१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कारागारमा क्षमताभन्दा बढी कैदी

ठाउँ अभाव हुँदा कैदीबन्दीलाई सुत्नै सकस
शिव पुरी

रौतहट — रौतहटको सदरमुकाम गौरस्थित कारागारमा ठाउँ अभावले कैदीबन्दीलाई सुत्नै सकस भएको छ । ८९ वर्ष पुरानो कारागारको जीर्ण भवनमा क्षमताभन्दा झण्डै दोब्बर कैदी खादिएपछि उनीहरूलाई सुत्ने ठाउँ नै नपुगेको हो ।

कारागारमा क्षमताभन्दा बढी कैदी

कारागारको दुई वटा मूल भवन ८७ वर्ष पुराना हुन् । विसं १९८९ मा कारागार स्थापना भएको हो । कारागारको क्षमता १ सय २० जनाको हो । तर अहिले विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ३ सय ७४ जना छन् ।

केही समय अघिसम्म उनीहरू भर्‍याङ र भान्सा घरमा सुत्थे । अहिले नयाँ भवनमा सारिएको छ । तर त्यतिले पनि समस्या समाधान नहुने सहायक प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताए । ‘केही समय पानीमै सुत्न बाध्य भए । भर्‍याङमुनि र भान्सा घरमा बिजोग संगले सुते,’ उनले भने, ‘दुई वटा पुराना जीर्ण भवनहरू छन् तिनमा कैदी सुत्नै डराउँछन् । कतिखेर ढल्छ भनेर सुत्नै मान्दैनन् ।’ आठ दशक अघि निर्माण भएको कारागार समयानुकूल मर्मत–सम्भार हुन सकेको छैन । बजेट अभावले मर्मत गर्न नसकिएको कारागार प्रशासनको भनाइ छ ।

कम क्षमता भएको कारागारमा अहिले लागूऔषध, सवारी ज्यान, कर्तव्य ज्यान, चेलीबेटी बेचबिखन, मानव ओसारपसार, अपहरण तथा शरीर बन्धक, जर्बजस्ती करणी लगायत मुद्दामा जेल सजाय भुक्तान गरिरहेका छन् । असारको अन्तिममा आएको बाढीका कारण गौर कारागारभित्र र बाहिर कम्पाउन्डमा पानी जमेको थियो ।

त्यतिबेला कैदीबन्दीलाई कारागारको छत तथा महिला बन्दीकक्षमा समेत राखेर जोगाएको जेलर शम्भु यादवले बताए । ‘सबैभन्दा पहिले क्षमताभन्दा बढी कैदी छन् । त्यसमाथि पुरानो भवन जीर्ण छ । कैदीहरू सुत्न डराउन थाले,’ उनले भने, ‘नयाँ बनेको भवनमा केहीलाई राख्यौं । अझै पनि अपुग छ । जीर्णमा बसेकाहरू सबैलाई नयाँ भवनको आवस्श्यक छ ।’

यादवका अनुसार कारागारको गतिलो कार्यकक्ष छैन । वर्षमा एक लाख रुपैयाँ बजेट आउने गरेको उनले बताए । यतिले कारागारको सरसफाइ, कार्यालय सञ्चालन र औषधि उपचारमा पुग्दैन । उनले बजेट थप्न माग गरे । ‘कति गुनासो गर्नु,’ उनले भने, ‘दुई दशकदेखि एउटै समस्या छ । कहिले भवन बनाइदेऊ, कहिले बजेट पुगेन भन्दै आएका छौं ।’

जीर्ण अवस्थाको भवन भूकम्पका कारण चर्किएर भित्र बस्नै खतरा रहेको कारागारका नाइके बिकि सिंहले सुनाए । उनले जेल प्रशासनसित भवन थप्नेबारे पटकपटक कुरा राखेको गुनासो गरे । स्थानीय प्रशासनले भूकम्प गएपछि पटक/पटक कारागारको अनुगमन गरी कारागार व्यवस्था विभाग र गृहमन्त्रालयमा पत्र पठाएको थियो । तर माथिबाट खासै पहल नभएको प्रशासनको भनाइ छ । जेलर यादवका अनुसार, कारागारको सुरक्षार्थ राखिएका प्रहरी र कर्मचारी भवन, कार्यालय समेत जीर्ण अवस्थामा छन् ।

प्रकाशित : भाद्र २९, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?