कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षकको रकम भएन फिर्ता

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाले गत वर्ष कोरोना नियन्त्रणका लागि भन्दै शिक्षकसित सहयोग रकम संकलन गरेको थियो । उक्त रकम खर्च नभएपछि फिर्ता दिने भनिएको थियो । तर, एक वर्ष बित्दा पनि शिक्षकहरूले रकम फिर्ता पाउन सकेका छैनन् ।

गत वर्ष कोरोना संक्रमण बढेपछि नगरपालिकाको शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलको ठाडो आदेशमा नगरक्षेत्रका विद्यालयका शिक्षकबाट सहयोगस्वरूप भन्दै १० लाख २६ हजार असुलिएको थियो । संक्रमण नियन्त्रणमा उक्त रकम खर्च भएन । त्यसपछि शिक्षकहरूले रकम खर्च भयो/भएन खोजी गरे । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई समेत शिक्षकले मौखिक जानकारी गराए । प्रजिअ यादवले चासो देखाएपछि गत वर्ष नै फिर्ता गर्ने भनिएको थियो ।

तर, उक्त रकम अहिलेसम्म फिर्ता नभएको जनज्योति माविका सहायक प्रधानाध्यापक देवनारायण हुमागाईंले बताए । ‘रकम हिनामिना भएको आशंका छ,’ उनले भने, ‘फिर्ता गर्छु भनेको रकम अहिलेसम्म दिन नसक्नु शंकास्पद छ ।’ उनले प्रशासनमा छानबिनका लागि उजुरी गर्ने जनाए । गत वर्ष नै शिक्षक संघका पदाधिकारी, नगरपालिकाका मेयर, विद्यालय निरीक्षकलगायत प्रतिनिधिहरूबीच छलफल भई फिर्ता गर्ने मौखिक सहमति भएको थियो ।

असुलेको रकम सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा गर्नुपर्नेमा नगरपालिकाले विपद् व्यवस्थापनको खातामा जम्मा गरेपछि विरोध सुरु भएको हो । उक्त रकम कुन शीर्षकको खातामा जम्मा गरेको भन्ने थाहा नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रधानले बताए । प्रधानअघि शिक्षा शाखाका उपसचिव सिग्देल प्रमुख थिए । नगरक्षेत्रका मावि १२ निमावि ११ र प्रावि २३ विद्यालयका ३ सय १५ जना शिक्षकको गत चैतको तलबबाट रकम असुलिएको हो । प्रावि शिक्षकको ३ दिन, निमाविको ५ र माविको शिक्षकको ७ दिनको तलबबाट रकम संकलन गरिएको थियो ।

शिक्षाका शाखाका अधिकृत दीपेन्द्र मण्डलले अब चाँडै शिक्षकको रकम फिर्ता गर्ने बताए ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?