कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछापालनले धानिएको गाउँ

‘माछा गाउँ’ मा ३ सय परिवारले ६ सय पोखरीबाट बर्सेनि झन्डै १५ हजार मेट्रिक टन माछा उत्पादन गर्दै आएका छन् 
लक्ष्मी साह

बारा — माछाको हब मानिने बाराको एउटै गाउँमा बर्सेनि ८० करोड रुपैयाँ बराबरको माछा उत्पादन हुने गरेको छ । गाउका ३ सय परिवारले ६ सय पोखरी (३ सय हेक्टर क्षेत्रफल) बाट बर्सेनि झन्डै १५ हजार मेट्रिक टन माछा उत्पादन गर्दै आएका छन् । यसै कारण कोल्हवी नगरपालिका–५ बोधवन रामवन गाउँलाई ‘माछा गाउँ’ भन्ने गरिएको हो ।

माछापालनले धानिएको गाउँ

जिल्लाको पूर्वी उत्तर चारकोसे जंगलसित जोडिएको यस गाउँका बासिन्दाको मुख्य आय स्रोत माछा नै हो । गाउँमा घरैपिच्छे पोखरी छ । दुई दशकदेखि माछापालन गर्दै आएका उनीहरूको जीवनस्तर पनि यही पेसाले उकासिएको छ । जिल्लाभर बर्सेनि ३६ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ, जसबाट ३ अर्ब रुपैयाँ बराबर कारोबार हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

केन्द्रका अनुसार जिल्लाभर ४ हजार ७ सय परिवार माछा पालन गर्छन् । यसैगरी जिल्लामा साना–ठूला गरी ६ हजार ६ सय पोखरी (३७ सय हेक्टर क्षेत्रफल) छन् । सबै पोखरीमा कमन ग्रास, रोहु, नैनी, भाकुर, ग्रासकाट जातका माछा पालन हुने गरेको छ । माछाको मूल्य प्रतिकेजी २ सयदेखि ६ सयसम्म छ । सरकारले यहाँ माछा सुपरजोन परियोजना लागू गरेको छ ।

स्थानीय माछापालन व्यवसायी जंगबहादुर साहका अनुसार अन्य खेतीभन्दा माछापालनमा खर्च कटाएर तीन गुणा बढी फाइदा हुने गरेकाले गाउँलेहरू यस व्यवसायतर्फ आकर्षित भएका हुन् । जिउँदो माछा व्यवसायी संघका केन्द्रीय अध्यक्षसमेत रहेका अध्यक्ष साहले माछापालनबाट गाउँवासीको जीवनस्तर निकै सुधार आएको बताए । ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार गाउँमा उत्पादित माछाहरू काठमाडौं, पोखरा, मुग्लिन, नारायणगढलगायत सहरहरूमा आपूर्ति हुँदै आएको छ ।

नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मधुसुदन अधिकारीका अनुसार नेपालमा बर्सेनि ९३ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ, जसमा माछा गाउँको पनि महत्त्वपूर्ण योगदान छ । देशभर १ लाख ६० हजार मेट्रिक टन माछा माग रहेको उनले बताए । स्वास्थ्यको दृष्टिकोणले माछा स्वास्थ्यवर्द्धक भएकोले यसको माग बढ्दै गएको र बजारको समस्या पनि नभएकोले बोधिवनका स्थानीय माछा पालनतिर आकर्षित भएको उनको भनाइ छ ।

‘पानीको स्रोत घटने गरेकाले कहिलेकाहीँ व्यवसाय प्रभावित हुने गरेको छ,’ उनले भने, ‘खोलाको पानीको मुहान कहिलेकाहीँ सुक्न गर्छ । बर्खाको बेलामा पनि ट्युबवेलको सहारा लिनुपर्ने हुन्छ ।’ हिउँदको बेलामा पानी अभावको समस्या हुने गरेको अधिकारीले बताए ।

प्रकाशित : श्रावण २१, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?