कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

सर्लाहीको ब्रह्मपुरीमा चार दिनमा ८ जनाको मृत्यु

तीन जनाको उपचार चल्दै, भिसेरा रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पत्ता लाग्ने
ओमप्रकाश ठाकुर

सर्लाही — चार दिनको बीचमा यहाँ तीन भारतीयसहित आठ जनाको मृत्यु भएको छ । भारतसँग सीमा जोडिएको सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियाका ६० वर्षीय रामईश्वर पासवान, ५० वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दासको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, भारत उत्तर प्रदेशका ३५ वर्षीय दताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि मृत्यु भएको छ ।

उनीहरू सबैलाई बान्ता आउने, बेहोस हुने लक्षण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले जानकारी दिए । राउतका अनुसार गाउँमा रहेको इँटा उद्योगमा कार्यरत एक मजदुरलाई गत शुक्रबार विषालु जीवले टोकेको अनुभूति भएपछि उनलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा ज्यान गयो । उनको साथमा अस्पताल गएका अर्का व्यक्ति पनि अचानक बेहोस भएर लडेकोमा उपचार गर्दागर्दै उनको पनि मृत्यु भएको थियो । भारतीय रामलाई पनि उस्तै लक्षणपछि अस्पताल लगिएकोमा त्यहीं ज्यान गएको थियो ।

रामईश्वर र दिनकरको शनिबार, कैलुको आइतबार तथा जुगेश्वर र बलिन्द्रको सोमबार बिहान मृत्यु भएको राउतले बताए । अझै तीन जनाको उपचार भइरहेको छ । विषाक्त मदिरा सेवनको आशंका गरिए पनि ठोस कारण भने खुल्न नसकेको राउतले बताए । घटना प्रकाशमा आएसँगै सोमबार स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तर्फबाट डा. किरण बास्तोला, जिल्ला अस्पतालबाट डा. अविनाशकुमार सिंहसहित स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोली गाउँ पुगेर उनीहरूको मृत्युबारे जानकारी लिएको थियो 

मृतकमा कोरोनाको लक्षण नदेखिए पनि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको एन्टिजेन र पीसीआर परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवलकिशोर झाले बताए । ‘मृत्युको कारण जान्न मृतकको भिसेरा परीक्षणका लागि नमुना फरेन्सिक ल्याब काठमाडौं पठाएका छौं, बिरामीसँग पनि सोधखोज गरिरहेका छौं,’ उनले भने, ‘त्यसैले मृत्युका कारण अहिले नै भन्न सक्ने अवस्थामा छैनौं ।’

ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले सीमा क्षेत्रमा अवैध रूपमा खोलिएको मदिरा पसलमा विषाक्त मदिरा सेवन गर्दा ज्यान गएको हुन सक्ने आशंका गरे । ‘एउटै पसलमा गएर मदिरा सेवन गरेकाहरूको मृत्यु भएको छ, केही बिरामी पनि परेका छन्, त्यसैले मदिरामा नै विषाक्त मिसिएको हो कि भन्ने आशंका छ,’ उनले भने, ‘यसअघि आफूले मदिरा पसल तथा यसको भारतमा पैठारी रोक्न पहल गरे पनि कसैले साथ दिएनन् ।’

प्रकाशित : असार ४, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?