कमला किनारमा आस्थायी बाँध निर्माण
धनुषा — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कमला नदीबाट हुने क्षति रोक्न बहुवर्षीय योजना आवश्यक रहेको बताएकी छन् । कमलाले कटान गरेको पश्चिमी तटबन्धको निरीक्षण गर्न बिहीबार सिँचाइका प्राविधिक टिमसहित पुगेकी मन्त्री भुसालले जोखिम रोक्न नयाँ अवधारणाअनुरूप काम गर्नुपर्ने बताएकी हुन् ।
धनुषाको किरतपुर र पटेर्वानजिक कमलाको बाढीले तटबन्ध बगाएर बस्ती क्षेत्रमा बाढी प्रवेश गर्ने खतरा छ । बाढीले पोर्तहा–इनर्वा ३४.५ किलोमिटर, किरतपुरमा ८ सय मिटर र पटेर्वामा ३ सय मिटर तटबन्ध बगाइसकेको छ । हाल तटबन्ध बगाएको स्थानमा बाँस, फलाम र सिमेन्टको खाँबो गाँडेर बोरामा माटो राखेर कटान रोक्ने प्रयास भइरहेको छ ।
स्थानीयसँगको भेटमा मन्त्री भुसालले सिन्धुली, धनुषा र सिरहामा कमलाको वारिपारि करिडोरसहितको तटबन्ध बनाएर भारतीय सीमासँग जोड्ने लिंक रोडका लागि मन्त्रालयले स्रोत परिचालन गर्ने आश्वासन दिइन् । ‘बाढी नियन्त्रणका लागि थप स्रोतसाधन परिचालन गरी मन्त्रालयले गुरुयोजना कार्यान्वयन गर्ने अवस्था आएको छ,’ उनले भनिन्, ‘कमला नदी नियन्त्रणको मास्टर प्लान र डीपीआर तयार भए पनि कार्यान्वयन भएको छैन । बर्सेनि २/४ करोड लगाएर तटबन्ध टालटुल मात्रै भएको छ । बजेट खर्च भयो । समस्या उस्तै छ । जोखिम घटेन ।’
बलियो तटबन्धले तराई मधेसको ठूलो कृषि भूभाग प्रयोगमा आउने भएकोले बहुवर्षीय योजनामा कमला नदी नियन्त्रण अभियान अगाडि बढाइने उनले बताइन् । ‘कमलाको समस्या सिन्धुलीदेखि नै छ,’ मन्त्री भुसालले भनिन्, ‘सिन्धुलीमा पनि कटानको समस्या छ । चुरेको भूक्षयका कारण नदीको सतह बढेको छ । पहाडी क्षेत्रबाट बगेर आएको माटोले नदी भरिँदा कटान र डुबानको जोखिम बढेको हो ।’ कमलाको प्राविधिक, नीतिगत र वित्तीय स्रोत थपेर समग्रमा गुरुयोजना बनाएर नदी नियन्त्रण र आसपासको उब्जाउ भूभाग संरक्षण गरिने उनले बताइन् ।
कमला कटान नियन्त्रणका लागि तत्काल ५० लाख निकासा गराएर बाढी प्रभावित क्षेत्रमा प्राविधिक खटाइएको जानकारी गराउँदै मन्त्री भुसालले संघ सरकारले तत्कालै ठोस कार्ययोजनासहित स्रोत परिचालन गर्ने प्रतिबद्धता जनाइन् ।
कमला नदी नियन्त्रण आयोजना कार्यालय जनकपुरका प्रमुख एकराज भट्टराईले बस्ती क्षेत्रमा बाढी प्रवेश गर्न नदिएर पानीको बहाव फर्काउन तत्काल केही काम भए पनि भत्किएको तटबन्ध वर्षाको समयमा निर्माण गर्न नसकिने जानकारी दिए ।