घरैपिच्छे ज्वरो–रुघाखोकी- मधेस - कान्तिपुर समाचार

घरैपिच्छे ज्वरो–रुघाखोकी

भाइरल ज्वरोका ५३ बिरामीको पीसीआर गर्दा ५ जनामा कोरोना संक्रमण
प्रदेश २ ब्युरो

जनकपुर — प्रदेश २ का आठवटै जिल्लामा घरैपिच्छे ज्वरो र रुघाखोकीका बिरामी देखिएका छन् । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या दिनहुँ बढ्दो छ । तर मौसम प्रतिकूलताका कारण पनि ज्वरो र रुघाखोकी भएको हुन सक्ने चिकित्सकको अनुमान छ । छिनमै चर्को घाम, छिनमै पानी पर्ने असुहाउँदो मौसम सातायता प्रदेशमा कायमै छ, जसका कारण बिरामी संख्या बढ्दो छ । 

जनकपुर सीता चोकका विनोद भण्डारीलाई गत साता एकाएक ज्वरोले च्याप्यो । पारासिटामोल खाँदा पनि निको भएन । बरु, शरीर झन् गल्यो । शरीर काँप्ने ज्वरोले दुई दिन सताएपछि भण्डारीलाई अस्पताल नै भर्ना गर्नुपर्‍यो । उनकी पत्नीलाई पनि ज्वरो र रुघाखोकीले छोयो । अहिले उनीहरूको अवस्था सामान्य छ । राजविराज नगरपालिका–१० मैटगढी गाउँमा हाल झन्डै डेढ सयभन्दा बढीमा ज्वरो, शरीर दुख्ने, रुघाखोकीलगायतका लक्षण देखिएको छ । तीन/चार दिनयता उक्त बस्तीमा यस्तो लक्षण भएका बिरामीको संख्या बढ्दो रहेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी गराए । बिरामीको संख्या निरन्तर बढेपछि शुक्रबारबाट नगरपालिकाले त्यहाँ स्वास्थ्य शिविर नै सञ्चालनमा ल्याएको छ ।

सप्तरीको मैटगढी मात्रै नभई जिल्लाका अधिकांश भेगमा ज्वरो आएका बिरामीको संख्या ह्वात्तै बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लाका प्रायःजसो परिवारमा कम्तीमा एक जना व्यक्ति ज्वरो, शरीर दुख्ने, रुघाखोकी लगायतका समस्याले पीडित छन । ग्रामीण भेगका अधिकांश स्वास्थ्य संस्थामा यस्ता लक्षण भएका बिरामीको भीड रहेको यादवले बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत बिरामीमध्ये झन्डै आधाभन्दा बढी ज्वरो र रुघाखोकीकै बिरामी रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जितकुमार झाले जानकारी गराए । बिरामीमा ज्वरो, रुघा, शरीर दुख्नेलगायतका लक्षण देखिएपछि कोरोना संक्रमणको त्रास बढेको छ । गजेन्द्रनारायण अस्पतालको पीसीआर मेसिन बिग्रिएका कारण सप्तरीमा कोरोना परीक्षण ठप्प छ ।

बारामा पनि कहिले वर्षा र कहिले चर्को घामसँगै मौसम परिवर्तनले भाइरल ज्वरोको प्रकोप बढेको छ । कलैया अस्पतालमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई केही सातादेखि भ्याइनभ्याइ छ । ग्रामीण क्षेत्रमा पनि प्रकोप उत्तिकै छ । अस्पताललगायत कलैयाका निजी स्वास्थ्य क्लिनिकमा पनि बिरामीको चाप बढेको छ । विभिन्न गाउँ ठाउँमा अहिले भाइरल ज्वरोसँगै संक्रमितमा टाइफाइड देखिएको कलैया अस्पतालका चिकित्सकले बताए । बिरामी पर्नेहरूमा बालबालिकादेखि वृद्धवृद्धासम्म छन् । एउटै घरका चार/पाँच जनासम्म पनि बिरामी परेका कलैया–४ का अजय जयसवालले बताए ।

संक्रमितहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने, रिंगटा लाग्ने, रुघाखोकीसँगै हाँच्छ्यु आउने, आँखा रातो हुने, घाँटी खसखस गर्ने, जीउ दुख्ने, जाडो लागेर ज्वरो आउने यसको लक्षण देखिएको हो । उमालेको पानी पिउन, मास्क लगाउन, चिसो, धूलोधूवाँबाट बच्न र पानी तताएर बाफ लिन चिकित्सकहरूले सल्लाह दिइरहेका छन् । कलैया अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट गौरव महतोले ओपीडी र इमर्जेन्सीमा दैनिक आउने १ सय ५० देखि २ सय बिरामीमा ४० देखि ५० प्रतिशतसम्म भाइरल ज्वरो देखिएको बताए । रोगीको चाप बढेअनुसार स्वास्थ्यकर्मी पर्याप्त नभएकाले भर्ना गर्ने अवस्था नरहेको उनको भनाइ छ । जिल्लामा तीन दिनयता भाइरलका ५३ बिरामीको पीसीआर गर्दा ५ जनामा कोभिड पोजिटिभ देखिएको छ । तिनीहरूलाई भर्ना गर्ने अवस्था नभएकाले घरमै बस्न सुझाएको उनले बताए । यो सरुवा रोग भएकाले सरसफाइसहित उमालेको पानी पिउन र पानी तताएर बाफ लिन महतोले सुझाए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण

कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी सर्लाहीमा पनि बढ्न थालेका छन् । बिरामीमा उच्च ज्वरो तथा रुघाखोकीजस्ता लक्षण देखिएको छ । पीसीआर जाँच गर्दा यस्ता बिरामीमा ५ प्रतिशतमा संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवलकिशोर झाले बताए । झाका अनुसार वर्षासँगै गर्मीमा विभिन्न रोगका कीटाणु सक्रिय हुने भएकाले भाइरल ज्वरोका बिरामीको संख्या बढेको हो ।

शारीरिक रूपमा कमजोर बालबालिका, वृद्धवृद्धा भाइरल ज्वरो, टाइफाइडबाट प्रभावित छन् । ‘अहिले भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ, यो कोभिडको लक्षणभन्दा पनि मौसमी रोग हो,’ उनले भने, ‘जिल्ला अस्पतालमा आएका बिरामीको पीसीआर जाँच गर्दा पाँच प्रतिशतको हाराहारीमा मात्र कोभिड फेला परे पनि सजगता भने अपनाउनुपर्ने देखिन्छ ।’ अस्पताल तथा निजी क्लिनिक भरिभराउ रहेकाले चिकित्सकसँग स्वास्थ्य जाँच गराउन बिरामीले घण्टौं पालो कुर्नुपर्ने अवस्था छ ।

इन्फ्लुएन्जा–ए का बिरामी घट्दै

पर्सामा ‘इन्फ्लुएन्जा–ए’ का बिरामीको संख्या केही घटे पनि न्यून भइसकेको छैन । नारायणी अस्पतालको मेडिकल ओपीडीमा अझै पनि दैनिक २५ देखि ३० जना बिरामी आइरहेका अस्पतालका आकस्मिक विभाग प्रमुख एवम् कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए । ‘मेडिकल ओपीडीबाहेक बाल रोग विभागमा पनि केही बिरामी दैनिक उपचारका लागि आइरहेका छन्,’ उनले भने, ‘इन्फ्लुएन्जा भएका बिरामी सबै उमेरका छन् । २० देखि ६० वर्षका बिरामी बढी छन् ।’

बिरामी सबैमा ज्वरो, भोक नलाग्ने, जीउ दुख्ने र नाकबाट पानी आउने समान लक्षण छ । कतिपय पोस्ट भाइरलका बिरामी पनि आइरहेको उनले बताए । तीमध्ये कोभिडसँग मिल्दोजुल्दो लक्षण भएकाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने गरिएको उनले बताए । शरीरमा पानी कम भएर कमजोर अवस्थामा आएका बिरामीलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार गर्ने गरिएको उनले बताए ।

पर्सामा करिब एक महिनादेखि ‘इन्फ्लुएन्जा–ए’ ज्वरो फैलिएको छ । केन्द्रीय प्रयोगशाला टेकुमा गत साता गरिएको परीक्षणबाट ‘इन्फ्लुएन्जा–ए’ ज्वरो फैलिएको पुष्टि भएको थियो । ५ वर्षयता पहिलोपटक यसरी ‘इन्फ्लुएन्जा–ए’ का बिरामीको संख्या यस वर्ष ह्वात्तै बढेको डा. सिंहले बताए । शुक्रबार प्रदेश २ मा १२ जना कोरोना संक्रमित थपिएका छन् ।

-अवधेशकुमार झा (सप्तरी), ओमप्रकाश ठाकुर (सर्लाही), लक्ष्मी साह (बारा) र शंकर आचार्य (पर्सा)

प्रकाशित : श्रावण १८, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्

मधेसमा सुकुम्बासीको बेहाल

वास्तविक भूमिहीनका लागि आयोगहरुले काम गर्न नसक्दा एकातिर विपन्नको बिजोग छ, अर्कातिर उनीहरुका नाममा अतिक्रमण गर्नेको मनोबल बढेको छ
प्रदेश २ ब्युरो

जनकपुर — प्रदेश २ मा कति छन् सुकुम्बासी र भूमिहीन भनेर सोधे यकिन संख्या कुनै निकायमा छैन । सुकुम्बासी आयोग र जनता आवास कार्यक्रमलाई नेताहरूले भोट तान्ने अस्त्रमात्र बनाएको यो समुदायलाई भेटेपछि बुझिन्छ ।

सप्तरीको तिलाठी कोइलाडी–८ तोपाका खटर सदा गाउँको एक छेउ कोसी पश्चिमी नहरको डिलमा कच्ची घरमा जन्मिए । त्यही हुर्के, बढे । बुबा देवलाल सदा पनि त्यही घरमा जन्मिएर बनिबुतो गरी परिवार पाल्दै बिते । सदा परिवारको चौथो पुस्ता पनि त्यही ऐलानीमा छ । ‘दिनभरि कमाएर छाक टार्ने हो, जग्गा किन्ने पैसा हामीसित कहाँबाट आउनु ?,’ खटरले भने, ‘हाम्रो चार पुस्ता सुकुम्बासी नै रह्यो, अझै कति पुस्ताले यस्तै हो, थाहा छैन ।’

खटर सदामात्र होइन्, नहरको डिलमा २५ भन्दा बढी मुसहर परिवारको कहानी उस्तै छ । तोपा मात्र होइन सप्तरीका अधिकांश नहरका डिल, ऐलानी जग्गाहरूमा भूमिहीनको बसोबास छ । पटकपटक आयोग र समितिहरू बने पनि उनीहरूलाई भूमिको मालिक बनाउन सकेको छैन । सप्तरीमा सुकुम्बासी संख्या ३० हजार हाराहारी भएको अनुमान छ । ‘१८ वटै पालिकासित समन्वय गरी सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरिरहेका छौं,’ भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष देवनारायण चौधरीले भने ।

विगतका आयोग र समितिले सप्तरीमा ३ हजार परिवारलाई लालपुर्जा वितरण गरे पनि काम अधुरै रहेको उनले बताए । ‘लालपुर्जा त दिए तर मालपोतमा स्रेस्ता छैन,’ उनले भने, ‘त्यस्ताको पनि तथ्यांक संकलन गरी मालपोतमा स्रेस्ता कायम गराई किताकाट गरेर भूमिको मालिक बनाउने गरी काम गरिरहेका छौं ।’

भूमिको मालिक बनाउने कुरा चुनाव आसपास मात्रै चर्को रूपमा हुने गरेको मुसहर समुदायका अगुवा देवन सदाको गुनासो छ । सिरहाको नरहा–३ नयाँ चोहर्वाकी ६० वर्षीया हरिहर मरिक (डोम) को परिवार बाँसका सामान बनाएर बेच्छन् । बंगुर पाल्छन् । न कोही सरकारी जागिरमा छ न त दरिलो आम्दानी हुने नोकरी । त्यही डिहीमा छोराहरू सञ्जय, मनोज र बिल्टु मरिकसहितको तीन घरको बसोबास छ । अहिले परिवारको बिचल्ली भएको छ । ‘बाँसको सामान बिक्री भएन भने हाम्रो चुलो बल्दैन । कोरोना आएपछि हातमुख जोर्नै गाह्रो भयो,’ हरिहरले दुःखेसो पोखिन्, ‘यहीबेला जनता आवासबाट घर बनाइदिने भनेर हाम्रा फुसका झुप्रा भत्काउन लगाए, बनाइदिएनन् । बर्खामा बासको पनि समस्या भएको छ ।’ प्रदेश सरकारबाट इँटा र टिन (जस्तापाता) भएको घर बनाइदिने भन्दै हरिहरसहित तीन परिवारको पुरानो घर भत्काइएको थियो । तर, उनीहरूका घर बनेनन् ।

जनता आवास कार्यक्रमले घर बनाउन प्रतिपरिवार तीन लाख रुपैयाँ दिएको थियो । घरको शिलान्यास पनि गरियो । तर वन कार्यालयले सामुदायिक वन क्षेत्रको जग्गा भन्दै त्यसमा घर बनाउन दिएन । त्यसैले मरिक परिवारको बिचल्ली भएको हो । ‘दलित भनेर हामीहरू हेपिएका छौं । न जग्गा छ, न ऐलानीमा बस्न दिन्छन्,’ मनोज मरिकले भने ।

खुट्टी खोला किनारामा बसोबास गर्दै आएका लहान–१० का रामनाथ पासवान गिट्टी चालेर गुजारा चलाउँछन् । उनीजस्तै १ सय ५० घरधुरी दलित सुकुम्बासी परिवार गिट्टी, बालुवा चाल्दा हुने आम्दानीका भरमा छन् । ‘खोलामा गिट्टी नफुटाएका दिन घरमा भात पाक्दैन,’ पासवानले भने, ‘कसरी जग्गा आफ्नो होला भनेर कल्पना गर्नु ?’ सरकारले २०६० भदौ २२ मा राजपत्रमा निकालेको सूचनाका आधारमा सुकुम्बासी, भूमिहीनहरूका लागि जग्गा दर्ता गर्न मालपोत तथा भूमिसुधार कार्यालयमा निवेदन दर्ता भएका थिए । सिरहामा मात्र गाउँ ब्लक तथा सुकुम्बासी मोहीहरूले १३ हजार ७ सय ८० परिवारले निवेदन दर्ता गराएका थिए । तर त्यसलाई सरकारले प्रक्रियामै ल्याएन ।

भूमि अधिकार मञ्च सिरहाका अनुसार तराईमा भूमिहीन र सुकुम्बासीको संख्या कुल जनसंख्याको ३३.५५ प्रतिशत छ । सिरहामा ९८ हजार ७५३ घरधुरीमध्ये २८ हजार ७५१ भूमिहीन छन् । तीमध्ये ८० प्रतिशत मधेसी दलित छन् । भूमि अधिकारकर्मी राजकुमार पासवान भन्छन्, ‘प्रतिपरिवार १ बिघा जग्गा व्यवस्था गरियो भने परिवार पाल्न कठिनाइ हुँदैन । जुन सम्भव छ ।’

१८ वटा पालिका भएको धनुषामा पनि सुकुम्बासी पहिचान गर्न निवेदन लिने काम भइरहेको भूमि आयोग धनुषाका अध्यक्ष रामचरित्र साहले बताए । ‘समितिले वडागत रूपमा सुकुम्बासीको पहिचान गरी प्रमाणीकरण गर्ने काम गरिरहेको छ,’ उनले भने ।

सर्लाहीको ब्रह्मपुरी–६ खोरिया टोलमा गाउँब्लकको ऐलानीमा टहरा बनाएर बस्दै आएका ३४ परिवार छन् । पालिकाले सडक फराकिलो बनाएसँगै छाप्राहरू भत्कायो । विकल्प नहुँदा उनीहरू भत्केकै टहरा टालटुल गरेर बसिरहेका छन् । आम्दानीका लागि ज्यालादारीमा निर्भर उनीहरूको अवस्था पहिलाभन्दा झन् दयनीय भएको भूमि अधिकार मञ्चका प्रदेश संयोजक मदन विश्वकर्माले बताए । खोरिया टोलमै सुरेन्द्र माझी छोरा, बुहारी, नातिनातिनासहित १८ जनाको परिवारमा छन् । उनले कपडाको पाल टाँगेर ओत बनाएका छन् । त्यही पाल उनीहरूका लागि पर्खाल छ । कतिपय अवस्थामा उनीहरू पालो कुरेर पनि राति सुत्ने गरेका छन् । यो टोलमा पुरुषहरू बाहिर धर्मशाला अथवा पीपल चौतारोमा सुत्ने र महिलाहरू मात्रै टहरामा सुत्ने चलन नै बनाएका छन् । माझीले अभावका कारण यो चलन टोलवासीहरूले ल्याएको बताए । ‘सानो छाप्रोले परिवारका सबैको मुन्टो लुक्दैन,’ सुरेन्द्रले भने, ‘जसोतसो जीवन गुजार्दै आएका छौं ।’

सर्लाहीमा झन्डै ३५ हजार हाराहारी परिवार सुकुम्बासी रहेको भूमि आयोग मलंगवाले जनाएको छ । राजमार्ग छेउछाउका ६ पालिकामा मात्रै ८ हजार सुकुम्बासी र २४ हजार हाराहारीमा अव्यवस्थित बसोबासी छन् । जिल्लामा एक हजार जनता आवासको घर बनाउने ठेक्का लागेको छ । तर ठेकेदारको लापरबाही, सरकार तथा मन्त्री परिवर्तनले यसको काममा ‘ब्रेक’ लाग्दै आएको छ ।

सुकुम्बासीका नाममा अतिक्रमण

बाराको सार्वजनिक तथा निजी जग्गा भने भूमिहीनका नाउँमा अतिक्रमण भएको पाइएको छ । वनमा घरटहरा बनाएर बसोबास गर्ने क्रम बढेको हो । जितपुर–सिमराको डुमरबानामा चारकोसे जंगलभित्र रहेको टाँगिया बस्ती चार दशकदेखि नै अतिक्रमण हुँदै आएको छ । घरटहरा बनाउने र बसोबास गर्ने क्रम रोकिएको छैन । राजनीतिक खिचातानीले पटकपटक सरकार परिवर्तनसँगै एकातिर अतिक्रमणकारीको मनोबल बढेको छ, अर्कातिर भूमिहीनहरू धपाइएका छन् ।

१६ सय परिवार सयौं हेक्टर जग्गा अतिक्रमण गरी बसेका छन् । ठूलो क्षेत्रमा आवादीसमेत गरेका छन् । सरकारले अन्यत्र व्यवस्थापन गर्नुपर्नेमा उल्टै पानी, बिजुली, विद्यालयलगायत सुविधाको नाममा मलजल दिँदा थालेपछि अतिक्रमण गर्नेहरूको झन् मनोबल बढ्दै गएको हो ।

प्रकाशित : श्रावण ११, २०७८ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×