३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

वाग्मती नदीमा पानीको सतह खतरामाथि

शिव पुरी

रौतहट — लगातारको वर्षा पछि वाग्मती नदीमा आएको बाढीले खतराको सतह पार गरेको छ । वाग्मतीमा पानीको सतह बढेपछि नदी क्षेत्रको गाउँका मानिसलाई सुरक्षित बस्न भनिएको छ । बाढीको सतह कम भएको छैन ।

वाग्मती नदीमा पानीको सतह खतरामाथि

जिल्ला प्रशासनले पनि पानीको सतहले खतरा पार गरिसकेकोले सतर्क भएर बस्न अनुरोध गरेको छ ।

प्रशासनका अनुसार बिहीबार दिउँसोसम्म वाग्मती नदीको बहाव ६ सय ५० मिलिलिटर प्रति सेकेन्ड रहेको छ । सामान्यतय वाग्मतीमा ५ सय मिलिलिटर प्रति सेकेन्ड खतरको लेभल भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘सतहको लेबल जति हुनुपर्ने हो त्योभन्दा नाघिसक्यो,’ उनले भने, ‘अब सतर्क हुनुको विकल्प छैन् । यो खतराको संकेत हो ।’

अपराहृनसम्म पानीको सतह घटेको छैन । चुरे क्षेत्रमा लगातार वर्षा भइरहेकोले खतरा टरिनसकेको प्रजिअ यादवले बताए । वाग्मती नदीको पश्चिमतिर बाँध छ । उक्त बाँध यसपटक मर्मत गरिएको छ । नदीमा पानीको सतह बढे पनि बाँधको सतहभन्दा कम रहेकाले तत्काल बाढी गाउँ पस्ने जोखिम नभएको प्रजिअ यादवले बताए ।

प्रशासनले बिहानदेखि तटीय क्षेत्रका मानिसलाई नदी छेउमा नजान र सचेत भएर बस्न आग्रह गरेको छ । वाग्मतीमा पानी बढ्न थालेपछि बाँधको आडैमा बसेकाहरु त्रासमा छन् । गत वर्ष बस्ती डुबानमा परे पछि बाँधमा आश्रय लिएर बसेका थिए । अहिले उस्तै अवस्था आउन सक्ने भन्दै स्थानीय त्रासमा परेका हुन् ।

बाढीको बेला नदीमा बगाएर ल्याएका दाउरा टिप्ने, माछा मार्ने, नदी आसपास रहेका खेतमा काम गर्न जाँदा दुर्घटनाको जोखिममा पर्ने भन्दै प्रशासनले जोखिमयुक्त क्रियाकलाप नगर्न अनुरोध गरेको छ । वाग्मती नदीमा आउने बाढीले गौर, दुर्गाभगवती, गढीमाई, राजदेवी लगायतका नगरपालिकाका दर्जनौं गाउँहरु डुबानमा पार्दै आएको छ । वाग्मतीको बाढीले गत वर्ष बाँधमा क्षति पुर्‍याएपछि यस वर्ष मर्मत गरिएको छ । दुई दिनदेखिको वर्षासँगै वाग्मती, लालबकैया, चाँदी, झाझ नदीमा पानीले सतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासनले अनुरोध गरेको छ । यता लालबकैया नदीमा साढे ५ फिट अग्लो बाढी आएको प्रशासनले जनायो ।

प्रकाशित : असार १७, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?