कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विषादीयुक्त आँप बजारमा

रौतहट — स्वास्थ्यलाई हानि–नोक्सानी पुर्‍याउने कार्बाइड प्रयोग गरेर पकाइएको आँप रौतहटका बजारमा निर्बाध बिक्री भइरहेको छ । बगैँचामा आँप ढिलो पाक्ने भएपछि व्यापारीले काँचो टिपेर पकाउन औषधि प्रयोग गर्छन् । यसरी पकाइएको आँप हेर्दै खान मनलाग्ने खालको देखिन्छ ।

विषादीयुक्त आँप बजारमा

चन्द्रनिगाहपुर, गरुडा, शिवनगर, गौर, कटहरिया, समनपुरलगायत मुख्य बजारमा एक महिनादेखि औषधि प्रयोग गरिएको आँप बिक्री भइरहेको छ । बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर बजारमा बिक्री गर्न थालेका हुन् । आँप हेर्दा बोटमै पाकेकोजस्तै देखिन्छ । यो खाएपछि मात्र औषधि प्रयोग भएको भन्ने थाहा हुन्छ । खाएको केही समयमा मुख चिलाउने र कोक्याउने गर्छ । चन्द्रगिाहपुरका एक व्यापारीले लहानबाट काचो आँप खरिद गरी कार्बाइड हालेर पकाएर बिक्री गरेको सुनाए । ‘बगैँचामा अहिले आँप पाकेकै छैनन् । बजारमा ग्राहकले खोज्न थाले,’ उनले भने, ‘औषधि हालेर राखेपछि चाँडै पाक्छ । अहिले मूल्य पनि राम्रो पाइन्छ ।’ औषधि हालेर पकाइएको आँप खाँदा वाकवाक लाग्ने, पखाला लाग्ने र मुख चिलाउने गरेको आँपका पारखीहरू बताउँछन् । चन्द्रनिगाहपुरका राम न्यौपानेले बजारमा पाइने आँप खाँदा दुई दिनसम्म पखाला चलेको बताए ।

व्यापारीहरूले बाहिरबाट प्रतिकेजी ४०/५० रुपैयाँका दरले काँचो आँप ल्याउँछन् । औषधि प्रयोग गरेर पाकेपछि ८० देखि १ सय रुपैयाँसम्ममा बिक्री गर्छन् । औषधि प्रयोग गरेको खाँदा स्वास्थ्यका लागि हानिकारक हुने चन्द्रपुर अस्पतालका डाक्टर सुभास चौधरीले बताए । ‘कार्बाइड प्रयोग गरिएको आँप खाँदा स्वास्थ्यमा प्रतिकूल असर पर्छ,’ उनले भने, ‘सकेसम्म यस्ता आँप खानु हुन्न । कार्बाइड प्रयोग गरिएको आँप खाँदा पेट दुख्ने, वान्ता हुने, छालाको रोगलगायत स्वास्थ्य समस्या हुन्छ ।’

स्थानीय व्यापारीले किसानको काँचो आँपको बगैँचा नै किन्ने गर्छन् । त्यसपछि गोदाममा ल्याएर औषधि छर्केर राख्छन् । यसरी राखेको आँप १/२ दिनमै पाक्छ । यो हेर्दा पहेलो र आकर्षक हुन्छ । बगैँचामा पाकेको आँप बजारमा आउन अझै दुई साता लाग्ने स्थानीय व्यापारी बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले औषधि प्रयोग गरिएको आँप बिक्री भएको गुनासो आएकोले बजार अनुगमन गर्ने बताए । ‘औषधि प्रयोग भएको प्रमाणित भयो भने कारबाही गर्छौं,’ उनले भने ।

प्रकाशित : असार ६, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?