कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

काठ तस्करी बढ्यो

पर्सा — निषेधाज्ञामा पर्साका राष्ट्रिय वनमा तस्करको सक्रियता बढेको छ । डिभिजन वन कार्यालय पर्साका प्रमुख फरमान मियाँले तीनवटा पालिकाअन्तर्गतको राष्ट्रिय वनमा तस्कर बढी सक्रिय पाइएको बताए ।

‘पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका र वीरगन्ज महानगरपालिका ३१ अन्तर्गतको राष्ट्रिय वन क्षेत्रमा तस्कर बढी सक्रिय भएको पाइएको छ, विशेषगरी पर्सागढी नगरपालिकाको मनवा र वीरगन्ज महानगरपालिकाको सोलखपुर क्षेत्र बढी संवेदनशील छन्,’ उनले भने, ‘यी पालिकाभन्दा पश्चिमतर्फ अन्य पालिकामा पनि राष्ट्रिय वन छ, तर तिनमा तस्करको सक्रियता तुलनात्मक रूपमा कम छ ।’

मियाँका अनुसार, निषेधाज्ञा सुरु भएकै दिनदेखि वन तस्कर पक्राउ पर्ने थालेका छन् । कार्यालयको तथ्यांकअनुसार, जिल्लामा निषेधाज्ञा सुरु भएकै दिन वैशाख १६ गते २ वन तस्कर ८.८४ घन फिट काठसहित पक्राउ परे । यो मुद्दामा १ तस्कर फरार छन् । उनीहरूको साथबाट एकथान साइकलसमेत बरामद भएको छ । जेठ १४ गते २६.६० घन फिट काठसहित १ तस्कर पक्राउ परे । उनको गिरोहका अन्य ३ तस्कर फरार छन् । उनीहरूको साथबाट ३ थान साइकलसमेत बरामद भएको वन कार्यालयले जनाएको छ ।

जेठ २८ गते १७.५७ घन फिट काठसहित १ वन तस्कर पक्राउ परे । उक्त गिरोहका अन्य चार फरार छन् । उनीहरूको साथबाट १ थान साइकलसमेत बरादम भएको छ । जेठ ३० गते ९.५३ घन फिट काठसहित तस्कर पक्राउ परे । उनको साथबाट एकथान आरासमेत बरामद भएको छ । निषेधाज्ञाको समयमा वन गस्ती कम हुने बुझेका तस्करहरू वन तस्करीमा बढी सक्रिय भएको हुन सक्ने मियाँ बताउँछन् । ‘तर यो समय झनै संवेदनशील भएका वन गस्ती र निगरानी झनै बढाएका छौं,’ उनले भने, ‘त्यसअनुरूप तस्करहरू पनि धमाधम पक्राउ परेको छ । उनीहरूको गिरोहका अन्य कतिपय सदस्य पक्राउ परिने डरले अझै फरार छन् ।’

चालु आर्थिक वर्षमा सोमबारसम्ममा २६ वटा काठ तस्करी मुद्दामा ६७ वन तस्कर प्रतिवादी रहेको र उनीहरूको साथबाट २ सय ८५.०४ घन फिट काठ बरामद भएको उनले बताए । पर्सामा तुलनात्मक रूपमा निकुञ्जभन्दा राष्ट्रिय वन कम छ । जिल्लाको उत्तर–पश्चिमी भेगमा पर्सा राष्ट्रिय निकुञ्ज र पश्चिमी भेगमा चितवन राष्ट्रिय निकुञ्जले जिल्लाको वनको ठूलो हिस्सा ओगटेका छन् ।

प्रकाशित : असार १७, २०७८ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×