कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले संक्रमण रोक्न पूर्वतयारी गरे

पहिले नै बजेट विनियोजन र आइसोलेसन निर्माणले रोकथाम प्रभावकारी
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिवन नगरपालिकामा गत साता एक जना कोरोना संक्रमितको अवस्था गम्भीर भयो । उनलाई आइसोलेसनसम्म लैजान एम्बुलेन्स तयारी अवस्थामा थियो, तर चालक भने थिएनन् । यो थाहा पाएपछि मेयर गणेश प्रसाइँले संक्रमितलाई एम्बुलेन्समा राखेर आफैंले आइसोलेसन पुर्‍याए । अहिले ती संक्रमितको स्वास्थ्यमा सुधार छ ।

जसले संक्रमण रोक्न पूर्वतयारी गरे

गत मंगलबार हरिवन–११ मा संक्रमणबाट मृत्यु भएकी महिलाको शव बोक्न शववाहन तथा एम्बुलेन्सका चालकले मानेनन् । वडाध्यक्ष शेष महबुब रेजाले संक्रमितको शव नदी किनारसम्म आफैं पुर्‍याए । उनले शववाहन आफैंले चलाएर नदीसम्म पुर्‍याएका थिए ।

जिल्लामा कोरोना महामारीका बेला जनप्रतिनिधिको भूमिका सहयोगी नभएको भन्दै आलोचना बढिरहेका बेला सर्लाहीका दुई पालिकाका जनप्रतिनिधिले भने मन जित्ने काम गरेका छन् । हरिवन र गोडैता नगरपालिका महामारी नियन्त्रणमा सक्रिय रूपमा लागेका छन् । ‘शववाहनका चालकले घरमा वृद्ध बाआमा हुनुहुन्छ भनेर शव बोक्न मानेनन् । त्यसपछि नगरभरका एम्बुलेन्स चालकलाई आग्रह गरे । कसैले पनि मानेनन्,’ वडाध्यक्ष रेजाले कान्तिपुरसँग भने, ‘त्यसपछि म आफैंले शववाहन चलाएँ ।’ नागरिकको दुःखमा मलम लागाउन पाएकोमा खुसी भएको उनले बताए ।

गोडैता नगरपालिकाले पनि यसवर्ष कोरोनासँग जुध्दै विकास निर्माण अगाडि बढाइरहेको छ । चालु आर्थिक वर्षमा विकास निर्माणमा विनियोजित २४ करोड रकममध्ये ९० प्रतिशत खर्च भइसकेको मेयर देवेन्द्र यादवले बताए । उनले यसवर्ष कोभिड नियन्त्रणका लागि पहिलादेखि नै ३५ लाख रकम विनियोजन गरेर रोकथामको प्रयासमा लागेको जानकारी दिए । नगरले २५ वेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । यहाँ स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छ ।

सर्लाहीका नागरिक अगुवा रजनीकान्त झाले जनप्रतिनिधि इमान्दार भए विकास र महामारीबाट जोगिन नागरिकले धेरै संघर्ष गर्नै नपर्ने जनाए । ‘हरिवन र गोडैतका जनप्रतिनिधिले महामारीका बेला जनतालाई साथ दिएका छन् । जनप्रतिनिधि नागरिकप्रति उत्तरदायी हुनैपर्छ,’ उनले भने, ‘जनप्रतिनिधि इमान्दार भएर जनताका लागि काम गर्‍यो भने नागरिकले दुःखकष्ट झेल्नै पर्दैन ।’ यसअघि हरिवनका मेयरले आफ्नो सुविधाका लागि पाएको गाडी किन्ने रकम स्थानीय खोलामा कल्भर्ट बनाउन प्रयोग गरेका थिए ।

कोरोना नियन्त्रणका लागि हरिवन नगरपालिकाले यस आर्थिक वर्षमा मात्र १ करोड बजेट छुट्याएको छ, जसका कारण कोभिड नियन्त्रण र रोकथाममा हरिवन जिल्लाभरि नै उत्कृष्ट मानिएको छ । यहाँ अक्सिजनसहित सय बेडको आइसोलेसन निर्माण भएको छ ।

पालिकाले कोरोना लक्षण देखिएका नगरवासीको स्वाब संकलनलाई प्राथमिकतामा राखेको छ । कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको नगरले जनाएको छ । गौडेतामा २० जना र हरिवनमा १०४ जना सक्रिय संक्रमित छन् । जिल्लामा १ हजार ५८ सक्रिय संक्रमित हालसम्म सक्रिय छन् ।

प्रकाशित : जेष्ठ ११, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?