कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

प्रदेश २ मा जसपा र एमालेका सांसद को कतातिर ?

सन्तोष सिंह

धनुषा — जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले विभाजन भएसँगै प्रदेश २ को प्रदेशसभामा राजनीतिक दलको संख्या ७ पुग्ने भएको छ ।

प्रदेश २ मा जसपा र एमालेका सांसद को कतातिर ?

जसपाबाट महन्थ ठाकुर समूह र एमालेबाट माधवकुमार नेपाल समूह अलग भएर दल दर्ताका लागि दिएको निवेदन निर्वाचन आयोगमा सदर भए प्रदेशसभामा २ दल थपिनेछन् ।

हाल प्रदेशसभामा जसपा, एमाले, कांग्रेस, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी छन् । अब ठूलो दल जसपाको उपेन्द्र यादव समूह र प्रमुख प्रतिपक्ष जसपाबाटै विभाजित ठाकुर समूह बन्ने भएको छ । तत्कालीन संघीय समाजवादीका २९ र राजपाका २५ गरी जसपाका ५४ सांसदमध्ये यादव समूहमा ३४ जना र ठाकुर समूहमा २० जना खुलेका छन् । यसअघि ठाकुरनिकट मानिने ५ सांसद जसपामै बस्न रुचाएका हुन् ।

ठाकुरनिकट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, समाजिक विकासमन्त्री नवलकिशोर साह, पूर्वराज्यमन्त्री सुरेश मण्डल, प्रदेश सांसद मनिष सुमन जसपामै छन् । प्रदेश सभामुख सरोज यादव दलको सदस्य नरहेकाले उनको गणना पनि यादव समूहले नै गरिरहेको छ । जसपामा केही प्रदेश सांसद अझै थपिन सक्ने सांसद सुमनको दाबी छ । ‘राजेन्द्र महतो समूहको ट्याग पखालेर म मूल पार्टीमै रहनेछु,’ सुमनले भने, ‘अधिकांश प्रदेश सांसद मूल पार्टीमै रहनेछन् ।’

प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका ठाकुरनिकट सांसद जितेन्द्र सोनलले प्रस्तावित नयाँ पार्टी लोकतान्त्रिक समाजवादीमा रहने सांसद संख्या २१ दिनपछि मात्रै यकिन हुने बताए । ‘पूर्वराजपाबाट आएका २५ जना सांसद हुन्,’ उनले भने, ‘अहिले हाम्रोतिर कति छन्, कति छैनन् भन्न सकिँदैन । निर्वाचन आयोगले दल दर्ता गरेको पत्र आएपछि मात्रै प्रस्ट हुन्छ ।’ हालसम्म पूर्वराजपाबाट चुनाव जितेका सबै सांसद आफ्नै पक्षमा रहेको उनले दाबी गरे ।

प्रदेशसभामा २१ सांसद रहेको एमाले विभाजन हुँदा संस्थापनतर्फ ८ मात्रै सांसद बचेका छन् । नेपालले प्रस्ताव गरेको दल नेकपा (एकीकृत समाजवादी) तर्फ १३ सांसद खुलेका छन् । एमालेमा अनिता यादव, किशोरी साह, जगतारेन देवी, डा. मनोज कुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा, सत्यनारायण मण्डल र त्रिलोकी प्रसाद रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) मा अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नगेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मन्जुकुमारी यादव, रविन्द्र बैठा, बेची लुगेंली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिना खातुन रहेको प्रदेश सांसद बेची लुंगेलीले बताइन् ।

प्रदेशसभामा राजनीति दलको संख्या बढ्दा आर्थिक भारसमेत थपिने भएको छ । दलका नेता, उपनेता र प्रमुख सचेतकलाई सेवासुविधा उपलब्ध गराउनुपर्ने भएकाले आर्थिक भार थपिने भएको हो । दल दर्ता भएको निर्वाचन आयोगबाट जानकारी प्राप्त भएपछि स्वत: सुविधा थपिने प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए । उनका अनुसार प्रदेशसभामा संसदीय दलका नेता र प्रमुख सचेतकले सवारी सुविधा (गाडी, चालक, इन्धन) पाउँछन् । संसदीय दलको कार्यालय पनि प्रदेशसभा सचिवालयले उपलब्ध गराउनुपर्छ ।

‘अब दुई दल थपिए चार वटा गाडी खरिद गर्न कम्तीमा तीन करोड खर्च लाग्छ । चालक, इन्धन र मर्मतमा पनि मासिक खर्च हुन्छ,’ उनले भने, ‘दलको सचिवालयमा १६ जना कर्मचारी थप्नुपर्ने हुन्छ । कर्मचारीको तलबमै मासिक ५ लाख रुपैयाँ खर्च हुन्छ ।’

प्रकाशित : भाद्र ५, २०७८ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×