कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञामा बढ्यो आत्महत्या

घरेलु हिंसा, बेरोजगारी, कम उमेरमा गरिएको प्रेममा असफलता र नैराश्य मुख्य कारक 
शंकर आचार्य

पर्सा — पर्सामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आत्महत्याका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार, आव २०७६/०७७ मा पर्सामा ९५ आत्महत्याका घटना भएकामा आव २०७७/०७८ मा यस्ता १ सय १८ घटना भए ।

निषेधाज्ञामा बढ्यो आत्महत्या

दुवै वर्ष वैशाखदेखि असार/साउनमा यस्ता घटना बढी भएका छन् । उमेर समूह हेर्दा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले आत्महत्या बढी गरेका छन् । यी महिनाहरूमा दुवै वर्ष लकडाउन थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार घरेलु हिंसा र कम उमेरमा गरिएको प्रेममा असफलताका कारण महिलाले आत्महत्या गर्ने प्रवृत्ति बढी छ । पुरुषहरूमा बेरोजगारी, नैराश्य, साइबर बुलिङका कारण प्रेम सम्बन्धहरू सार्वजनिक हुनेलगायतका कारण आत्महत्याको प्रवृत्ति रहेको उनले बताए । पछिल्लो समय महिला तथा बालबालिकामा बढ्दो आत्महत्याको दरले सबैलाई चिन्तित तुल्याएको छ । सामाजिक अभियन्ता प्रकाश थारू बालबालिका तथा महिलाको समेत बढ्दो आत्महत्याको दरले उनीहरू किन यसतर्फ प्रेरित भइरहेका छन् भन्ने कारण खोज्नुपर्ने बताउँछन् ।

‘व्यक्तिको जीवन नै क्षति एकातिर छ भने अर्कोतर्फ एक व्यक्तिमा परिवार, अभिभावक र राष्ट्रकै थुप्रैखाले लगानी हुन्छ । अनाहकमा वा आवेशमा आएर कसैले आफ्नै ज्यान लिन्छ भने त्यसले उसको परिवार, समाज र राष्ट्रलाई पनि प्रत्यक्ष घाटा भइरहेको हुन्छ,’ उनले भने, ‘त्यसकारण पनि बर्सेनि यस्ता घटना किन बढ्दै छन् भन्ने विषयमा समाजशास्त्रीय दृष्टिकोणले अध्ययन गरी यस्ता घटना न्यूनीकरणको प्रयास चालिनु आवश्यक छ ।’ मानसिक रोग विशेषज्ञ डा. भरत गोइत सहनशीलताको कमी, आत्महत्यालाई निरुत्साहित गर्न सरकारी स्तरबाट कुनै प्रयास नहुनुजस्ता कारणले यस्तो घटना बर्सेनि बढ्दो क्रममा रहेको बताउँछन् । ‘आत्महत्यालाई रोक्ने कुनै सरकारी गृहकार्य र योजना छैन,’ उनले भने, ‘प्रदेश २ मै आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई रोक्न वा सुझाव दिन कुनै सोधपुछ केन्द्र, मानसिक अस्पताल वा टोल फ्रि नम्बर एउटा पनि छैन ।’

मानसिक तनाव भएका तथा लागूऔषध सेवनकर्ताहरूले पनि आत्महत्या गर्ने प्रवृत्ति बढिरहेको उनले बताए । ‘सर्वसाधारणमा डिप्रेसनको समस्या पनि बढ्दै गएको छ,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार संसारकै ४ मध्ये १ जनामा यो समस्या छ ।’ तराई–मधेसका बालबालिका तथा महिलाहरू बढी डिप्रेसनमा हुने, घरेलु हिंसालगायतका कारणले उनीहरू आत्महत्या गर्न उन्मुख हुने गरेको उनले बताए । महिलाहरूलाई मानसिक समस्या हुँदा अझै पनि उनीहरूको उपचार नगर्ने प्रवृत्ति रहेको उनको भनाइ छ ।

एक वर्षमा बलात्कारका ३८ घटना

छिमेकी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा केही दिनअघि ठोरी गाउँपालिका ५ सुवर्णपुरका ४८ वर्षीय सुनीलकुमार परियार पक्राउ परे । उनले असार २८ गते आफ्ना नाबालक छोराहरूसँग घरमा खेल्न आएको बेला ती बालिकालाई जबर्जस्ती गरेका थिए ।

बालिकाको शारीरिक र मानसिक व्यवहारमा अस्वाभाविक परिवर्तन भएको जस्तो लागेपछि असार ३१ गते साँझ उनका अभिभावकले सोधपुछ गरे । बालिकाले आफूमाथि भएको घटनाबारे बताइन् । साउन १ गते पीडित बालिकाका अभिभावकले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले परियारलाई सोही दिन साँझ ६ बजे पक्राउ गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

गत साता नै काठमाडौंबाट बुटवल फर्किने क्रममा पर्साका दुई ट्रकका चालक तथा सहचालकहरूले समेत रुकुमकी विवाहित २० वर्षीया महिलालाई ट्रकमै जबर्जस्ती गरेको घटना सार्वजनिक भयो । बुटवल लगिदिन्छु भन्दै उनीहरूले चितवनबाट ती महिलालाई झुक्याएर वीरगन्जतर्फ ल्याएका थिए । वीरगन्जको सुक्खा बन्दरगाह क्षेत्रमा ल्याएर ट्रक चालकले अलपत्र छोडी दिएको ती महिलालाई प्रहरीले उद्धार गरेको थियो । दुवै ट्रक चालक पक्राउ परेका छन् । उनीहरूका सहचालक र अन्यसमेत गरी चार जना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा जबर्जस्ती करणीका ३८ घटना भएका छन् । अघिल्लो आवमा यस्ता ३९ घटना भएका थिए । गत आवमा जबर्जस्ती करणी उद्योगका ७ घटना भएकामा अघिल्लो आवमा यस्ता ५ घटना भएका थिए । आव २०७७/७८ मा जिल्लामा बालयौन दुरुपयोगका ७ घटना भएका छन् । अघिल्लो वर्ष यस्ता ५ घटना भएका थिए । दुवै आर्थिक वर्षमा अप्राकृतिक मैथुनका १/१ घटना भएका छन् । आव २०७७/७८ मा जिल्लामा जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग र अपहरण तथा जबर्जस्ती करणीका २/२ घटना भएका छन् ।

प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे पछिल्लो समय जबर्जस्ती करणीका घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्छन् । उनले अधिकांश घटनाक्रम हेर्दा चेलीबेटीहरू घरपरिवार र छरछिमेकबाटै पनि जोखिममा परेको पाइएको बताए । यस्ता घटनालाई समाज र पञ्चहरूले गाउँ समाजमै मिलाउने प्रवृत्तिलाई पनि सक्दो निरुत्साहित गरिएको उनको भनाइ छ । ‘जबर्जस्ती करणीका घटनामा पनि पीडित महिला तथा तिनका परिवारजनलाई दबाब दिएर मिलाउने प्रयास हुने गरेको पाइएको छ,’ उनले भने, ‘त्यस्ता घटनामा शून्य सहनशीलता अपनाएर पीडितलाई न्याय र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने हरसम्भव प्रयास गरिएको छ ।’

प्रकाशित : श्रावण ५, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?