कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सरकार पुनर्गठनको कसरत

पूर्वराजपा पक्षलाई हटाएर कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउन छलफल
सन्तोष सिंह

धनुषा — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनका लागि छलफलमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका हुन् । शुक्रबार साँझ जनकपुर आएका अध्यक्ष यादव प्रदेश सरकारका मन्त्री र पार्टीका नेताहरूसँग भेटघाटमा व्यस्त छन् ।

प्रदेश सरकार पुनर्गठनको कसरत

जनकपुरस्थित होटल वेलकममा शुक्रबार अबेर रातिसम्म प्रदेशका मन्त्रीहरूसँग भएको छलफलमा अध्यक्ष यादवले संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । यादवले प्रस्ताव गर्दा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले संसदीय दलको विधान बनाएर मात्रै दलका नेता चयन गर्न सक्ने तर्क गरेका थिए । संसदीय दलको विधान नै नबनाएर मुख्यमन्त्री राउतले दलको नेता बन्न गोप्य रूपमा सांसदहरूबाट हस्ताक्षर गराएको भन्दै मन्त्री यादवले आक्रोशसमेत पोखेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

पार्टीको हितविपरीत कार्यमा संलग्न मन्त्रीहरूलाई तत्काल हटाएर केन्द्रमा बनेको गठबन्धनअनुसार जसपाकै नेतृत्वमा सरकार विस्तार गर्नुपर्ने मन्त्री यादवको भनाइ छ । त्यसअघि संसदीय दलको विधान र नेता चयन गर्न उनले आग्रह गरेका थिए । उनी मुख्यमन्त्रीको रवैयामा विमति जनाउँदै होटलबाट बाहिरिएका थिए । जसपामा विवाद चुलिएपछि मुख्यमन्त्री राउतले दलको नेताका लागि प्रदेश सांसदहरूबाट हस्ताक्षर गराएका छन् । मन्त्री यादवले विधानबिना दलको नेता मान्य नहुने र राउत नेतृत्वको सरकारमा आफू सहभागी नहुने जनाएका छन् ।

अध्यक्ष यादवले शनिबार मधेस भवनस्थित मुख्यमन्त्री निवासमा पार्टीका नेता र प्रदेश सांसदसँग प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल गरेका छन् । भेटघाटमा अध्यक्ष यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकार समीकरण परिवर्तन बारे छलफल गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र रायले बताए । सरकारका मन्त्री र प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीसँग भेटेर अध्यक्ष यादवले जनतामुखी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएको राज्यमन्त्री यादवले जानकारी दिए ।

जसपा अध्यक्ष महन्थ ठाकुर समूहका नेताहरू संघीय सरकारमा सहभागी भएपछि प्रदेश सरकारमा रहेका ठाकुर समूहका मन्त्रीलाई हटाएर नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन अध्यक्ष यादव जनकपुर आएका हुन् । पूर्वराष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरू अभिराम शर्मा, डिम्पल झा र सुरेश मण्डललाई हटाउन छलफल भइरहेको छ । तर पूर्वराजपाका नवलकिशोर साह र रामनरेश यादव भने मन्त्री रहिरहने छन् । साह र यादवले खेमा परिवर्तन गरी यादव समूहमा सक्रिय छन् । केन्द्रमा बन्ने कांग्रेस, जसपा, माओवादी र एमाले खनाल नेपाल समूहको गठबन्धनककै अधारमा प्रदेश २ मा सरकार बिस्तार गर्न जसपाले छलफल अगाडि बढाएको हो ।

प्रदेश २ का ६ मन्त्रालयलाई १० बनाएर कांग्रेसलाई २ र माओवादी केन्द्रलाई १ मन्त्रालय दिने छलफल भइरहेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग, पर्यटन वन तथा वातावरण, सामाजिक विकास, भौतिक पूर्वाधार र आन्तरिक मामिला तथा कानुन मन्त्रलायलाई विभाजन गर्ने जसपाभित्र छलफल भइरहेको स्रोतले जनाएको छ । जसपाबाट सरकारमा रहेको अधिकांश मन्त्री दोहरिने र केही थप्ने विषयमा समेत छलफल भएको नेताहरूले बताएका छन् ।

छलफलमा कांग्रेस

जसपाले प्रदेश २ सरकारमा सहभागी हुन प्रस्ताव गरेपछि कांग्रेस पनि मन्त्रीको नाम टुंगो लगाउन आन्तरिक छलफलमा जुटेको छ । मुख्यमन्त्री दाबी गरेको कांग्रेसले जसपा नेतृत्वसँग छलफल गर्ने बटमलाइन तय गर्न आन्तरिक छलफल भइरहेको कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए । ‘सरकारमा सहभागिताका लागि प्रस्ताव आएपछि छलफल भएको हो,’ यादवले भने, ‘हामीले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन आग्रह गरेका छौं । मन्त्रालयहरूको विषयमा छलफल हुन बाँकी छ ।’

कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय, मुख्यमन्त्री नपाए समाजवादीकै नेतृत्वमा मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर अन्यलाई दिए सभामुखसहित तीन मन्त्रालय दाबी गर्ने कांग्रेस स्रोतले जनाएको छ । मुख्यमन्त्री राउतको कार्यशैलीप्रति कांग्रेस सांसद असन्तुष्ट छन् । राउतको प्रशासनिक पाटो कमजोर रहेका भन्दै सरकारमाथि कांग्रेसले प्रश्न उठाउँदै आएको छ । मुख्यमन्त्रीले आफ्नै कार्यालयका कर्मचारी हाँक्न नसकेकोले उनी नेतृत्वको सरकारमा सहभागी भए प्रभावकारी काम गर्न नसकिने कांग्रेस सांसदको धारणा छ ।

जसपाले कांग्रेसलाई भौतिक पूर्वाधारसहित दुई मन्त्रालय दिने तयारी गरे पनि कांग्रेस मुख्यमन्त्री वा सभामुखसहित तीन मन्त्रालय पाएमात्र सरकारमा सहभागी हुने अडानमा छ । अध्यक्ष यादवले प्रदेश २ को नीति तथा कार्यक्रम र बजेट पास गराउन कांग्रेस, माओवादी केन्द्र र एमालेको साथ पाउने वातावरण बनाएका छन् । असार १ गते बजेट प्रस्तुत हुने अनिवार्य कार्यसूची हो ।

प्रकाशित : जेष्ठ २३, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?