कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला अस्पताल पर्साको सधैं बेहाल

उपकरण भए पनि चलाउनलाई जनशक्ति छैन, बजेट खर्च र काम नहुने समस्या
शंकर आचार्य

पर्सा — भव्य संरचना र आवश्यक उपकरण हुँदा पनि जिल्लाको दोस्रो सदरमुकाम मानिने पोखरिया नगरपालिकास्थित जिल्ला अस्पताल अस्तव्यस्त छ । हाल अस्पतालको २ तल्ले भव्य भवन छ ।

जिल्ला अस्पताल पर्साको सधैं बेहाल

अझै तेस्रो तल्लासमेत थपिँदै छ । तर कोरोनाको दोस्रो लहरमा कोभिड अस्पतालको रूपमा सञ्चालन गरिएको यो अस्पतालप्रति जनविश्वास देखिएन । यो भेगका थुप्रै कोभिड संक्रमितले यहा भर्ना नभई सदरमुकाम वीरगन्जका सरकारी तथा निजी अस्पतालमा उपचार गराएका थिए ।

अस्पतालका कोभिड फोकल पर्सन कृष्ण पटेलका अनुसार कुल २५ शय्या राखिएकोमा कोभिड दोस्रो लहरमा जम्मा ४० जना भर्ना भए । तीमध्ये १५ शंकास्पद बिरामी थिए भने २५ पुष्टि भएका संक्रमित थिए । २५ मध्ये ५ जनालाई अस्पतालले रेफर गरेको थियो । २० संक्रमित निको भएर घर फर्के । शनिबार नै अन्तिम २ संक्रमित निको भएर घर फर्केको पटेलले बताए । जिल्लाको मध्यमा रहेको तथा ग्रामिण भेगका अधिकांश गाउँपालिका तथा नगरपालिकाका बिरामीका लागि पायक पर्ने यो अस्पताल हालसम्म पनि बिरामीको विश्वासिलो बन्न सकेको छैन ।

अस्पतालमा भवन, शय्या, उपकरणको अभाव छैन । तर सधैं जनशक्ति र विशेषज्ञ चिकित्सकको अभाव हुने गरेको छ । अस्पतालका मेसु डा. सञ्जय गुप्ता छन् । अस्पतालमा छात्रवृत्ति/करारका एमबीबीएस उत्तीर्ण २, प्रदेश सरकारले व्यवस्था गरेका २ र अस्पताल विकास समितिले व्यवस्था गरेको करारका ३ गरी कुल ७ चिकित्सक कार्यरत छन् । मेसु सञ्जय गुप्ताबाहेक सबै एमबीबीएस चिकित्सक हुन् ।

अहेब र स्टाफ नर्सको २/२ र हेल्थ असिस्टेन्टको १ दरबन्दीअनुसारको जनशक्ति मात्र उपलब्ध रहेको पटेल बताउँछन् । अस्पतालमा २ भेन्टिलेटर रहे पनि जनशक्ति अभावले प्रयोगमा आएको छैन । एक्सरे र भीडीओ एक्सरे मेसिनहरू पनि बेलाबेलामा बिग्रिने र जनशक्ति अभावले पूर्ण रूपमा उपयोगमा आउन सकेका छैनन् । सामान्य बिरामीहरू पनि यो अस्पतालमा उपचार गराउनुभन्दा १८ किमि पर रहेको वीरगन्ज नै जाने गर्छन् ।

स्थानीय धर्मेन्द्र चौरसिया जिल्ला अस्पताल सधैं अभावमै गुज्रिरहेको गुनासो गर्छन् । ‘अहिले यहाँ अक्सिजन प्लान्ट निर्माण गरिँदै छ, जुन अस्पतालमा बिरामी नै आउँदैनन् त्यहाँ यत्रो लगानीको के अर्थ ?,’ उनले भने, ‘तेस्रो तल्ला पनि थपिँदै छ, सर्जन, फिजिसियन, स्त्रीरोग विशेषज्ञ चिकित्सक अस्पतालमा कहिल्यै हुँदैनन्, करारका एमबीबीएस चिकित्सकको भरमा चलेको हुन्छ, अनि बिरामी कसरी यहाँ आउँछन् ?’ अस्पतालमा औषधिको अभाव हुने, प्रयोगशाला पनि नियमित सञ्चालन नहुने, उपकरणहरू भए पनि तिनलाई सन्चालन गर्ने जनशक्ति नहुने र त्यस्ता उपकरण बिग्रिए समयमा मर्मत सम्भार गरेर पुनः सञ्चालन नहुने समस्या रहेको उनले बताए ।

कोभिड अस्पतालको रूपमा २५ शय्या सञ्चालन गरिए पनि यहाँ १५ शय्या स्वीकृत छ । प्रदेश सरकारले ५० शय्यासहितको अस्पताल बनाउने घोषणा यसै वर्ष गरे पनि त्यो अझै कार्यान्वनयमा आएको छैन । सामाजिक अभियन्ता प्रकाश थारू यो अस्पतालको अवस्था दुरुस्त भएको भए यो अस्पतालबाट जिल्लाको झन्डै ७० प्रतिशत बासिन्दाले सेवा सुविधा पाउने सम्भावना रहेको बताउँछन् । ‘जिल्लाको मध्यमा रहेको तथा भवन र उपकरणको अभाव नरहेको यो अस्पताललाई सधैं हेलचक्र्याइँ र बेवास्ता गरेर बिरामी बनाइएको छ,’ उनले भने, ‘अस्पताल दुरुस्त भई दिएको भए ग्रामीण भेगका बासिन्दाले सस्तो र सहज उपचार पाउने मात्र नभई थुप्रै बिरामीले अकालमा मृत्युवरणसमेत गर्नु पर्थेन होला ।’

अस्पतालका मेसु डा. गुप्ता आफूले कार्यभार सम्हालेको १ महिना मात्र भएको र अस्पतालको अवस्था बिस्तारै सुधार गर्दै लग्नमा प्रयासरत रहेको बताउँछन् । पोखरिया नगरपालिकाले हालसम्म आफूलाई आर्थिक अधिकार नदिएकाले पनि समस्या भइरहेको उनको भनाइ छ । ‘अस्पतालको आकस्मिक कक्ष बेहाल रहेछ, शय्या पनि खरिद गर्नुपर्ने रहेछ,’ उनले भने, ‘अन्य उपकरणको पनि अभाव छ, समस्या र अभाव जहाँ पनि हुन्छ, त्यसबीच सुधारका प्रयास गरेर हामीअघि बढ्ने छौं ।’

पोखरियाकी उपप्रमुख उपमेयर सलमा खातुन पछिल्लो समय प्रदेश सरकारले घोषणा गरेको १५ जनशक्तिमध्ये ५ जना हालै पठाएको बताइन् । उनले ओपीडी सेवा पनि आइतबारबाटै सञ्चालनमा ल्याइने जानकारी दिए । अस्पतालमा बजेट खर्च नहुने र काम नहुने जस्ता समस्या भने यथावत् रहेकाले त्यसलाई बिस्तारै सुधार्नुपर्ने उनको भनाइ छ ।

‘अस्पतालमा सुधार गर्नुपर्ने कुराहरू धेरै छन्, तर त्यसका लागि त्यहाँका जिम्मेवार व्यक्तिहरूमा इच्छाशक्ति नभए जस्तो देखियो,’ उनले भनिन्, ‘अब जनप्रतिनिधि, अस्पताल प्रशासन र अस्पताल विकास समितिका पदाधिकारी समेतले छलफल गरेर सुधारका लागि गम्भीर रूपमा लाग्ने छौं ।’

प्रकाशित : जेष्ठ ३१, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?