कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आरोप–प्रत्यारोपमा जनप्रतिनिधि

धनुषा — सर्वोच्च अदालतको आदेशपछि पुनः जिम्मेवारी सम्हालेका सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकले गाउँपालिकाका उपाध्यक्षले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । सर्वोच्चको आदेशपछि गाउँपालिकामा शक्ति प्रदर्शन गर्दै फारुकले गाउँपालिका उपाध्यक्ष नागिनादेवी यादवले माओवादी केन्द्रका नेताहरूसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरिरहेको बताएका हुन् । 

आरोप–प्रत्यारोपमा जनप्रतिनिधि

फारुकले गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित भएपछि ३ वर्षसम्म कुनै पनि विकास निर्माणको काम गर्न नदिएर माओवादीका नेताहरूले अवरोध गरेको र नेताहरूलाई छोडेर विकास निर्माणको काम सुरु गर्दा जालझेल गरी पदमुक्त गर्न खोजेको आरोप लगाए । बाँकी रहेको एक वर्षमै जनतालाई महसुस हुने गरी काम गर्ने उनी बताउँछन् ।

गत शुक्रबार सर्वोच्चको आदेशपछि आइतबार पदभार सम्हालेका अध्यक्ष फारुकले आफूलाई असफल बनाउन स्थानीय नेताहरूले चलखेल गरेको आरोप लगाए । ‘माओवादी कार्यकर्ता थिएँ, माओवादी नै रहनेछु,’ उनले भने, ‘मलाई माओवादी पार्टीले कारबाही गरेको होइन । सम्सी गाउँपालिकाकै नेताहरू मलाई असफल बनाउन चलखेल गरेका छन् ।’

सम्सीको विकास हुन नदिन र निर्वाचित जनप्रतिनिधिलाई असफल बनाउने खेलविरुद्ध स्थानीयको सहयोग आवश्यक रहेको उनले बताए । काम गर्न खोज्दा नगरसभाविरुद्ध अदालतमा मुद्दा हाल्न लगाउने, वडालाई दिएको बजेट खर्च नगर्ने र पदच्युत गर्न चलखेल गर्ने जस्ता काम भएको फारुकको भनाइ छ । उनले आम नागरिकको मद्दतले सम्सीको विकास गरी फेरि पनि चुनाव जितेर देखाउने चेतावनीसमेत दिए । फारुकको विजयी उत्सवमा वडाध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए ।

अध्यक्ष फारुकलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगरी नियमित काम गर्न शुक्रबार सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । अध्यक्ष फारुकले पदबाट राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको एवं आफैं वा निजसमेत संलग्न भई अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएको सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित : असार २४, २०७८ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?