प्रहरी अनुसन्धान ‘लाभ’ केन्द्रित- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी अनुसन्धान ‘लाभ’ केन्द्रित

अवैध सामग्री र तस्कर पक्राउ गरेपछि घटना ‘लेनदेन’ मै मिलाउन खोजिँदा अपराध गर्नेलाई प्रोत्साहन
आर्थिक लाभ हुन सक्ने कार्यमा प्रहरीको ध्यान जाने प्रवृत्ति संस्थागत हुँदै गएको छ । – शम्भु चौरसिया, अपराधशास्त्री 
लक्ष्मी साह

बारा — प्रदेश २ को ८ वटै जिल्लामा हुँदै आएको जघन्य अपराधको शृंखला घटेको छैन तर आर्थिक लाभ हुने क्षेत्रतिर भने प्रहरीको ध्यान केन्द्रित भएको देखिन्छ । प्रदेश प्रहरी कार्यालयको दुईवर्षे तथ्यांक हेर्दा प्रहरीको जनशक्ति परिचालन अवैध रुपमा भित्राइएका सुनचाँदी, कपडा, खाद्यान्न, सवारी साधन, हार्डवेयर तथा कृषिजन्य सामग्री पक्राउतिर बढी गएको स्पष्ट हुन्छ ।

जुन सकारात्मक भए पनि त्यस्ता सामग्री र तस्कर पक्राउ गरेपछि घटना ‘लेनदेन’ मै मिलाउन खोजिँदा अपराधको शृंखला बढेको जानकारहरू बताउँछन् ।

आर्थिक लाभ हुन सक्ने कार्यमा प्रहरीको ध्यान जाने प्रवृत्ति संस्थागत हुँदै गएको वीरगन्ज हरिखेतान क्याम्पसका प्राध्यापक अपराधशास्त्री शम्भु चौरसियाको दाबी छ । ‘प्रहरी निष्क्रियताले अपराध गर्नेको मनोविज्ञानलाई भेट्न सकेको छैन । प्रहरीको ध्यान भनेको सुविधासम्पन्न र विलासी जीवन बिताउन पैसा तान्नेतिर बढी छ । त्यसैले अपराध बढेको छ,’ उनले भने, ‘प्रहरी अंकुशविहीन बनेको छ । मानवीय अपराध गर्नेलाई नसमाउने र आर्थिक आम्दानीतिर लाग्ने भएपछि अपराधमा कमी आउँदैन ।’

‘इजी मनी मेकिङ’ मनोविज्ञान हटाएपछि मात्र अपराध घट्ने उनको भनाइ छ । ‘साधुलाई सुली र चोरलाई चौतारा दिने समाजको प्रवृत्ति बन्दै गएकोमा त्यसलाई घटाउनेतर्फ लाग्यो भने अपराध घट्छ,’ उनले भने । ठाकुरराम क्याम्पस वीरगन्जका समाजशास्त्री वीरेन्द्रप्रसाद साहले पनि केही वर्षतया प्रहरीको अनुसन्धान गर्ने सीप र शैलीमा प्रश्नचिह्न लागेको औंल्याए । जसले समाजमा अपराधको शृंखला बढाउन मलजल गरेको उनको बुझाइ छ । ‘समाजमा आर्थिक चलखेल गर्ने व्यक्ति र समूहसित प्रहरीको प्रत्यक्ष/अप्रत्यक्ष सम्पर्क भएकोले उनीहरूको आर्थिक लाभमा ध्यान गएको हो,’ उनले भने, ‘राज्यबाट पाइने आर्थिक सुविधामा कमी भएकाले पनि दलाल र बिचौलियासितको सम्बन्ध बढेको मान्न सकिन्छ । प्रहरीको ध्यान अपराध घटाउनेतर्फ कम छ ।’

अदालतबाट दोषी ठहर भई जरिवाना लागेका व्यक्तिहरू पक्राउ गर्दा प्रहरीले प्रोत्साहनस्वरूप रकम पाउँदै आएको छ । यसैगरी, चोरी तस्करीको मालसामान पक्राउ गरी भन्सार वा राजस्व कार्यालयमा दाखिला गरेबापत मालसामानको लिलामी हुँदा त्यसबाट २५ प्रतिशत सुराकी भत्ता पाउने गरेका छन् । त्यसैले, अपराध घटाउनेभन्दा आर्थिक लाभतिर प्रहरीको ध्यान गएको पूर्वप्रहरी अधिकारीहरू नै स्विकार्छन् ।

कोरोना महामारीयताको लकडाउन र निषेधाज्ञाका कारण बिदेसिएका र सहर केन्द्रित युवाहरू गाउँ फर्केकाले अपराधको सूची बढेको तर्क गर्छन् प्रदेश प्रहरी प्रमुख डीआईजी उमेश रंजितकार । ‘यद्यपि अन्य नयाँ कानुन निर्माणसँगै नयाँ अपराधजस्तै बैंकिङ कसुर, आत्महत्या दुरुत्साहनका घटना बढी भएकाले अपराधको सूची बढेको देखिन्छ,’ उनले भने, ‘आर्थिक लाभतिर केन्द्रित भएको होइन, चोरी तस्करी पैठारी नियन्त्रण गर्ने कार्य जिम्मेवारीभित्रै पर्छ । काम गर्दै जाँदा कार्यको शीर्षक कम वा बढी हुन सक्छ ।’

यस्तो छ आँकडा

पछिल्ला दुई आर्थिक वर्षमा समग्रमा अपराधको संख्या ४.४७ प्रतिशतले बढेको प्रहरी तथ्यांकले देखाउँछ । यस अवधिमा आर्थिक लाभ हुने कार्यको ग्राफ पनि बढेको देखिन्छ । अघिल्लो आव ०७६/७७ मा हत्या ९३, संगठित अपराध १ हजार ३ सय ३९, सामाजिक अपराध २ हजार १ सय ६०, महिला तथा बालबालिकासम्बन्धी अपराध ४ सय ७७, ज्यान मार्ने उद्योग २ सय १९, सवारी दुर्घटना ४ सय ६७, फुटकर ज्यान र ज्यानसम्बन्धी अन्य अपराध १ सय २ र आत्महत्याका ८ सय १७ गरी जम्मा ६ हजार ८ सय ९३ घटना दर्ता भएका छन् ।

गत आव ०७७/७८ मा हत्या ९३, संगठित अपराध १ हजार ४ सय ४३, सामाजिक अपराध १ हजार ८ सय ३२, महिला तथा बालबालिकासम्बन्धी अपराध ६ सय १७, ज्यान मार्ने उद्योग ३ सय १०, सवारी दुर्घटना ५ सय ३३, फुटकर ज्यान र ज्यानसम्बन्धी अन्य अपराध १ सय २८, आत्महत्या ९ सय ५९ गरी ७ हजार २ सय १ वटा अपराध भएका छन् । गम्भीर अपराधको विवरणबाहेक राजस्व छलेर कार्य गर्नेविरुद्ध प्रहरीले कारबाही गर्दा उल्लेख्य सफलता पाएको देखिन्छ ।

प्रदेशभर अघिल्लो आवभन्दा गत आवमा ७९ प्रतिशतले बढी मालसामान बरामद गरी भन्सार र राजस्व कार्यालयमा दाखिला गर्न प्रहरी सफल भएको छ । गत वर्षमा ३२ करोड ७९ लाख ३५ हजार ३ सय ८५ रुपैयाँ बराबरको जफत मालसामान राजस्वमा दाखिला भएको प्रहरी तथ्यांक छ । यो आँकडा अघिल्लो वर्षमा २६ करोड ३ लाख १६ हजार ५ सय ४१ रुपैयाँ मात्रै थियो । पछिल्ला दुई आवमा अवैध आयातनिर्यातमा संलग्न ८ सय ४१ जना पक्राउ पर्दा ९० करोड १ सय १५ लाख ५१ हजार ४ सय ६२ रुपैयाँ बराबरको मालसामान बरामद भएको छ ।

यसैगरी, उक्त अवधिमा अदालतबाट जरिवाना तोकिएका २४ सय ४ जना पक्राउ परेका छन् । जरिवाना असुल गर्दै कैद सजाय भुक्तानका लागि ४ सय २७ जनालाई कारागार चलान गरिएको प्रदेश प्रहरीको तथ्यांक छ । प्रहरीले यो कार्यलाई १ सय १२ प्रतिशतले बढेको भनेको छ । १ हजार ५ सय ३० अभियुक्त घटना लगत्तै पक्राउ परेका छन् । यो आँकडा ५ प्रतिशत घटेको जनाएको छ ।

पछिल्ला २ आवमा सुनचाँदी भने उल्लेख्य मात्रामा बरामद गरिएको पाइएको छ । विवरणअनुसार सुन साढे २३ केजी र चाँदी १ सय ५३ केजी बरामद भएको छ । २२ जना पक्राउ परेका छन् । १ सय ४४ जना हुन्डी कारोबारीलाई पक्राउ गरी उनीहरूबाट ७ करोड १ लाख ८४ हजार ८ सय ५ रुपैयाँ बरामद गरी सम्पत्ति शुद्धीकरण आयोग, भन्सार तथा राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । यो कार्यमा संलग्न व्यक्ति भने कम पक्राउ परेका छन् ।

अघिल्लो आवमा यो कार्य २६ प्रतिशत र गत आवमा २० प्रतिशतले घटेको देखिन्छ । रकम बरामद भने २१ प्रतिशतले बढेको प्रहरीको भनाइ छ । यसले पनि प्रहरीको ध्यान कता केन्द्रित भएको छ भन्ने स्पष्ट हुने बताउँछन् अपराधशास्त्री चौरसिया ।

प्रकाशित : भाद्र २१, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्

६ ठाउँमा भासियो हुलाकी सडक

शंकर आचार्य

पर्सा — हस्तान्तरण गरिएको ५ महिना नबित्दै हुलाकी सडकअन्तर्गत सुवर्णपुर–ठोरी खण्ड ठाउँ–ठाउँमा भासिएको छ । वर्षायामअघि नै धाँजा फाट्ने क्रम सुरु भएकोमा हालसम्म ६ स्थानमा सडक भासिएको छ ।

ठोरी–२ मा दुई स्थानमा कल्भर्टनजिक सडक भासिएको छ । कल्भर्ट निर्माणका क्रममा गरिएको लापरबाहीले यस्तो भएको स्थानीयको आरोप छ । ठोरी–३ रामनगरमा नाला नम्बर ३ मा पुलनजिक करिब ५ मिटर सडक भासिएको छ । यही वडाको ओडार खोला पुलको दुवैतर्फ १०/१० मिटर र रामनगरमा करिब २० मिटर सडक भासिएको छ । ठोरी–४ विजयबस्तीनजिक ओरिया खोलामा तटबन्ध भत्किएर करिब १५ मिटर सडक बगेको छ । अन्य स्थानमा पनि स–साना खाल्डा बन्ने तथा सडकछेउका पिलर लड्ने क्रम जारी छ ।

रामनगरका रामदास खड्काले गुणस्तरहीन काम गरिएकैले हस्तान्तरण गरिएको ५ महिनामै सडक भासिन थालेको आरोप लगाए । ‘यो ठेकेदारको बदमासी र नियमनकारी निकायको गैरजिम्मेवारीपनको कारण भएको हो,’ उनले भने, ‘यो सडक पूरा सञ्चालनमा आएसँगै समग्र ठोरी क्षेत्रकै विकासको ढोका खुल्ने हाम्रो विश्वास छ । तर बनेको सडक पनि भासिँदा हाम्रो सपना र विश्वासमाथि तुषारापात भएको छ ।’

यसअघि निर्माण पूरा नगर्दै सडक हस्तान्तरण गरेर ठेकेदार कम्पनी पछि हटेपछि ठोरीवासी संघर्ष समिति गठन गरेरै विरोधमा उत्रिएका थिए । हाल वर्षाका कारण उनीहरूले संघर्षका कार्यक्रम रोकेको बताएका छन् । ‘ठोरीवासीले लामो प्रतीक्षापछि यो सडक पाएका हुन्,’ स्थानीय शिक्षक माधव तिमल्सेनाले भने, ‘त्यसकारण पनि यो सडकसँग आफू र आफ्ना सन्ततिको भविष्य जोडिएको ठोरीवासी अनुभूत गर्छन् ।’

ठेकेदार कम्पनी बानियाँ–कालीका जेभीले चैत दोस्रो साता यो सडक खण्ड निर्माण सम्पन्न भएको भन्दै हुलाकी सडक आयोजना कार्यालयलाई हस्तान्तरण गरेको थियो । पर्सामा हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत सुवर्णपुरको चमरीदेखि ठोरीसम्म ३० किमि सडक खण्डका विभिन्न स्थानमा गरी करिब ५ किमि सडक निर्माण हुनै बाँकी छ । १ अर्ब १७ करोड रुपैयाँमा सक्ने गरी यो खण्ड निर्माणको ठेक्का सम्झौता २०७४ कात्तिक १३ मा भएको थियो । २०७७ जेठ २ सम्म काम सम्पन्न गरिसक्नुपर्थ्यो । तर लकडाउन तथा अन्य कारणले काम गर्ने वातावरण नभएको भन्दै म्याद थपिएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जनगुनासो आएपछि आफूले हुलाकी सडकबारे चासो लिएको र त्यस क्रममा आयोजना प्रमुख, ठेकेदार कम्पनीका जिम्मेवार व्यक्ति र जनप्रतिनिधिसमेतको सहमतिमा वर्षालगत्तै जीर्ण भएका स्थानमा सडक मर्मत गर्ने सहमति भएको बताए । ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले ठेक्का सम्झौताअनुसार २ वर्षको मर्मत अवधि बाँकी नै रहेकाले हाल भासिएका स्थानमा वर्षालगत्तै मर्मत कार्य सुरु गर्ने बताए ।

प्रकाशित : भाद्र २१, २०७८ १३:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×