दशगजामै गुजमुज्ज बस्ती- प्रदेश २ - कान्तिपुर समाचार

दशगजामै गुजमुज्ज बस्ती

त्रिभुवननगर–सोनवर्षा नाकामा सीमापिलर छेउमै भारतीयको घर
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको नेपाल–भारत सीमास्थित दशगजाको अधिकांश भागमा स्थानीयले गुजमुज्ज घर–टहरा बनाएर बस्दै आएका छन् । ५१ किलोमिटर दशगजा रहेको सर्लाही खण्डमा झन्डै दर्जन स्थानको सीमामा अव्यवस्थित बसोबास छ । दशगजामा कतै नेपाल पक्षले त कतै भारतीय पक्षले स–साना टहरा बनाएर बस्दै आएका छन् भने कतै वर्षौंदेखि जंगे पिलर नै लडिरहेको अवस्थामा छ ।

सर्लाहीको विष्णु गाउँपालिकास्थित सिमरा फेनहारास्थित दशगजामा ठड्याइको पिलरको बीचमा बनाइएको घर टहरा । तस्बिर : ओमप्रकाश ठाकुर/कान्तिपुर


जिल्लाको पूर्वी क्षेत्रमा पर्ने त्रिभुवननगर–सोनवर्षा नाकामा पर्ने दशगजामा भारतीय पक्षले पिलर छेउमै घर बनाएका छन् । त्यहीँ छेउमा बजारसहित एसएसबीको पोस्ट छ । स्थानीयका अनुसार भारतीय बजार सोनवर्षाका उत्तरतिरको केही भाग दशगजामा पर्छ । दशगजा क्षेत्रभन्दा बाहिर नेपालतर्फ पुर्खौंदेखि एक मन्दिर स्थापना गरिएको छ । त्यसभन्दा उत्तर झिम खोला र वारि नेपालको त्रिभुवननगर बस्ती छ । दशगजाभन्दा वरै रहेको मन्दिरको पुनर्निर्माणमा भारतीय पक्षले अवरोध गर्दै आएको समन्वय समिति सदस्य रामदुलार रायले बताए । उनका अनुसार नेपाली भूमिमा रहेको मन्दिर भारतीय एसएसबीको अवरोधका कारण जीर्णोद्धार हुन सकेको छैन ।

मन्दिरभन्दा वर नेपाली पक्षले स्थायी स्वागत गेट निर्माण गरिरहेका छन् । सुरुवातमै एसएसबीले गेट निर्माणको काम रोक्न आग्रह गरे पनि नेपाली पक्षले मानेका छैनन् । नेपालीले दशगजाभन्दा केही मिटर वरै रहेको भन्दै गेट निर्माणको काम अघि बढाइरहेका छन् । ‘त्रिभुवननगर–सोनवर्षा सीमाको दशगजा छेउमै भारतीय पक्षले घरटहरा निर्माण गरेर बसेका छन्, त्योभन्दा वरै हाम्रो पुर्खाले स्थापना गरेका मन्दिरको जीर्णोद्धारमा भारतीय फौजले अवरोध गर्दै आएका छन्,’ रायले भने, ‘झन् मन्दिरभन्दा वरै रहेको स्वागत गेट निर्माण रोक्नुपर्‍यो भनेर आएका थिए तर हामीले मानेका छैनौं ।’

मुख्य नाका रहेको मलंगवा–सोनवर्षा चोकमा पनि पिलर छेउमै भारतीय बजार छ । त्यहाँ दशगजामै भारतीय पक्षले स्वागत गेट निर्माण गरेका छन् । पिलर छेउमै भारतीय पक्षले कस्टम अफिसको समेत स्थापना गरेको छ । केही वर्षअघि नेपाली पक्षले दशगजावरै स्वागत गेट निर्माण गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले रोक लगाएको थियो । त्यसपछि नेपाली पक्षले केही मिटर वरै पुनः गेट निर्माण गरेको हो । नागरिक समाजका अध्यक्ष उग्रकान्त झाले दशगजामा पिलर देखिए पनि भारतीयले आनो रहेको दाबी गर्दै बसिरहेको बताए । ‘नेपाल–भारत दशगजामा दुवै देशका नागरिकले अव्यवस्थित बसोबास गरिरहेका छन्,’ उनले भने, ‘दुवै देशका नापी विभाग र प्रशासनिक तवरबाट यो समस्या समाधान गरिनुपर्छ ।’

सदरमुकाम मलंगवा नगरपालिका–५ भाँडसरस्थित दशगजामा पनि दुवै देशका नागरिकले घरटहरा बनाएर बस्दै आएका छन् । स्थानीय समसुल हकले भारतीय पक्षले दशगजामा छाप्रो बनाएर बढाउँदै लगेको बताए । उनका अनुसार नापी विभागको लापरबाहीले पहिलादेखि बस्दै आएको भाँडसर बस्तीको दक्षिणी भाग दशगजामा मिलाइदिएको छ । समसुलले नियमन गर्ने निकायको कमजोरीका कारण भारतका स्थानीयले दशगजामा घरटहरा निर्माण गरेर बस्दै आएको जानकारी दिए ।

विष्णु गाउँपालिकास्थित सिमरा फेनहारा नाकाको दशगजामै फेनहारा बजार छ । यहाँको दशगजा पनि दुवै पक्षका नागरिकले अतिक्रमण गरेर बसेका छन् । यहाँ दशगजा अतिक्रमण पर्नुका साथै पिलरको बीचमा पनि एकलाइनले टहरो निर्माण गरिएको छ । पिलरको बीचमा रहेको पसल तथा टहराको दुई पौवा नेपालस्थित दशगजामा तथा दुई पौवा भारतस्थित दशगजामा रहेको छ । यो बजार यहाँका स्थानीयको पुस्तैनी बजार हो ।

बलरा क्षेत्रको दशगजामा भने नेपाली पक्षले नै उपभोग गर्दै आएका छन् । स्थानीयले परालको टौवा राख्ने, कृषि कर्मका लागि पनि यो भूमिलाई उपयोग गर्दै आएका छन् । गोडैता नगरपालिकास्थित मधुवनीमा रहेको दशगजाको ३३७ नम्बरको पिलर ढलेको ६ वर्षभन्दा बढी भइसक्दा पनि यो ठड्याइएको छैन । नियमन गर्ने निकायको लापरबाहीका कारण सीमा स्तम्भ नठड्याइएको स्थानीयको आरोप छ । मधुवनीका स्थानीय सुरेन्द्र कुशवाहाले सीमा स्तम्भ जस्तो संवेदनशील कुरालाई सरकारी तवरबाट बेवास्ता हुँदै आएको बताए ।

केही दिनअघि मात्र प्रदेश प्रमुख राजेश झासहितको टोलीले सीमाको स्थलगत अवलोकन गरेको थियो । टोलीले पनि दशगजामा नेपाल र भारत दुवै पक्षका स्थानीयले स–साना टहरा बनाएर बसेको र पिलर लडेको अवस्थामा भेटेको थियो ।

प्रकाशित : असार २६, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्

रकम छुट्याइन्छ, काम हुँदैन

अघिल्ला दुई आर्थिक वर्षमा साइकल लेनका लागि विनियोजन गरेको झन्डै ४ करोड रूपैयाँ फ्रिज
राजबहादुर शाही

मुगु — कर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारामा चक्रपथ (साइकल लेन) निर्माणका लागि प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि काम नभई फ्रिज हुने गरेको छ । प्रदेश सरकारले अघिल्ला दुई आर्थिक वर्षमा साइकल लेन निर्माणका लागि विनियोजन गरेको झन्डै ४ करोड रुपैयाँ फ्रिज भएको छ ।

कर्णालीको प्रमुख पर्यटकीय स्थल राराताल वरिपरि चर्दै पशुचौपाया । कोरोनाका कारण पर्यटक नआउँदा रारा क्षेत्र चरनस्थलका रूपमा परिणत भएको छ । तस्बिर : राजबहादुर/कान्तिपुर

ढिलो गरी बजेटको अख्तियारी पठाइँदा बजेट फ्रिज हुने गरेको हो । चालु आर्थिक वर्षमा एक किमि चक्रपथ निर्माणका लागि वन डिभिजन कार्यालयमार्फत २ करोड ८८ लाख रुपैयाँ बजेट छुट्याइएको छ । तर असार तेस्रो सातासम्म मुस्किलले ४० प्रतिशत काम मात्र भएको छ । यो वर्ष शंकर/मालिका निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिइएको कार्यालयले जनाएको छ । कोरोना महामारीको निहुँ बनाउँदै कम्पनीले साइकल रोड निर्माणमा ढिलाइ गरेको हो । यो वर्ष आएको बजेटबाट करिब १० प्रतिशत रकम निर्माण कम्पनीलाई भुक्तानी दिइसकिएको छ ।

यो वर्ष पनि पूरै काम नहुँदा बजेट फ्रिज जाने जोखिम बढेको कार्यालयका सव–इन्जिनियर गोरासिह बडुवालले बताए । उनका अनुसार ठेकेदार कम्पनीले साइकल लेन निर्माणका लागि असार ३० गतेसम्मको समय मागेको छ । अहिलेसम्म एक किमि मात्र ट्र्याक खन्ने काम सकिएको छ भने पर्खाल र नहर निर्माणको काम जारी छ । ठेकेदार कम्पनीले ब्लक खरिद गरिसकेको उनले जनाए ।

३ वर्षभित्र रारामा साइकल लेन निर्माण गर्ने भन्दै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा डीपीआर तयार गरेको थियो । तर अघिल्ला दुई वर्षको सबै रकम फ्रिज गएपछि यो वर्ष मात्र काम भएको हो । राराताल वरिपरि १३ किमि लम्बाइ र ३ मिटर चौडाइको साइकल लेन निर्माण गर्ने गरी डीपीआर निर्माण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १३ किमि साइकल लेन बनाउन ४२ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

असार मसान्तभित्र यो वर्षको काम सक्ने गरी निर्माण कम्पनीले समय मागेको डिभिजन वन प्रमुख भरतबहादुर बुढाथापाले बताए । ‘कोरोनाका कारण निर्माण सामग्री ढुवानीमा समस्या भयो, दक्ष कामदार पनि पाइएन,’ उनले भने, ‘असार ३० गतेसम्म पनि काम पूरा नभए केही बजेट फ्रिज जानेछ ।’

रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई साइकलमार्फत तालवरिपरि घुमाउन चक्रपथ निर्माणको योजना अघि सारिएको हो । उनले बजेटको अख्तियारी समयमै प्राप्त नहुनु, ठेक्का प्रक्रियामा ढिलाइ हुनु, ठेकेदारले काम नगर्नुलगायतका कारण बजेट फ्रिज जाने गरेको बताए ।

प्रकाशित : असार २६, २०७८ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×