कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताल खाली, संक्रमित घरमै

जनशक्ति र अक्सिजन सिलिन्डर नहुँदा भर्ना गर्न नसकिएको अस्पतालको भनाइ
लक्ष्मी साह

बारा — कलैयास्थित जिल्लाको एक मात्र सरकारी अस्पतालमा ५० शय्या छन् । यहाँ पीसीआर मेसिन पनि छ । तर एक जना पनि कोरोना संक्रमितको भर्ना गरिएको छैन । पर्याप्त बेड र पूर्वाधार भए पनि संक्रमित अन्य जिल्लामा गएर उपचार गराउनुपर्ने बाध्यतामा छन् ।

अस्पताल खाली, संक्रमित घरमै

दोस्रो चरणको कोरोनाले संक्रमित र मृत्युदर दैनिक बढिरहँदा कलैया अस्पतालमा संक्रमितका लागि एउटा पनि शय्याको व्यवस्था गर्न नसकिएको हो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट गौरव महतोले जनशक्ति अभावमा संक्रमितको उपचार सुरु हुन नसकेको बताए । उनका अनुसार अस्पतालका ६ जना चिकित्सकमध्ये ४ जना संक्रमित भई आइसोलेसनमा बसेका छन् । प्राविधिकको कमीले शय्याको व्यवस्थापन हुन पनि हुन सकेको छैन । ‘१५ वटा बेडको व्यवस्थापन गर्दै छौं,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट गौरव महतोले भने ।

उनका अनुसार अस्पताललाई अक्सिजन सिलिन्डरको पनि अभाव छ । ‘हामीसित १५ वटा मात्र अक्सिजन सिलिन्डर थियो । मंगलबार मात्र जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिले ५० वटा सिलिन्डर उपलब्ध गराउने निर्णय गरेको छ,’ उनले भने, ‘प्रत्येक ३ वटा बिरामीका लागि कम्तीमा एउटा सिलिन्डर अनिवार्य आवश्यक छ ।’ तर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अक्सिजन सिलिन्डर पुग्दो रहेको बताए । ‘जनशक्ति अभावले अस्पतालले भर्ना नलिएको हो,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘अस्पतालले झूटो बोलेको छ ।’

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवका अनुसार तीन सातायता जिल्लाका ३३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । कलैया अस्पतालमा शय्या नभएर ३५ जना अन्यत्र भर्ना छन् । उनका अनुसार ९ सय ९८ सक्रिय संक्रमितमध्ये ७ सय २१ जना होम आइसोलेसनमा छन् । कलैया र जितपुरसिमरा उपमहानगरपालिका, निजगढ, महागढीमाई र सिम्रौनगढ नगरपालिकामा सबभन्दा बढी संक्रमितहरू देखापरेका छन् ।

यहाँका १६ वटा पालिकाहरूमध्ये एकाधबाहेक अरूले संक्रमितहरूका लागि आइसोलेसनको व्यवस्था मिलाउन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार निजगढ र कोल्हवी नगरपालिकाबाहेक अरूले तयारी गर्न नसकेका हुन् । ‘कलैया, आदर्शकोतवाल र सुवर्णमा तयारी छ, तर संक्रमित छैनन्,’ उनले भने, ‘सिम्रौनगढ, जितपुरसिमरा र महागढीमाईमा आइसोलेसन चलाउने तयारी हुँदै छ ।’

प्रकाशित : वैशाख ३०, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?