कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुर्ख्यौली पेसा छाड्दै पमरिया समुदाय

भरत जर्घा मगर

सिरहा — मिथिला क्षेत्रमा कसैले सन्तान पाए बधाई दिने र दान लिने पुरानै चलन हो । ‘शिशुलाई काख र काँधमा लिएर नचाउने, गीत गाउने तथा नाच देखाएर बधाई दिन आउने र दान लिने’ मिथिला क्षेत्रको यो परम्परालाई पमरिया समुदायले धान्दै आएका छन् । 

पुर्ख्यौली पेसा छाड्दै पमरिया समुदाय

राजा दशरथके चारु ललनमा,

हो आगंनमामे खेलै........

राजा लुटावे अनधन सोनमा

रानी लुटावै हाथके कंगनमा हो

आगंनमामे खेलै.......

पमरियाहरूले गाउने लोकभाका हो, यो । मिथिला क्षेत्रमा बच्चाको छठीहार संस्कार सम्पन्न भएपछि मात्रै बधाई दिन आउने चलन छ । काँधमा ठूलो झोला अनि हातमा ढोलकी र झुनझुना (झ्याली) लगायतका आफ्नै परम्परागत बाजाको तालमा गीत गाउँदै पमरियाहरू मिथिला क्षेत्रका छोरा जन्मेको घरघरमा पुग्ने गर्छन् । तर, बधाई दिने र दान लिने परम्परा भने छोरी जन्मेको घरमा हुँदैन । ‘छोरी आफैं दान लिएर जाने जात भएको भन्दै पमरियाहरू छोरी जन्मेको घरमा बधाई दिन जाँदैनौं,’ ढोलकी र झुनझुनाको तालमा नवजात शिशुलाई नचाउँदै गरेकी सिरहा डुमरीका मुन्नी पमरियाले सुनाइन् ।

लहान नगरपालिका–१० की मुन्नी खातुनको नाति जन्मिएपछि पमरियाहरू बधाई दिन बाजा गाँजासहित नाच्दै गाउँदै पुगेका थिए । यो जानकारी भने उनीहरू गाउँघर घुम्ने क्रममा लिन्छन् । ‘मिथिला क्षेत्रको यो पुरानै परम्परा हो,’ उनले भनिन्, ‘पमरियाहरूले खुसी भएर आशिष दिए राम्रो हुने यदि श्राप दिए लाग्ने विश्वास छ । त्यसैले उनीहरूलाई नाति जन्मिएको खुसियालीमा नगदसहित कपडाहरू दान दिए ।’

उनका अनुसार खेलौना, बधाई, दीर्घजीवन, आमा, देबर, नन्दीलगायतका लोकगीत गाएर समूहमा नाच्ने गर्छन्, पमरिया समुदाय । मुन्नीको समूहमा चार जना छन् । उनीहरूले बढीभन्दा बढी दान नदिएसम्म बच्चालाई नचाएर खेलाइरहने र दान दिन स्वीकार गरेपछि मात्रै बच्चालाई आमाको काखमा दिने गर्छन् । उनीहरूले नगद, कपडा, गरगहना क्षमता र गच्छेअनुसार उपहारमा लिने परम्परा छ ।

‘पमरिया नाच र गीत मिथिला क्षेत्रको लोककला र संस्कृतिका रूपमा रहेको छ,’ लहान क्याम्पसका सहायक क्याम्पस प्रमुख कन्हैया भट्टले भने, ‘तर अहिले यो संस्कृति लोप हुने अवस्थामा छ, यसको संरक्षण गर्नुपर्ने आवश्यत्ता छ ।’ पुस्तौंदेखि निरन्तरता दिँदै आएको पेसाबाट हातमुख जोर्न पनि धौधौ पर्न थालेपछि आफ्नो पेसाबाटै पलायन हुन थालेको पमरियाहरूले गुनासो छ । ‘परम्परागत पेसा गरेर पेट पाल्न सकिँदैन, अरू रोजगारी गर्नका लागि आवश्यक सीप र स्रोतसाधन चाहिन्छ,’ जुग्नी किन्नरीले भनिन्, ‘कहाँ जाऊँ के गरूँको अवस्था सिर्जना भएको छ, हाम्रो अस्तित्व नै मेटिने पो हो कि भन्ने चिन्ताले सताएको छ ।’

तराई मधेसको सिरहा, सप्तरी, धनुषा, महोतरीमा छरिएर रहेको अल्पसंख्यक पमरियाहरू कसैको घरमा बच्चा जन्मेलगत्तै त्यहाँ पुगेर बच्चाको बाबुआमालगायतका आफन्तहरूलाई गीतका माध्यमले बधाई दिँदै लोक गाथा सुनाउँछन् । त्यसबापत घरमूलीले खुसी भएर दिने गरेको नगद, वस्त्र, गहना, अन्नपात र भाँडाकुँडा नै उनीहरूलाई आम्दानी हुने गरेको छ ।

‘झन्डै एक दशकअघिसम्म त्यसरी गीत र नाचगान गर्दा सुनचाँदीको गहनासमेत पाइन्थ्यो,’ ती पुराना दिनहरू सम्झिँदै जुग्नीले भनिन्, ‘अचेल गहना त परै जाओस् अन्नपात र लुगाफाटा पनि पाइँदैन । अलिअलि अन्नपात र साधारण भाँडाकुँडामै चित्त बुझाउनुपरेको छ ।’

प्रायः भूमिहीन रहेका पमरियाको वैकल्पिक रोजगारीको व्यवस्था नभएका कारण जीविकोर्पाजनमा समस्या छ । उनीहरूका अनुसार नेपालमै सबैभन्दा बढी पमरियाको बसोबास सप्तरीको पकरीमा छ तर रोजगारको अवसर नभएका कारण उनीहरू विस्तारै बसाइँ सर्दै गएका छन् ।

प्रकाशित : श्रावण ५, २०७८ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?