कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्व-पश्चिम राजमार्गमा खाल्डैखाल्डा

रौतहट — सर्लाहीको वाग्मती पुलदेखि रौतहटको पथलैयासम्म पूर्व–पश्चिम राजमार्गमा ठाउँठाउँमा खाल्डाखुल्डी छन् । राजमार्गका सडक यतिबिध्न कमजोर छन् कि सामान्य पानी पर्दा पनि खाल्डा पर्छन् ।

पूर्व-पश्चिम राजमार्गमा खाल्डैखाल्डा

सडक डिभिजनले पछिल्लो ३ वर्षयता अलकत्रा राखेर सडक टालटुल गर्ने नाममा लाखौं खर्च गरिसकेको छ । तर झरी पर्नासाथ फेरि खाल्डो पर्छ । यस खण्डमा पर्ने पुलको हालत झनै बिजोग छ । वाग्मती, लालबकैया, चाँदी खोलाको पुल जर्जर बनेको छ । पुल कट्न सवारीसधानले निकै सास्ती खेप्नुपर्छ ।

सडक डिभिजन कार्यालयले अहिले रौतहटको धन्सार–वाग्मती खण्डको २७ किमि सडकका खाल्डाखुल्डी टालिरहेको छ । यो क्रम ३ वर्षदेखि छ । एक पटक खाडल टाल्दा सडक डिभिजनको झन्डै २० लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । पछिल्लो ३ वर्षमा यसमा मात्रै ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । सडक डिभिजनका इन्जिनियर यादव सुवेदीले राजमार्गले भार थेग्न नसक्दा सडकको कालोपत्र उप्किएर खाडल हुने गरेको बताए । ‘राजमार्ग निकै पुरानो भइसक्यो । मालवाहक सवारीले थेग्नै नसक्ने भार बोकेर आउँछन्,’ उनले भने, ‘एकपटक खाल्डो परेपछि त्यसलाई जति टाले पनि वर्षाको बेला उस्तै हुन्छ ।’

पूर्व–पश्चिम राजमार्ग हुँदै दैनिक ५ हजारभन्दा बढी सवारीसाधन गुड्छन् । तर खाल्डोमा परेर कतिखेर गाडी पल्टिन्छ भन्ने चिन्ता लाग्ने चन्द्रनिगाहपुरका ट्रक चालक किशोर खड्काले बताए । ‘सडकले टालेको जस्तो गर्छ । तर झरी परेपछि सबै उप्किन्छ,’ उनले भने, ‘बलियो कालोपत्र बनाउनुपर्नेमा पैसाको नाश मात्र भएको छ ।’ केही समयअघि प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले पनि राष्ट्रिय राजमार्गको हालत गए–गुज्रेको रहेको बताएका थिए । ‘राष्ट्रिय राजमार्ग हाम्रो लाइफलाइन हो,’ उनले भनेका थिए, ‘बर्सेनि टालेर हुँदैन । यसलाई नयाँ ढंगले फराकिलो बनाउनुपर्छ ।’

राजमार्गमा पहिले सवारीसाधनको चाप कम थियो । अहिले चाप बढेकाले सडकमा खाल्डाखुल्डी बन्नेबित्तिकै आवागमनमा समस्या देखिन थालेको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख ज्ञानबहादुर माझीले बताए । यसले सवारी दुर्घटनासमेत बढाएको उनको भनाइ छ । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको जिम्मा विश्व बैंकले लिइसकेकाले विस्तारका क्रममा रहेको बताउँछन् सडक डिभिजनका कामु प्रमुख नरेश केशरी । साना पुल भत्काएर नयाँ बनाउने र ठूला पुल थप्ने योजनासमेत रहेको उनले बताए ।

प्रकाशित : श्रावण ८, २०७८ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?