कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीमा ८० प्रतिशत रोपाइँ

सर्लाही — असारको तेस्रो सातादेखि रामबाबु यादव रोपाइँमा व्यस्त छन् । सर्लाहीको कविलासी नगरपालिका–१ का उनको अब ब्याड राखेको खेतमा मात्र रोपाइँ गर्न बाँकी छ । तीन बिघामा रोपाइँ गर्नुपर्ने उनले यस वर्ष थप डेढ बिघा बटैया (अधियामा) लिएर धान रोपेका छन् ।

यस वर्ष मौसमको कारण पनि बेलैमा रोपाइँ सम्भव भएको उनले जानकारी दिए । मौसम र अन्य कारणले अघिल्ला वर्षमा उनले रोपाइँ गर्न निकै सास्ती खेप्नुपरेको थियो ।

यादव मात्र हैन, सर्लाहीका अधिकांश किसान रोपाइँ सक्ने तयारीमा छन् । लगातारको वर्षापछि उत्पादन बढ्ने आशा छ । जिल्लामा डुबानमा परेका खेतीयोग्य जमिन र धानको ब्याड राखिएको खेतमा मात्र रोपाइँ गर्न बाँकी छ । मलंगवा नगरपालिका–५ भाँड्सर र गोडैता नगरपालिका–१२ मधुवनीमा डुबानका कारण रोपाइँ हुन सकेको छैन । भाँड्सरमा पानीको निकास नभएर डुबान भएको हो । मधुवनीमा निकास हुने स्थानमा मानव सृजित अवरोध छ । यहाँका किसानले राखेको धानको बेर्ना पनि डुबानका कारण गलेर नष्ट भएको छ ।

गोडैताका प्रमुख देवानन्द यादवले मानव सिर्जित अवरोध हटाउने प्रयास भइरहेको जानकारी दिए । उनले दुई जनाले पानी निकास हुने स्थानको नम्बरी जग्गामा माटो पुरेकाले त्योभन्दा उत्तरको ५० बिघाभन्दा बढी खेतबारी जलमग्न भएको बताए । ‘अवरोध हटाउने प्रयासमा छौं,’ उनले भने, ‘उहाँहरूलाई सम्झाउने प्रयास हुँदै छ, यो समस्या तत्काल समाधान हुनेछ ।’

सर्लाहीमा ३९ हजार हेक्टरमा धान खेती हुने गरेको छ । सोमबारसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । यस वर्ष मौसम अनुकूल भएकाले ठूलो क्षेत्रफलमा रोपाइँ सकिएको ज्ञान केन्द्रका निमित्त प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताए । उनका अनुसार जिल्लाको ब्याड राखिएका र दक्षिणी क्षेत्रका केही खेतमा डुबानका कारण रोपाइँ गर्न बाकी छ । डुबान क्षेत्रबाहेक जिल्लामा यो साताभित्र रोपाइँ सकिने उनले बताए ।

‘सामान्यतया २२ दिनमा रोप्नुपर्ने धानको बेर्ना अन्य वर्ष पानी नपरेर ३०–३५ दिनको भएपछि मात्र रोपाइँ हुन्थ्यो, यो वर्ष भने मौसमकै कारण बेर्ना राखेको २० दिनबाट पनि रोपाइँ भइरहेको छ,’ उनले भने, ‘बेर्ना लगाएको २५ दिनभित्र रोपाइँ भए उत्पादन राम्रो हुन्छ ।’ यस वर्ष उत्पादन बढ्ने आकलन ज्ञान केन्द्रले गरेको छ । गत वर्ष प्रतिहेक्टर ३.२५ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष प्रतिहेक्टर ३.५० सम्म उत्पादन हुने अनुमान छ ।

प्रकाशित : श्रावण ७, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?