कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वतयारी नगरिँदा मृत्युदर बढी

ग्रामीण क्षेत्रमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी धेरै भए पनि उपचारमा ध्यान दिइएन
ओमप्रकाश ठाकुर

सर्लाही — कोभिड–१९ को दोस्रो लहरमा पूर्वतयारी नगरेका सर्लाहीका पालिकाहरूमा मृत्युदर बढी देखिएको छ । स्वाब संकलन, कन्ट्याक्ट ट्रेसिङ तथा आइसोलेसन निर्माणमा तदारुकता नदेखाएका पालिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढी देखिएको हो । तर पूर्वतयारीमा जुटेका पालिकामा भने संक्रमितको संख्या धेरै देखिए पनि मृत्यु दर निकै कम छ ।

पूर्वतयारी नगरिँदा मृत्युदर बढी

सर्लाहीमा कोरोना माहामारीको दोस्रो लहरलाई ब्रेक गर्न कुनै तयारी नगर्ने पालिकाको संख्या धेरै छ । त्यहाँ जाँच र उपचार नभएकै कारण मृत्युको संख्या बढी छ । स्वाब संकलन नै नगरेका पालिकाको ग्रामीण क्षेत्रमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको मृत्युको संख्या पनि उत्तिकै छ । तर त्यसको कहीं कतै तथ्यांक संकलनसमेत भएको छैन । यसमा पालिकाले पूर्णरूपमा बेवास्ता गर्दै आएका छन् ।

कोरोनाको दोस्रो लहरमा कविलासी नगरपालिका–७ को एउटै बस्तीमा मिल्दोजुल्दो लक्षण देखिएका ५ जनाले ज्यान गुमाए । लक्षण पूरै देखिएर मृत्यु भए पनि पालिकाले न परिवारका सदस्य तथा कन्ट्याक्टका आधारमा स्वाब संकलन गर्‍यो, न त मृतकको तथ्यांक नै संकलन गरेको छ । पालिकाले यसपटक कोरोनासँग जुध्न कुनै योजनै बनाउन नसकेको नागरिकको भनाइ छ । यहाँ निषेधाज्ञा पालनामा पनि पालिका उदासीन देखिएको स्थानीय मनोजकुमार ठाकुरले बताए । ‘गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ५ जना बिरामीले अकालमै ज्यान गुमाए, तिनीहरूका परिवार अथवा नजिक बसेको मानिसको स्वाब संकलनसमेत हुन सकेन,’ उनले भने, ‘यसपटक स्थानीय सरकार जनताको स्वास्थ्यप्रति संवेदनशील हुन सकेन, न त निषेधाज्ञा पालना गराउन कुनै पहल नै गर्‍यो ।’

बलरा नगरपालिका–६ मिर्जापुरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका चार जनाले ज्यान गुमाए । उनीहरूमध्ये एक जनाको उपचारका क्रममा अस्पतालमा तथा तीन जनाको गाउँमै मृत्यु भएको थियो । उनीहरू उच्च ज्वरो आएर घरमै थलिएका थिए । एक जनालाई भने अन्तिम समयमा अस्पताल लगिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयको टोलीले मृतकको सम्पर्कमा रहेका व्यक्तिको जाँच गर्दा २१ जनामा कोरोना पोजिटिभ देखिएको थियो । त्यतिमात्र हैन भारतीय सीमामा रहेको यो गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका अन्य ७ जनाको मृत्यु भएको स्थानीयले जनाएका छन् ।

जिल्ला प्रशासनको तथ्यांकमा कोरोनाको कारण मृत्यु भएको संख्या २ देखिए पनि यो संख्या दर्जनभन्दा बढी भएको स्थानीय शिवेन्द्र मिश्रले बताए । मिश्रका अनुसार कोरोनाको दोस्रो लहरमा पालिकाको भूमिका शून्य देखिएको छ । ‘कोरोनाको संक्रमण रोक्न पालिकाको कुनै भुमिका नै देखिएको छैन, आइसोलेसन त परको कुरा स्वाब संकलनमा पनि चासो देखाएको छैन,’ उनले भने ।

यद्यपि मेयर अभयकुमार सिंहले पालिकाभित्रको स्वास्थ्य संस्थाहरूमा मास्क र सेनिटाइजर उपलब्ध गराएको बताउँछन् । उनले स्वाब संकलनमा नागरिकले नै चासो नराखेको बताए ।

सदरमुकाम मलंगवामा जिल्लाका अन्य पालिकाभन्दा बढी संक्रमितको मृत्यु भएको छ । प्रशासनको रेकर्डअनुसार यहाँ ११ जनाले ज्यान गुमाएका छन् । कोरोना ब्रेकका लागि मलंगवा जिल्ला अस्पतालको भर परेको थियो । मृत्युको संख्या बढेपछि बल्ल एक साताअघि पालिकाले आइसोलेसन निर्माण गरेको छ । बेलैमा कोरोना ब्रेकका लागि रणनीति नअपनाउँदा मृत्युको संख्या बढी देखिएको नागरिकको गुनासो छ ।

नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले सदरमुकाम मलंगवासहित पूर्वतयारीमा नजुटेका पालिकामा कोरोनाका कारण मृत्युको संख्या बढी देखिएको बताए । उनले हरिवन र गोडैता नगरपालिकामा मृत्यु दर कम हुनुका कारण पालिकाले पूर्वतयारी गरेर सावधानी अपनाउनु नै रहेको जानकारी दिए । ‘जुन पालिकाले संक्रमण रोक्न पूर्वतयारी गरे त्यस पालिकामा मृत्यु दर कम रहेको हामीले पाएका छौं, त्यहाँ लक्षण देखिएका मृतकको पनि स्वाब संकलन गरिएको छ,’ उनले भने, ‘जिल्लाका अधिकांश स्थानीय तहले कोरोनाको दोस्रो लहरमा नागरिकको स्वास्थ्यप्रति चासो नै दिएको पाइँदैन ।’

मलंगवा नगरपालिकाका मेयर निर्षल साहले यस वर्ष जिल्ला अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएपछि पालिकाले पहल नगरेको बताए । उनले मृत्युको संख्या बढ्न थालेपछि आइसोलेसन बनाएको तर त्यहाँ कोही पनि बस्न नमानेका जानकारी दिए । जिल्लामा हालसम्म ७३ जना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७८ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?