कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिलाम्मे सडकले बर्सेनि सास्ती

स्थानीय भन्छन्– सडक बनाउँछौं भनेर जनप्रतिनिधिले आश्वासन दिए, पूरा गरेनन्
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको कविलासी नगरपालिका–१ र २ पिपरियाका स्थानीयलाई आनै पालिकाको केन्द्र पुग्न अन्य पालिकाको बाटो भएर जानुपर्ने बाध्यता छ । केन्द्र पुग्ने सडक वर्षामा हिलाम्मे बनेर हिँड्नै नसक्ने अवस्था छ, जसका कारण स्थानीयले तीन किलोमिटरको बाटो छिचोल्न अन्य पालिका भएर सात किमि यात्रा गर्नुपर्ने भएको हो ।

हिलाम्मे सडकले बर्सेनि सास्ती

नवलपुर–मलंगवा मुख्य सडकको गैरबाट पिपरिया जोड्ने सडकमा ठाउँठाउँमा खाडलै खाडल छन् । सामान्य पानी पर्दा सडकमा पोखरी बन्छ । घाम लागेपछि मात्र मुस्किलले सवारीसाधन चल्ने गरेको स्थानीय बताउँछन् । हरेक दिन यो सडकमा कोही चिप्लिनु र लड्नु सामान्यजस्तै भएको स्थानीय मदन झाले बताए । जनप्रतिनिधिले बेवास्ता गर्दा यस्तो सास्ती भोग्नुपरेको उनको गुनासो छ । ‘हामी आनै पालिकाको केन्द्र पुग्न पनि अहिले अन्य पालिका भएर जानुपर्छ,’ उनले भने, ‘तर, जनप्रतिनिधिले वास्ता गरेनन्, जनतालाई भोट बैंकको रूपमा मात्र प्रयोग गरे ।’ जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनताका कालोपत्र गर्ने आश्वासन दिए पनि अहिलेसम्म पूरा नगरेको उनले बताए । सदरमुकाम मलंगवाबाट जिल्लाको मुख्य व्यापारिक केन्द्र बरहथवा जोड्ने कम दूरीको सडक यही हो । हिउँदका बेला अति व्यस्त हुने यो सडक वर्षा लागेसँगै सुनसान हुन्छ । सवारीसाधन लामो बाटो प्रयोग गर्छन् । टेम्पु चालक स्थानीय वीरेन्द्र साहले वर्षा लागेसँगै टेम्पु घरमा थन्क्याएको बताए । बाटो हिलाम्मे बनेपछि टेम्पु चलाउन नसकेको र सडककै कारण तत्कालका लागि आनो आम्दानीको स्रोत पनि गुमेको उनले बताए । ‘टेम्पु चलाएर परिवार पाल्दै आएको छु,’ उनले भने, ‘वर्षा लागेसंगै खराब बाटोका कारण टेम्पु घरमै थन्काउनुपरेको छ ।’

गत वर्षको असार अन्तिम साता वडा नम्बर ७ बाट २२ लाख विनियोजन गरेर सडक मर्मत भएको थियो । तर झारा टार्ने र कार्यकर्ता पोस्ने काम मात्र भएको स्थानीय रामनारायण रायले आरोप लगाए । कविलासी नगरपालिकाका प्रमुख कौशल किशोर यादव अत्यधिक भार भएका गाडी कुद्न थालेकाले सडक बिग्रिएको बताउँछन् । सडकको हेरचाह र निगरानी प्रहरी तथा प्रशासनको रहेको उनको तर्क छ । ‘गत वर्ष नै यो सडकमा लगानी गरिएको थियो, तर अत्यधिक भारका गाडीहरू कुद्न थालेपछि बिग्रिएको हो,’ उनले भने, ‘बढी भारका गाडी चलाउनमा सम्बन्धित निकायले रोक नलगाए सडकको अवस्था यस्तै हुन्छ र नागरिकले सास्ती खेप्नुपर्छ ।’

आफ्नो क्षेत्रमा नपर्ने भन्दै प्रदेश सांसदले पनि सडक निर्माणमा बेवास्ता गरेका छन् । निर्वाचन क्षेत्र १ को (क) बाट निर्वाचित उपेन्द्र महतोले गैरसम्म मात्र आनो क्षेत्र रहेको दाबी गरे । आनो क्षेत्रमा नरहेकाले यो सडकमा लगानी गर्न नसकिएको उनको भनाइ छ । निर्वाचन क्षेत्र १ को (ख) बाट निर्वाचित भएकी बेची लुङेलीले पनि पिपरियासम्म मात्र आफ्नो क्षेत्र रहेको दाबी गरिन् ।

प्रकाशित : भाद्र १३, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?