कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सामा इनर्वा बाहेक अन्य नाकाबाट सीमा वारपारमा रोक

शंकर आचार्य

पर्सा — जिल्ला प्रशासन कार्यालयले वीरगन्जस्थित इनर्वा नाका बाहेक अन्य नाकाबाट सीमा वारपार गर्नमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बिहीबार सार्वजनिक सूचनामार्फत यस्तो आदेश जारी गरेका हुन् ।

पर्सामा इनर्वा बाहेक अन्य नाकाबाट सीमा वारपारमा रोक

सूचनामा भनिएको छ, ‘जिल्लाको वीरगन्ज (इनर्वा) सीमा नाकाबाट विदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको र नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम क्वारेन्टाइनमा अनिवार्य रुपले बस्नुपर्ने छ ।’ इनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा रोक लगाइएको समेत सूचना स्पष्ट उल्लेख छ ।

सूचनामा स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ को पालनामा गम्भीर हुन आग्रहसमेत गरिएको छ । कोभिड–१९ को संक्रमण जिल्लामा घटेसँगै स्वास्थ्य मापदण्ड पालना हुन छाडेसँगै प्रशासनले सर्वसाधारण, स्थानीय तह लगायत सरोकारवालालाई त्यस्तो आदेश दिएको हो ।

त्यसैगरी, सूचनामा सर्वसाधारण नागरिक, सरकारी, सार्वजनिक, गैरसरकारी एवं निजी कार्यालय, निकाय, संघ–संस्थाहरुले सेवा प्रवाह, पेशा व्यवसाय सञ्चालन लगायतका कार्य गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नु/गराउनुपर्ने, अनावश्यक रुपमा भीडभाड गर्ने, सभा–जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर जस्ता कार्य नगर्ने, नगराउने साथै चाडपर्व मनाउदा न्यून सहभागितामा सांकेतिक रुपमा मनाउन निर्देशन समेत दिइएको छ ।

त्यसका साथै विद्यालय सञ्चालन गर्न सम्बन्धित स्थानीय तहहरुलेनै कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ को मापदण्ड मुताविक स्वास्थ्य मापदण्डको पालना गर्दै डीसीएमसीको समन्वयमा गर्न गराउन समेत निर्देशन दिइएको छ ।

सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड लगायत अन्य निर्देशन पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समिति र सुरक्षा निकायबाट नियमित गरिने पनि उल्लेख छ ।

प्रकाशित : भाद्र १७, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?