२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सप्तरीको कञ्चनरुप नगरपालिका सिल गरिने

निषेधाज्ञामा थप कडाइ
अवधेशकुमार झा

राजविराज — सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकालाई सिल गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण उक्त नगरपालिकाभित्र तीव्र रुपमा बढदै गएपछि आवतजावत पूर्णरुपमा बन्द रहने गरी सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जनाकारी दिए ।

बिहीबार कञ्चनरुप नगरपालिकाका ४८ जनाको पीसीआर परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए । नगरपालिकामा मात्रै कोरोनाको दोश्रो लहर सुरु भएयता १२६ जना संक्रमित भएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ ।

कुल संक्रमितमध्ये ६० प्रतिसत कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कै रहेको गुप्ताले बताए । वडा नम्बर ८ का वडाध्यक्ष राजकुमार साहले संक्रमणले वडा नराम्ररी प्रभावित भएको र हटस्पट नै बनेको बताए । उनले पछिल्लो चरणमा एकजना संक्रमित भए पूरै परिवार नै संक्रमित हुने गरेको पाइएको र १० वटा परिवारमा सबैजना संक्रमित रहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले कोरोनाको दोश्रो लहरपछि जिल्लामा हाल सम्म कुल ६ सय ४० जना संक्रमित भेटिएकामध्ये १ सय २६ जना कञ्चनरुप नगरपालिकामै पाइएको बताए ।

यसैगरी जिल्ला संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई थप कडा बनाउने निर्णय समेत गरेको छ । जिल्लाका बजार क्षेत्रहरुमा गत वैशाख २५ गते रातीदेखि नै निषेधाज्ञा जारी गरिएको भएपनि अझै पनि सडकमा बिना काम हिँड्नेहरुको लर्को रहने गरेको छ । विवाह, धार्मिक कार्य, भोज लगायतका नाममा भीड जम्मा हुने क्रम अझै पनि रोकिएको छैन ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको संयोजकत्वमा अक्सिजन व्यवस्थापन गर्न समिति निर्माण गर्ने, प्रदेश सरकारसित औषधि माग गर्ने र निजी अस्पतालहरुमा कोरोना बिरामी राख्ने गरी भएको सम्झौता अनुमोदनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय समेत भएको प्रजिअ पोखरेलले जनाए ।

प्रकाशित : वैशाख ३१, २०७८ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?