कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरको होटलमा आइसोलेसन

भूषण यादव

पर्सा — पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रप्रसाद साहले वीरगन्जस्थित आफ्नो नवनिर्मित होटल आइसोलेसन सञ्चालनका लागि निःशुल्क रूपमा दिने घोषणा गरेका छन् । होटलभित्रै संक्रमितको उपचार चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले गर्ने छन् । उपचार खर्च नगरपालिकाले बेहोर्नेछ । 

मेयरको होटलमा आइसोलेसन

वीरगन्ज महानगरपालिका– १२ तेजारथटोल स्थित करिब एक बिघा क्षेत्रफल रहेको होटल साह दरबार प्रालिलाई निःशुल्क आइसोलेसन सेन्टरको रूपमा प्रयोग गरिन लागेको हो । होटलभित्र ३ वटा ठुल्ठूला सुविधा सम्पन्न हल छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुर उप्रेतीले आइसोलेसन वार्डका लागि चाहिले उपकरण खरिद प्रक्रिया अगाडि बढाइसकिएको बताए । ‘दुई/तीन दिनमै सुविधासम्पन्न आइसोलेसन वार्ड सञ्चालनमा आउँछ,’ उनले भने ।

गाउँको स्वास्थ्य चौकी वा विद्यालयमा सुविधा सम्पन्न आइसोलेसन सेन्टर बनाउन सम्भव नभएकाले आफ्नै होटल प्रयोगका लागि दिएको साहले बताए । ‘अहिले कडा खालको कोरोना भेरियन्ट आएकाले गत वर्षझैँ काम चलाउ आइसोलेसन सेन्टर बनाएर चल्दैन्,’ उनले भने, ‘चिकित्सकीय सेवासहितको सुविधासम्पन्न आइसोलेसन वार्ड चाहिको छ ।’ ठाउँ नपाएका तर आइसोलेसन सेन्टर सञ्चालन गर्न चाहने अन्य पालिकालाई निःशुल्क ठाउँ उपलब्ध गराउने उनले जनाए ।

‘आफ्नो पालिकाका लागि तत्काल २५ शय्याको आइसोलेसन सेन्टर सुरु गर्दै छौँ,’ उनले भने, ‘अन्य पालिकाले चाहेको अवस्थामा निःशुल्क रूपमा ठाउँ प्रयोग गर्न दिइनेछ ।’ संक्रमित संख्या बढ्दै गएमा शय्या पनि थपिने उनले जनाए । शनिबार बहुदरमाई नगरपालिकाको बोर्ड बैठकले कोरोना संक्रमित नगरवासीका लागि वीरगन्जमा आइसोलेसन राख्ने निर्णय गरेको थियो ।

‘बहुरमाईको कुनै पनि स्वास्थ्य चौकी वा विद्यालयमा सुविधासम्पन्न २०/२५ शय्याको आइसोलेसन सेन्टर बनाउने अवस्था छैन, गाउँका स्वास्थ्य चौकीमा एमबीबीएस चिकित्सक छैनन्,’ मेयर साहले भने, ‘सिकिस्त कोरोना संक्रमितलाई छिटोभन्दा छिटो अस्पताल लैजान सकियोस् भन्ने उद्देश्यले वीरगन्जमै आइसोलेसन सेन्टर बनाउने निर्णय गरिएको हो ।’

प्रकाशित : वैशाख २८, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?