानकारी दिए । वन प्रमुख देवले काठ तस्करी कार्यालयको एक्लो प्रयासले मात्र रोक्न सम्भव नरहेको जिकिर गरे । ‘कम जनशक्तिका कारण हरेक क्षेत्रमा गस्ती गर्न सकिएको छैन, चुरे आसपासका क्षेत्रमा झन गाह्रो भएको छ,’ उनले भने, ‘वन फँडानी र काठको तस्करी रोक्न हरेक पक्ष यसमा हातेमालो गरिदिन आग्रह गर्दछु ।’

प्रकाशित : आश्विन ३, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×