कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपक्षी दलद्वारा प्रदेशसभा बैठक अवरुद्ध

रेडबुक संशोधन गरी समानुपातिक बजेटको माग
सन्तोष सिंह

धनुषा — प्रदेश २ सरकारले रेडबुकमा मन्त्रीमुखी योजना मात्रै राखेको भन्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । रेडबुक संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने एमाले र माओवादी केन्द्रका सांसदले अडान राखेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।

विपक्षी दलद्वारा प्रदेशसभा बैठक अवरुद्ध

आइतबार प्रदेशसभा बैठक सुरु हुनासाथ एमाले र मोओवादी केन्द्रका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका हुन् । नेकपा एमालेका प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट सन्तुलित नभएको आरोप लगाए । ‘बजेट कुन ध्येयबाट आएको छ । प्रदेश सरकारको बजेट जिल्ला विकास समितिकोभन्दा पनि तल्लो स्तरको छ । बजेट प्रदेशको नभएर एउटा नगरपालिका र एक निर्वाचन क्षेत्रमा सीमित छ ', उनले भने, ‘जनताको अधिकारमाथि कुठाराघात भएको छ । बजेटले प्रदेशको विकास सम्भव छैन ।’ प्रदेश सरकारले प्रकाशित गरेको पुस्तक रेडबुक नभएर ब्ल्याकबुक भएको टिप्पणी गरे । बजेट सुधार नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने उनले चेतावनी दिएका छन् ।

प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रदेश सांसद दिलिप साहले प्रदेश सरकारको बजेट विकासका लागि नभएर स्वार्थ पूरा गर्न ल्याएको आरोप लगाए । ‘प्रदेश सरकारको रेडबुक मन्त्रीले आफ्ना योजनाहरुले मात्रै भरेका छन्,’ सांसद साहले भने, ‘मन्त्रीको मात्रै योजना राखिएको यो कालो बुक हो । अबण्डा किन ? भ्रष्टाचार गर्न हो ? भ्रष्टाचारको साक्षी हामी बस्दैनौं । मन्त्रीले मनपरी ढंगले आफनो क्षेत्रमा बजेट मात्रै खन्याउने अधिकार कस्ले दियो ?’ अर्थमन्त्रीले भ्रष्टाचार गर्ने शीर्षकहरुमा मात्रै बजेट आफ्ना निर्वाचन क्षेत्रमा राखेको आरोप लगाए । समानुपातिक र सन्तुलित ढंगले ६४ वटै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्न प्रदेश उनले माग गरेका छन् । मन्त्री केन्द्रित बजेट मान्य नहुने बताउँदै समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने उनले बताए ।

विपक्षी दलका सांसद उभिएर प्रदेशसभा बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोजकुमार यादवले बैठक एक घण्टाका लागि स्थगित गरेका छन् । आइतबार प्रदेशसभा बैठकमा मन्त्रालयगत बजेटमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित : असार २७, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?