२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

तीन सातादेखि उठेन फोहोर

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाले कोभिड–१९ को बाहना देखाएर फोहोर उठाउन छाडेपछि यहाँका मुख्य चोकहरू दुर्गन्धित हुन थालेका छन् । झन्डै तीन सातादेखि नगरपालिकाले फोहोर उठाएको छैन ।

तीन सातादेखि उठेन फोहोर

स्थानीयले फोहोर उठाउन ताकेता गरे पनि नगरपालिकाले अटेर गरेको हो । नगरपालिकाका मेयर रामचन्द्र चौधरीले कोरोनाका कारण फोहोर उठाउन नसकेको बताए । ‘फोहोर उठाउने मानिस कोभिडका कारण आएका छैनन्,’ उनले भने, ‘केही समयपछि उठ्छ । अहिले अवस्था त्यस्तै छ ।’ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट पनि बनाएको छैन । यहाँ संकलन भएको फोहोर जंगलमा लगेर फाल्ने गरिएको छ ।

चन्द्रनिगाहपुर चोकदेखि बजारसम्मको पक्की नाला बनाउने बाहनामा खनिएको खाडलले बाटो पनि हिलाम्मे भएको छ । चन्द्रपुरलाई स्मार्ट सिटी बनाउने भनिए पनि अहिले नगरको अवस्था हेर्दा अचम्मै लाग्ने युवा उद्यमी विनोद घिमिरेले बताउँछन् । ‘मुख्य चोक, बजार फोहोरै–फोहोर छ । जता हेर्‍यो त्यतै अस्तव्यस्त छ,’ उनले भने, ‘सबै बेथितिबीच नगरपालिकाले केही गर्न सकेको छैन । नगरपालिकाको आकर्षण देखिने बजार चोक नै फोहोर र अस्तव्यस्त छ । सफा नगर बनाउनेतिर ध्यान जान सकेको छैन ।’

यता, गरुडा नगरपालिकाको फोहोर बाटोमै मिल्काइन्छ । चोक, बजारबाट उठाउने फोहोर इलाका प्रहरी कार्यालयनजिक गौर रोडमै फाल्ने गरिएको छ । फोहोर गन्हाएर बाटोमा हिँड्नै नहुने हुन्छ । गरुडाकी उपप्रमुख रंगिलादेवी जयसवालले फोहोर व्यवस्थापनका लागि प्रमुख इनरदेव यादवलाई जति भने पनि कुनै सुनुवाइ नभएको गुनासो पोखिन् ।

पानी जमेर नगरपालिकाको सडकमै आहाल बन्ने गरेको छ । खाडल धेरै छन् । सफा नगर बनाउन नगरपालिकाको ध्यान दिन नसकेको वडाअध्यक्ष चुनचुन साहको आरोप छ । ‘बजारलाई सफा राखौं भन्ने प्रस्ताव गरेको हुँ,’ उनले भने, ‘नगर प्रमुखले कुनै वास्ता गर्दैनन् । यहाँ बेथिति बढ्दो छ ।’ नगर प्रमुख यादवले गरुडा बजारलगायतका क्षेत्रका फोहोर अन्यत्र लगेर व्यवस्थापन गर्ने योजना रहेको सुनाए ।

यहाँको चन्द्रपुर, गरुडा, गढीमाई, कटहरिया, गौर गुजरालगायतका अधिकांश नगरपालिकाको मुख्य बजार फोहोरै फोहोर छन् । बजारको फोहोर व्यवस्थापन नगरी जथाभावी फाल्ने गरिएको छ । अधिकांश नगरपालिकाले व्यवस्थित ढल निर्माण गर्न चासो नदेखाएकाले पानी जम्ने र पोखरीजस्तै हुने गरेको छ । गौर नगरपालिकाको मुख्य बजारमा समान्य वर्षामा मानिस हिँडडुल गर्न सक्दैनन् । बजारको ढल पुरिएर निकास बन्द भएपछि वर्षाको बेला पानी जमेर स्थानीयले सास्ती खेप्छन् ।

गढीमाई नगरपालिकाको समनपुर बजारसमेत फोहोरै छ । यो नगरपालिकाको मुख्य पुरानो बजार विकसित र सफा हुन सकेको छैन । गढीमाईका मेयर श्याम यादवले सफा र सुन्दर नगरको योजनाका साथ अघि बढ्ने दाबी गरे । गुजरा नगरपालिकास्थित बजार, चोकको अवस्था उस्तै छ । यो नगरपालिकामा जनप्रतिनिधि र स्थानीयबीच मतभेद छ ।

जनप्रतिनिधिविरुद्ध स्थानीय विरोधमा उत्रेपछि विकास निर्माणको काममा बाधा पुगेको छ । नगरपालिकाले बजार क्षेत्र सफा राख्न नसकेको स्थानीय शेख ओलाइतले आरोप लगाए । ‘नगरको मुख्य क्षेत्र नै दुर्गन्धित, फोहोर र अस्तव्यस्त देखियो भने नगरपालिकाको कुनै महत्त्व हुँदैन,’ उनले भने ।

प्रकाशित : जेष्ठ २२, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?