कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीआरबिनै शिलान्यास

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान ५ वर्षमा निर्माण गर्ने लक्ष्य
अवधेशकुमार झा

राजविराज — रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार राजविराजमा निर्माण हुने भएको छ । पूर्वाधार निर्माणका लागि डीपीआर नै नभएको योजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारबाट भर्चुअल विधिमार्फत शिलान्यास गरेका छन् । 

डीपीआरबिनै शिलान्यास

२०७५ पुस १६ को मन्त्रिपरिषद् बैठकले राजविराजमा रामराजाप्रसाद सिंहको स्मृतिमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । निर्णयको केही समयपछि प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रतिष्ठान निर्माणको प्रतिबद्धता दोहोर्‍याएका थिए । पूर्वाधार निर्माण सुरु नै नहुँदा प्रतिष्ठान बन्ने/नबन्ने अन्योल थियो ।

सरकारी निर्णयको केही दिनमै राजविराज नगरपालिकाले १० नम्बर वडाको विरौलमा प्रतिष्ठान निर्माणका लागि ६२ बिघा जग्गा दिने निर्णय गरेको थियो । आवश्यक निर्णयका लागि भूमिसुधार मन्त्रालयमा कागजात पठाए पनि लामो समयससम्म जग्गासम्बन्धी फाइल भूमिसुधार मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकमा पुग्न सकेको थिएन । गत जेठ ३१ को मन्त्रिपरिषद् बैठकले नगरपालिकाको जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेसँगै निर्माणको शिलान्यास गरिएको हो । ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा हुने निर्माणको काम ५ वर्षभित्र पूरा हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिका निर्देशक डा. रञ्जितकुमार झाले बताए ।

खाँडो नदीको किनारमा प्रतिष्ठान निर्माणस्थल रहेकाले नदीको व्यवस्थापनसँगै आवश्यक पूर्वाधार तयार पारेर मात्रै शिलान्यास हुनुपर्नेमा हतारमै शिलान्यास गरिएको छ । शिलान्यास गर्दैर् प्रधानमन्त्री ओलीले जग्गा प्राप्तिसँगै डिजाइन बनेको र बजेटको पनि व्यवस्था भएको दाबी गरे । तर आगामी आर्थिक वर्ष प्रतिष्ठानका लागि सरकारले साढे १० करोड बजेट मात्र छुट्याएको छ । प्रतिष्ठानको डीपीआरका लागि मात्र १५ करोड खर्च हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको थियो । जग्गासम्बन्धी विषय नटुंगिँदा उक्त रकम खर्च हुन नसकी फ्रिज भएको थियो । फेरि चालु आर्थिक वर्षमा सरकारले प्रतिष्ठानका लागि ११ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

दोस्रो चौमासिकसम्म रकम माग गर्न नसकेपछि अर्थ मन्त्रालयले प्रतिष्ठानका लागि विनियोजित ११ करोड रुपैयाँबाट साढे ६ करोड रकमान्तरण गरी अन्य योजनामा लगायो । बाँकी रकम प्रतिष्ठानको सहयोगी अस्पतालका रूपमा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको पूर्वाधार निर्माणमा खर्चिनेछ ।

‘स्थानीयस्तरबाट हुने सहयोगमा कुनै कसर बाँकी राख्ने छैनौं,’ राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले भने, ‘संघीय सरकारले पनि इमान्दारीपूर्वक बजेट विनियोजन गरेर तोकिएको समयमै प्रतिष्ठान निर्माणको काम सम्पन्न गराउनुपर्छ ।’ प्रधानमन्त्री ओलीले प्रतिष्ठानको काम तोकिएको समयमै गुणस्तरीय रूपमा हुने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : असार २३, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?