कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनता आवास कार्यक्रम : भित्तो ठडियो, छानो छैन

निर्माणाधीन ८५० घर अलपत्र, विपन्न परिवार त्रिपालमुनि र छिमेकीको आश्रयमा
शिव पुरी

रौतहट — जनता आवास कार्यक्रमअन्तर्गत रौतहटमा निर्माणाधीन ८ सय ५० घर अलपत्र बनेका छन् । घरका भित्ता ठड्याइए पनि छाना हाल्न नसक्दा अलपत्र बनेका हुन् । बजेट अभाव देखाउँदै छाना नहालिएको हो । समयमा छाना लगाउन नसक्दा वर्षामा पानीले भिजेर अहिले कैयौं मुसहर परिवार समस्यामा छन् । उनीहरू कोही अर्काको घरमा शरण लिएर बसेका छन् कोही त्रिपालमुनि गुजारा गरिरहेका छन् ।

जनता आवास कार्यक्रम : भित्तो ठडियो, छानो छैन

चन्द्रपुर, गौर, इशनाथ लगायत नगरपालिकामा कार्यक्रमअन्तर्गत निर्माणाधीन घरमा छाना लगाउन बाँकी छ । गत फागुनमा छाना लगाउन पर्नेमा बजेट अभावले त्यत्तिकै अलपत्र परेको हो । त्यसपछि मुसहर लगायतका दलित समुदाय चैत, वैशाखको हावाहुरी र वर्षाको पानी झेल्न बाध्य भएका छन् ।

सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्जका इन्जिनियर वीरेन्द्र साहले गत फागुनमा नै बजेट सकिएकाले छाना लगाउन नसकेको बताए । ‘उसै बेला घर तयार भइसकेको थियो । बजेट भइदिएको भए छाना लगाएर बस्न मिल्ने हुन्थ्यो,’ उनले भने, ‘बजेट अभावले छाना लगाउन नपाउदा विपन्नको बिजोग भयो । वर्षामा उनीहरूलाई निकै समस्या भयो ।’

गएको आर्थिक वर्षमा प्रदेश २ सरकारले जनता आवासका लागि १५ करोड बजेट निकासा गरेको थियो । उक्त रकमले ८ सय ५० घरको भित्ता ठड्याइएको इन्जिनियर साहले बताए । साहका अनुसार त्यसपछि बजेटका लागि पहल गर्दा निकै समय लाग्यो । ‘अहिले बल्ल अर्थ मन्त्रालयले १८ करोड रकम पठाएको छ । तर त्यसको अख्तियारी नपाएकाले काम गर्न सकेका छैनौं,’ उनले भने । ३/४ महिनाभित्रमा सबैका घरमा छाना लगाइसकिने कार्यालयले जनायो । कार्यक्रमअन्तर्गत जिल्लामा १ हजार ९ सय ७३ घर बनाउने योजना छ । त्यसमध्ये १ हजार १ सय ७५

वटा घर बनाउने सम्झौता भएकोमा बजेटकै कारण गत वर्ष ८ सय ५० वटा मात्र बनाउन सुरु गरेको हो । पूर्ण बजेट उपलब्ध भएको खण्डमा एउटा घर बनाउन ३ देखि ४ महिना मात्र लाग्छ ।

सहरी विकास कार्यालयका अनुसार एउटा घर बनाउन प्रदेश सरकारले ३ लाख ३६ हजार रकम उपलब्ध गराउँछ । आवास कार्यक्रमका अनुसार भने २ कोठाको १ घर बनाउँदा ३ लाख ७३ हजार लाग्छ । १० प्रतिशत घरधनीले श्रमदान गर्नुपर्छ । यसरी घर बनाउँदा समुदायबाट उपभोक्ता समिति गठन गर्नुपर्छ । समितिले पहिले किस्ताबापत ५५ प्रतिशत रकम पाउँछ । दोस्रो ३५ र तेस्रो काम सम्पन्न भएपछि १० प्रतिशतले भुक्तानी पाउने प्रावधान छ ।

रौतहटमा २०७३ चैतमा सर्भे गरी ०७४ जेठबाट घर बनाउन थालिएको हो । कार्यक्रमका संयोजक प्रदेश २ का सांसद बाबुलाल साहलेसमयमा बजेट निकासा नहुँदा निर्माण प्रभावित बनेको बताए । दुई वर्षअघि गौर नगरपालिका–८ ढाँगर बस्ती ४० घरको छाना लगाउन ढिला गरेपछि झन्डै २ वर्षसम्म समस्या भोग्नुपरेको थियो । चन्द्रपुरको डुमरियास्थित मुसहर बस्तीका झगरु मुसहरले छाना नहालिँदा वर्षामा बिजोग भएको गुनासो गरे । ‘फागुनमै छाना लगाइदिने भन्ने कुरा थियो,’ उनले भने, ‘अहिलेसम्म सुरसार छैन ।’

प्रकाशित : भाद्र ६, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?