१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

शीर्षकविहीन बजेटले विवाद

सन्तोष सिंह

धनुषा — प्रदेश २ को प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रालयगत बजेटमा अबन्डा (शीर्षकविहीन) बजेट हटाउन माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । विनियोजन विधेयकको मन्त्रालयगत बजेटमाथिको छलफल गर्न आइतबार बसेको प्रदेशसभा बैठक विपक्षीले अवरुद्ध गरेको हो ।

शीर्षकविहीन बजेटले विवाद

आर्थिक वर्ष २०७८/७९ को रेडबुकमा मन्त्रालयहरूका अबन्डा रकम राखिएको र मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै योजना खन्याएको विपक्षी सांसदहरूको भनाइ छ । त्यसैले मन्त्रालयगत बजेटमा शीर्षकसहित विनियोजन गर्नुपर्ने र ६४ वटै प्रदेश निर्वाचन क्षेत्रमा समानुपातिक योजना राख्नुपर्ने उनीहरूले माग गरेका छन् ।

प्रदेशसभा अवरुद्ध भएपछि आइतबार मुख्यमन्त्री लालबाबु राउतले दलका नेता र सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा सहभागी माओवादी केन्द्रका सचेत दिलीप साहले चालु आर्थिक वर्षको असारमा मन्त्रालयहरूले अबन्डा बजेट रकमान्तर गरी मनपरी खर्च गरेको बारे छानबिन गर्न अनुगमन समिति गठन र आर्थिक वर्ष २०७८/७९ को बजेटमा समानुपातिक बजेट वितरण गर्नुपर्ने विषयमा छलफल केन्द्रित भएको बताए । अनुगमन समितिले संसदीय विकास कोषको काम र मन्त्रालयबाट अन्तिम समयमा रकमान्तर गरी भएको कामको स्थलगत अनुगमन गरी प्रतिवेदन बुझाउनेबारे छलफल भएको उनले जानकारी दिए ।

सांसद साहले प्रदेश सरकारको बजेट विकासका लागि नभएर स्वार्थ पूरा गर्ने खालको रहेको आरोप लगाए । ‘प्रदेश सरकारको रेडबुक मन्त्रीले आफ्ना योजनाहरूले मात्रै भरेका छन्,’ उनले भने, ‘मन्त्रीको मात्रै योजना राखिएको यो कालो बुक हो । अबन्डा किन ? भ्रष्टाचार गर्ने हो ? भ्रष्टाचारको साक्षी हामी बस्दैनौं । मन्त्रीलाई मनपरी ढंगले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याउने अधिकार कसले दियो ?’

एमाले र माओवादीका सांसदहरूले रेडबुक संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने बताएका छन् । एमालेका सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट असन्तुलित रहेको आरोप लगाए । ‘प्रदेश सरकारको बजेट जिल्ला विकास समितिको भन्दा पनि तल्लो स्तरको छ । प्रदेशमा नभएर एउटा नगरपालिका र एक निर्वाचन क्षेत्रमा सीमित छ । जनताको अधिकारमाथि कुठाराघात भएको छ,’ उनले भने ।

विपक्षी दलका सांसदहरूले प्रदेशसभा बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोजकुमार यादवले १ घण्टाका लागि स्थगित गरेको बैठक सहमति नहुँदा सोमबारसम्मका लागि स्थगित भएको हो ।

प्रकाशित : असार २८, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?