कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बिरामीको मृत्यु बाटोमै

रौतहट — उच्च रक्तचापले बेहोस भएका चन्द्रपुर नगरपालिका–३ गैंडाटारका ४० वर्षीय हर्कबहादुर वाइबालाई अस्पताल लैजाने क्रममा शुक्रबार चाँदी नदीको बाढीका कारण समयमा अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भयो । उनलाई अस्पताल लैजान एम्बुलेन्स बोलाएको थियो । तर, बाढीले एम्बुलेन्स जान सकेन । वाइबालाई बोकेरै नदी तारेर अस्पताल लैजाँदा ढिला भएको थियो । ढिला भएकाले उनको मृत्यु भयो । 

नदीमा सहज होस् भनेर त्यहाँ पुल बन्न लागेको थियो । तर, समयमा निर्माण सम्पन्न नहुँदा बिरामीले ज्यान गुमाउनुपरेको छ । लगातारको वर्षापछि चाँदी नदीमा बाढी आएको छ । मानिसहरू पैदलसमेत वारपार गर्न सकेका थिएनन् । यस्तोमा एम्बुलेन्स आउन सक्ने अवस्था नरहेको र समयमा अस्पताल पुर्‍याउन नसकेकाले वाइबाको मृत्यु भएको गैंडाटारका स्थानीय उपेन्द्र गोलेले बताए ।

‘बाढीकै कारण उनको ज्यान गयो । समयमा अस्पताल पुर्‍याउन पाएको भए ज्यान जोगिन्थ्यो,’ उनले भने, ‘चाँदीमा निर्माणाधीन पुल चाँडो बनाउन ठेकेदारलाई दबाब दिँदै आएका हौं । तर बेवास्ता गरेको छ । पुल बनाएको भए यसरी मानिसको ज्यान जाँदैनथ्यो होला ।’ बिरामीको घरसम्म एम्बुलेन्स आउन नसकेपछि स्थानीय र आफन्तले उनलाई पिठ्युँमा बोक्दै नदी तारेर अस्पताल लगेका थिए । अस्पताल पुर्‍याउन ढिला भएपछि उनको मृत्यु भएको हो ।

वर्षाका बेला गैंडाटारका स्थानीयलाई चन्द्रपुर आउजाउ गर्न चाँदी नदीमा २०७४ मै ठेकेदारले पुल निर्माणको काम सुरु गरेका थिए । गत वर्ष असारमा बाढीमै तर्न लाग्दा एक युवक बग्नबाट जोगिए । त्यसको लगत्तै एउटा मोटरसाइकल दुर्घटना हुनबाट जोगिएको थियो । समयमा पुल बनाएको भए यस्ता दुर्घटना नहुने वडाध्यक्ष रवि देवकोटाले बताए । ‘बिरामीलाई समयमा अस्पताल पुर्‍याउन सकिँदैन । यही कारण हामीलाई समयमा पुल बनाइदिनुस् भनेका हौं,’ उनले भने, ‘ठेकेदारले आलटाल गर्दै आएको छ । वर्षामा नदी तर्न स्थानीयले सास्ती भोग्नुपरेको छ ।’ चुरे क्षेत्रमा सामान्य पानी परेको बेला पनि चाँदीमा बाढी आउँछ । त्यसपछि आवतजावत नै ठप्प हुने गरेको वडाध्यक्ष देवकोटाले सुनाए । उनले ठेकेदारलाई दबाब दिन आन्दोलनको तयारी थालेको जानकारी दिए ।

पप्पु र शिवशंकर निर्माण सेवाले २०७४ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७६ असार ३१ गते सक्नुपर्नेमा अहिलेसम्म ५० प्रतिशतमात्र काम भएको छ । जेभीले २५ करोड ३६ लाखमा २४ हजारमा सकार गरेको हो । स्थानीयले आन्दोलनको तयारी र ज्ञापनपत्र बुझाएपछि पुल चाँडै बनाउन सडक डिभिजन कार्यालय प्रमुख नरेशप्रसाद केशरी, इन्जिनियर यादव सुवेदी, ठेकेदार दयारामप्रसाद साहसँग गैंडाटारका स्थानीयले छलफल गरेका थिए ।

चाँडै निर्माण सामग्रीहरू निर्माणस्थलमा उपलब्ध गराउने र कात्तिक ३० गतेभित्र २ स्पान ढलान सकेर बाँकी ४ स्पानलाई सामग्रीहरू व्यवस्था गर्ने सहमति भएको छ । सहमतिअनुसार काम नगरे मंसिर १ गतेबाट ठेकेदारले ठेक्का रद्द गर्न निवेदन दिने संघर्ष समितिका सदस्य राजु धामीले बताए ।

यसअघि स्थानीयले पुल निर्माणको काम सक्न सडक डिभिजनमा ज्ञापनपत्र बुझाएका थिए । गैंडाटारका स्थानीयलाई चाँदी नदी छलेर चन्द्रनिगाहपुर आउन कठिन हुन थालेपछि त्यहाँ पुल निर्माणको ठेक्का लागेको हो । ठेकेदारले पुल बनाउन छाडेपछि त्यस भेगका स्थानीयले पुल निर्माण दबाब संघर्ष समिति गठन गरेका हुन् ।

सम्झौताअनुसार निर्माण काम नसकिएपछि पहिलो पटक साधारण खरिद नियमावली (नवौं संशोधन) अनुसार डेढ वर्षका लागि म्याद थपिएको थियो । थपिएको म्यादअनुसार २०७७ पुष १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदारले कोरोना, लकडाउनलगायत विभिन्न बहाना गर्दै काम सकेनन् । दोस्रो पटक नेपाल सरकारको २०७७ माघ ११ को निर्णयअनुसार कोभिड–१९ को कारण देखाई ६ महिना म्याद थप गरिएको छ । ठेकेदारले २०७८ असार १३ गतेसम्म निमार्ण सक्नुपर्ने थियो । तर सम्पन्न हुन नसकेको सडक डिभिजनले जनायो ।

पुलको काम अझै ४० प्रतिशत बाँकी छ । सडक डिभिजन प्रमुख केशरीले चाँदी नदीको पुल जति सक्दो चाँडो सम्पन्न गर्ने विषयमा निर्माण कम्पनीलाई राखेर छलफल चलाइएको बताए । ‘अब ढिला नगरी काम चाँडै सक्न भनेका छौं,’ उनले भने, ‘बाढीका बेला स्थानीयलाई धेरै समस्या भयो ।’ ठेकेदार साहले बजेट, वर्षा, निर्माण सामग्रीको अभाव तथा विभिन्न कारणको बहाना बनाउँदै आएका छन् । ‘प्राविधिक कारणले ढिला हुन गएको हो,’ उनले भने, ‘काम गर्दै छु । अब चाँडै सक्छु ।’

ठेकेदारले सम्झौता गरेर समयमा निर्माणको काम सम्पन्न नगरे पछि जिल्लाभित्रका झन्डै एक दर्जन पुलको भविष्य अन्योल बनेको सडक डिभिजनले जनायो । कामै नगरी छाडेको थुप्रै पुलहरू अलपत्र छन् ।

प्रकाशित : भाद्र २०, २०७८ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?