कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँप ब्लकमा समस्यै–समस्या

भण्डारणदेखि बिक्रीसम्मको व्यवस्था सरकारले गरिदिनुपर्ने किसानको माग
श्यामसुन्दर शशि

जनकपुर — बिहान–बेलुका आँपको बगैंचा चहार्नु । पात–पतिंगर सफासुग्घर गर्नु र पानी छम्किँदै आँपको रूख र फल नियाल्नु पुण्यदेव महतोको दैनिकी हो । बगैंचा भन्नेबित्तिकै हुरुक्कै हुने बटेश्वर गाउँपालिका १ चित्रपुरका ७२ वर्षीय महतो यस वर्ष भने चिन्तित छन् ।

आँप ब्लकमा समस्यै–समस्या

उनको चिन्ताको कारण हो, लामो निषेधाज्ञा र गत वर्षदेखि आँपमा लाग्न थालेको ‘मेंगो लिफ वेवर’ नामक किरा । ‘अन्य बाली हटाएर आँपको खेती थाले । अब किराले गर्दा आँपको बगैंचा पनि हटाउनुपर्ने अवस्था आयो,’ उनले भने ।

आँपका चिचिला जति ठूलो हुन्थे, उनको खुसी त्यसैत्यसै बढ्थियो । फल तयार भएपछि बिक्री गर्ने, प्राप्त रकमबाट घरपरिवार चलाउने अनि राम्रो आम्दानी भए पूजाअर्चना गर्ने, तीर्थाटन जाने योजना उनी बुनिरहन्थे । तर, यस वर्ष उनलाई चिन्ता छ, ‘अलिअलि फलेको आँप बन्दाबन्दीमा कसरी बिक्री गर्ने ?’ पुण्यदेवलगायत धनुषाका धेरैजसो किसानले आँपसमेत टिपेका छैनन् ।

चित्रपुरका कुल कृषियोग्य जग्गामध्ये ८० प्रतिशतमा आँपको बगैंचा छ । महतोको एकल हिस्सामा साढे ७ बिघा जग्गा छ । तीमध्ये ६ बिघामा आँपको बगैंचा छ । जितेन्द्रसिंह कुशवाहाको कुल ७ बिघामध्ये ४ बिघामा, राजकुमार महतोको कुल ४ बिघामध्ये साढे ३ बिघामा आँप खेती हुन्छ । स्थानीय रामखेलावन महतोका अनुसार चित्रपुरका राजकिशोर, देवेन्द्र, प्रदीप, शिवनारायण, हरिश्चन्द्रजस्ता ठूला किसानको १०/१० बिघाहाको आँपको बगैंचा छ ।

महतोका श्रीमती रामवती देवी घरको छतमा अमोट (आँपको रसबाट निर्माण गरिने स्वादिष्ट परिकार) बनाउन व्यस्त थिइन् । छिमेकी गजेन्द्र सिंहको छतमाथि निजकी श्रीमती पुनिता देवी आँपको खटाई (काँचो आँप सुकाएर बनाउने अमिलो आचार) सुकाउँदै थिइन् । अर्का छिमेकी महेशकुमार महतोकी श्रीमती रेणु महतो आफ्नो आँगनमा आँपको अचार सुकाउँदै थिइन् । ‘पुरुष आँप बगैंचाको रेखदेख गर्छन् । फल बिक्री गर्छन् अनि हामी महिला फुर्सदको समयमा अचार, खटाई, अमोट बनाउँछौं,’ रामवतीदेवीले भनिन् । स्थानीय प्रविधिद्वारा आफैंले तयार पारेका आँपका परिकारहरू वर्षभरि घरमा उपभोग गरिन्छ ।

चुरे फेदको चारकोसे जंगल फँडानी गरेर करिब आठ दशकअघि चित्रपुर, हरिहरपुर, दिगम्बरपुर, शान्तिपुर, कालीपुर, बटेश्वर, जमुनिवास, बेंगाडावरलगायत गाउँ बसालिएको थियो । नयाँ माटो उब्जाउ हुने भए पनि यी बस्तीमा पानीको स्रोत थिएन । अकासे पानीको भरमा खेती हुन्थे । नजिकको बडहरी, विगही, सुखजोरलगायत नदी तथा खोलामा पानी त हुन्थे, तर पानी खेतसम्म ल्याउने कुलो थिएन । खानेपानीको समेत कठिनाइ भएको बेला सिँचाइका लागि पानीको जोहो गर्नु सम्भव थिएन ।

महतोका अनुसार त्यति बेला गाउँमा मकै, कोदो, तरुलको खेतीमात्र सम्भव थियो । जंगली बंगुर र नीलगाईको उत्पात थियो, त्योबेला । मिहिनेत गरेर लगाएको बाली जंगली जनावर नष्ट गरेर जान्थे । यसरी पानीको आभाव तथा जंगली जनावरको उत्पातबाट जोगिन गाउँका अगुवाहरूले सामूहिक आँप खेती थाले । ‘ग्रामीणहरूको सहमतिमा २०१६/१७ सालतिर जनकपुरबाट बिरुवा ल्याएर पहिलो पटक आँपको रूख रोप्यौं । बिरुवा सप्रिन थालेपछि अर्को वर्षदेखि सबैले रोप्न थाले,’ महतोले भने ।

सिँगै गाउँ आँप खेतीमा निर्भर भए पनि गाउँलेले आँप बिक्री गरेर अपेक्षा अनुसारको आम्दानी भने गर्न सकेका छैनन् । बाली सप्रिदा सस्तोमा बिक्री गर्नु पर्ने समस्या त छँदैछ, बिचौलिया तथा ठेकेदार प्रथाका कारण पनि उनीहरूले अपेक्षित मूल्य पाउन सकेका छैनन् । अधिकांश ठूला किसान आफ्नो बगैंचा वार्षिक वा बहुवर्षीय ठेक्कामा लगाउँछन् । वीरगन्ज, रौतहट, राजविराजका ठेकेदारहरू बगैंचा सस्तोमा ठेक्का लिन्छन् अनि आँप बाहिर लगेर महँगोमा बेच्छन् । स्थानीय किसानहरूका अनुसार ठेक्केदारले प्रतिबिघा ७० देखि ७५ हजारमा आँपको बगैंचा खरिद गर्छन् ।

बगैंचा ठेक्का लगाउनुको कारणबारे रामखेलावन महतोले भने, ‘आँप कहाँ बेच्ने ? बजारसम्म कसरी पुर्‍याउने ? सबैको पहुँच बजारसम्म हुँदैन । अनि सस्तोमै बगैंचा नै बिक्री गर्छन् ।’ आँप भण्डारण तथा बिक्री वितरणको व्यवस्था सरकारले गरिदिनुपर्ने माग पनि स्थानीयको छ ।

कृषि ज्ञान केन्द्र, जनकपुरका बागवानी विकास अधिकृत प्रदीपकुमार यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बटेश्वर गाउँपालिकाको चित्रपुर र बटेश्वरसहितका तीन वडालाई ‘आँप ब्लक’ निर्धारण गरेको जानकारी दिए । परियोजनाअन्तर्गत किसानलाई खेतीसम्बन्धी तालिम, आँप टिप्ने मेसिन खरिदमा ५० प्रतिशत अनुदान तथा क्यारेट खरिदमा अनुदान दिने गरिएको उनले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?