कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१० वर्षदेखि सहिद घोषणाको पर्खाइ

शिव पुरी

रौतहट — गौर नगरपालिका–८ स्थित राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्रदास बैरागी (यादव) लाई सहिद घोषणा गर्ने जिल्ला सुरक्षा समितिले गरेको निर्णय कागजमै सीमित भएको छ । बैरागीको हत्या भएको १० वर्ष बितिसक्दा पनि राज्यले उनलाई सहिद घोषणा गरेको छैन । यसका लागि पीडित परिवार १० वर्षदेखि राजधानी धाएको धायै छन् । 

१० वर्षदेखि सहिद घोषणाको पर्खाइ

गौरस्थित कर्मचारी मिलन केन्द्र अगाडि २०६८ असार २३ गते राति साढे अज्ञात समूहले बैरागीमाथि गोली प्रहार गरेको थियो । घाइते बैरागीलाई तत्काल गौर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनापछि गौरमा ठूलो प्रदर्शन भयो । घटनाको भोलिपल्ट तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले राजनीतिक दल, पीडित परिवारका प्रतिनिधिलाई राखेर सर्वदलीय बैठक गरे । बैठकले बैरागीलाई सहिद घोषणा र उचित क्षतिपूर्तिका लागि सिफारिस गर्ने निर्णय गर्‍यो । त्यसको तीन महिनापछि असोज २६ गते जिल्ला प्रशासनमा बसेको सुरक्षा समितिको बैठकले पनि बैरागीको परिवारको आर्थिक अवस्था दयनीय भएकाले सहिद घोषणा र उचित क्षतिपूर्तिको सिफारिस गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो ।

प्रशासनको सिफारिस पत्र बोकेर पटक/पटक राजधानी धाउने काम मात्र भएको बैरागीका श्रीमती रामकुमारी देवीले बताइन् । ‘मधेशलगायत विभिन्न आन्दोलन भनेर मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिसक्यो,’ उनले भनिन्, ‘देशकै शिर उच्च राख्ने कुस्ती खेलाडीको हत्या हुँदा सहिद घोषणा गर्न राज्यले बेवास्ता गर्‍यो ।’

बैरागीलाई सहिद घोषणाको सिफारिस खेलकुद मन्त्रालय हुँदै अर्थमा फाइल पुगेको थियो । गृहले पनि जिल्ला प्रशासन रौतहटबाट पीडित परिवारलाई आर्थिक राहतको लागि मापदण्डबमोजिमको कागज मगायो । त्यसपछि कुनै प्रक्रिया अगाडि नबढेको पीडित परिवारजनको भनाइ छ ।

सन् १९९९ मा काठमाडौंमा भएको आठौं साफ खेलकुदको कुस्ती खेलमा कांस्यपदक जितेका बैरागीलाई सरकारले गोरखा दक्षिणबाहुबाट सम्मान गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बैरागीको राहतसम्बन्धी प्रक्रिया कहाँसम्म पुग्यो भन्ने बारे मन्त्रालयमा बुझ्ने बताए । देवाही गोनाही नगरपालिका घर भएका बैरागी माओबादी द्वन्द्वका बेला असुरक्षाका कारण गाउँबाट विस्थापित भई सदरमुकाम गौर बस्दै आएका थिए । त्यही उनको हत्या भएको हो ।

घटना लगतै रामकुमारीले घटनामा संलग्न भन्दै देबाहीका सोनफी पासवान लगायत ५ जनाविरुद्ध कर्यव्य ज्यान मुद्दामा किटानी जाहेरी थिइन् । उनीहरू सबै अदालतबाट रिहा भइसकेका छन् । घटनामा संलग्नपछि फरार भनिएका पासवानलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार जिल्ला अदालतले साधारण तारेखमा छाडेको छ ।

प्रकाशित : श्रावण ३२, २०७८ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×