रिपोर्ट ढिलाइले संक्रमण फैलिने जोखिम- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिपोर्ट ढिलाइले संक्रमण फैलिने जोखिम

स्वाब दिएको तीन दिनपछि मात्र रिपोर्ट, स्रोतसाधन, दक्ष जनशक्ति र बजेट अभाव
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–८ का ५५ वर्षीय पुरुषलाई आठ दिनअघि उच्च ज्वरो र रुघाखोकी देखियो । सामान्य मौसमी फ्लुको अनुमान गरी मेडिकलबाट औषधि किनेर खाए ।

पाँचौं दिनमा पनि निको नभएको र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि जिल्ला अस्पतालमा स्वाब परीक्षणका लागि दिए । तीन दिनपछि आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण देखियो ।

परिवारका सदस्यसँगै बसेका उनले लक्षण देखिएको आठ दिनपछि मात्र संक्रमित भएको थाहा पाए । त्यसलगत्तै उनी घरमै आइसोलेट भएर बसेका छन् । उनलाई परिवारबाहेकका कसैले पनि हेरचाह गरेको छैन । न त उनलाई संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङ नै भएको छ ।

परिवारका कसैलाई पनि जाँचका लागि बोलाइएको छैन । संक्रमित ती पुरुषले स्वाब दिएको तीन दिनपछि रिपोर्ट आउँदा संक्रमण फैलिएको आशंका गरेका छन् । उनले भने, ‘नमुना दिएपछि म सामान्य रूपमा घरमै बसेको थिएँ, मबाट परिवारका अन्य सदस्यलाई सरेको हुन सक्छ ।’ आठ जनाको परिवारमा केहीलाई घाँटी खसखसको समस्या रहेको उनले बताए ।

यस्तै कविलासी नगरपालिका–७ का ४६ वर्षीय उपेन्द्र झाले उच्च ज्वरो र रुघाखोकी लागेको ६ दिनपछि जिल्ला अस्पतालमा स्वाब दिए । तीन दिनपछि आएको रिपोर्टमा भने नेगेटिभ देखाएको छ । पेसाले स्वास्थ्यकर्मी रहेका उनी कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि आफूलाई पहिलादेखि नै आइसोलेट गरेर बसेका थिए । उनले सामान्य नागरिक पोजिटिभ भएका बेलामा तीन दिनपछि आउने रिपोर्टले घरपरिवारमा संक्रमण फैलिने खतरा रहेको बताए ।

जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ४३ छ भने चार जनाको कोभिडकै कारण ज्यान गइसकेको छ । वैशाख १६ गते पीसीआर ल्याब सञ्चालनमा आएको जिल्ला अस्पतालमा १७ गते १७ जनाको स्वाब संकलनमा ६ जना पोजिटिभ देखिए । १८ गते १२ जनाको परीक्षण गर्दा ८ जना पोजिटिभ देखिए । तर १९ गते ६० जनाको स्वाब संकलन भएपछि होल्ड गरियो । मेसिनमा ९४ स्वाब परीक्षणको क्षमता रहेकाले होल्ड गरिएको थियो । २० गते पुनः ६० जनाको स्वाब संकलन भएपछि परीक्षण गरियो । जसमध्ये १९ जनाको पोजिटिभ रिपोर्ट आयो ।

२१ गते संकलन गरिएको ५८ वटा स्वाबको पनि परीक्षण गरिएन । २२ गते ४९ जनाको स्वाब संकलन भएपछि एकै पटक फेरि ९४ जनाको स्वाबको परीक्षण गर्दा ४७ जना पोजिटिभ देखिए । बाँकी रहेका ९ जनाको स्वाब र २३ गते संकलन गरिएको ७२ वटा स्वाबको नमुना ल्याबमै राखिएको छ । २३ गते स्वाबको संख्या नपुगेकाले परीक्षण गर्न नसकिएको अस्पतालले जनाएको छ । २४ गते जिल्ला अस्पतालमा संकलन गरिएको ३० जनाको स्वाब र गोडैता नगरपालिकाले पठाएको ३२ जनाको स्वाब पनि अस्पतालको ल्याबमै राखिएको छ ।

शुक्रबार दिनभरि विद्युत् नभएकाले परीक्षण गर्न नसकिएको र २५ गते शनिबार परेकाले आइतबार मात्र परीक्षण गरिने जिल्ला अस्पतालका वरिष्ठ जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताए । उनले ल्याबमा अहिलेसम्म १ सय ४३ स्वाब परीक्षणका लागि राखिएको जानकारी दिए । साहले परीक्षणको दायरा बढे प्रत्येक दिन नतिजा निकाल्न सकिने बताए । ‘एक पटकमा ९४ जनाको स्वाबको परीक्षण गर्ने गरिएको छ, थोरैको परीक्षण गर्दा खर्च बढी लाग्ने भएकाले संख्या पुगेपछि परीक्षण गर्ने गरेका छौं,’ उनले भने, ‘यसमा कहिलेकाहीँ विद्युत् अनियमितको मार पनि खेप्नुपरेको छ, जसले समयमा नतिजा दिन सकिरहेका छैनौं ।’

गत शुक्रबारदेखि पीसीआर मेसिन सञ्चालनमा आएपछि अहिलेसम्म ३ सय ९० जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये २ सय ४४ जनाको स्वाब परीक्षण गर्दा ८५ जनामा कोरोना संक्रमण पाइएको अस्पतालले जनाएको छ । यता गोडैता नगरपालिकाले बिहीबार संकलन गरेका ३२ वटा स्वाबको रिपोर्ट नआएको गुनासो गरेको छ । समयमा रिपोर्ट नआएकाले उनीहरूको व्यवस्थापन गर्न समस्या देखिएको नगरपालिकाका मेयर देवेन्द्र यादवले बताए । मेयर यादवका अनुसार समयमा रिपोर्ट नआउँदा संक्रमितले अन्यलाई सार्न सक्ने जोखिम रहेको बताए । उनले आफूहरू रिपोर्टको बाटो कुरिरहेको जनाउँदै संक्रमितको उपचारमा कुनै कसर नराखिने जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयले स्वाब परीक्षणका लागि आवश्यक स्रोतसाधन, दक्ष जनशक्ति र बजेट अभाव रहेको जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख श्रवणकुमार नायकले अभावै अभावका बीच स्वाब परीक्षण भइरहेकाले समयमा रिपोर्ट दिन नसकिएको बताए । स्वाब संकलनपछि स्थानीय आफैं सजग हुनुपर्ने बेला आएको उनको भनाइ छ । नायकका अनुसार यी सबै समस्या समाधानका लागि प्रदेश सरकारसँग छलफल भइरहेको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्

जनशक्ति अभावले उपचार असहज

संक्रमितलाई भर्ना गर्न आनाकानी गरिएको र जबर्जस्ती डिस्चार्ज गर्न थालिएको जनगुनासो 
शंकर आचार्य

पर्सा — कोरोनाको दोस्रो लहरमा समेत वीरगन्ज ‘हटस्पट’ बनेपछि यहाँको नारायणी अस्पतालमा संक्रमितको भीड बढेको छ । अस्पताल व्यवस्थापनले संक्रमितको उपचारका लागि झन्डै १ सय ५० शय्या छुट्याएको छ । तर, यीमध्ये एक सय शय्यामात्र भरिँदा पनि उपचारमा ठूलै समस्या भइरहेको अस्पताल प्रशासनको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जय ठाकुर अहिले अस्पतालको सबैभन्दा ठूलो समस्या नै जनशक्ति अभाव रहेको बताउँछन् । ‘संक्रमितको संख्या थपिएको थपियै छन्, अन्य अस्पतालले पनि रिफर गरेर अन्तिम अवस्थामा यहीं पठाउँछन्,’ उनले भने, ‘अब त उपचार गर्ने जनशक्तिको अभाव नै भइसक्यो, उपचारमा खटिएका केही संक्रमित पनि भइसके, यस्तो अवस्थामा हामी कसरी धान्न सक्छौं ?’

अस्पतालमा संक्रमितलाई भर्ना गर्न आनाकानी गरिएको र जबर्जस्ती डिस्चार्ज गर्न थालिएको जनगुनासो पनि बढ्दै गएको छ । अस्पतालका प्रवक्ता डा. सरोज सिंह पनि आफूहरू हाल जनशक्ति अभाव झेलिरहेको दाबी गर्छन् । ‘स्वीकृत २ सय ५० शय्यामध्ये १ सय ५० शय्या संक्रमितको उपचारका लागि छुट्याई सकिएको छ, अस्पतालमा जति पनि संक्रमित भर्ना हुन्छन् ती गम्भीर खालकै हुन्छन्,’ उनले भने, ‘आईसीयूमा ७० को हाराहारी अक्सिजन चलिरहन्छ, आईसीयूकै ५ शय्या बराबर एक स्वास्थ्यकर्मी खटिनुपर्छ, यसरी एक सिफ्टमा कम्तीमा १५ स्वास्थ्यकर्मी त आईसीयूमै खटिनुपर्छ ।’

हाल चिकित्सक र अन्य स्वास्थ्यकर्मीसमेत गरी झन्डै २४ जना संक्रमित भएर उपचाररत रहेकाले आफूहरूलाई अस्पताल धान्नै गाह्रो भएको उनले बताए । चिकित्सक कम नभए पनि स्टाफ नर्स, अनमी र अहेवजस्ता बिरामीको उपचारमा प्रत्यक्ष संलग्न हुने जनशक्ति अभाव रहेको उनले बताए । ‘अस्पतालमा सरकारका तर्फबाट ४४ स्टाफ नर्सको दरबन्दी छ, तर मुस्किलले १८ जना स्टाफ नर्स उपलब्ध छन्, विकास समितिका तर्फबाट १४ स्टाफ नर्सको दरबन्दी छ ती पनि आधा मात्र उपलब्ध छन्,’ उनले भने, ‘स्टाफ नर्सहरू सकेसम्म वीरगन्ज आउनै नचाहने र राजधानीमै बसिराख्ने प्रवृत्तिले समस्या भइरहेको छ ।’

अस्पतालमा अनमीको ८ दरबन्दी रहेकामा ७ र अहेवको ५ दरबन्दी रहेकामा २ मात्र कार्यरत छन् । अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयसँग ८० स्वास्थ्यकर्मी माग गरे पनि हालसम्म केन्द्रले नपठाएको उनले बताए । जनशक्ति थप नगरे स्थिति झनै जटिल बन्दै जाने उनको भनाइ छ ।

तर कोरोनाको दोस्रो लहर सुरु हुनुअघि नै अस्पतालमा जनशक्ति अभावको समस्या समाधान गरिसक्नुपर्नेमा त्यसो नगरिएको स्थानीयको आरोप छ । नारायणी अस्पतालको समग्र अवस्था सुधारका लागि लामो समयदेखि कार्यरत अभियन्ता ओमप्रकाश सर्राफले पूर्वतयारी नगरिएको बताए । प्रदेश २ कै प्रमुख अस्पताल नारायणी जनशक्तिको समस्या समाधानमा पहिल्यै प्रयास गरेको भए हालको अवस्था नआउने उनको भनाइ छ ।

‘चुस्त दुरुस्त व्यवस्थापन गर्नु अस्पतालका अधिकारीहरूको पनि जिम्मेवारी हो, समयमै त्यसो गरिएको भए हाल आइपरेको समस्या टर्थ्यो,’ उनले भने, ‘अहिले अस्पतालका धेरै स्वास्थ्यकर्मीहरू संक्रमित पनि भइसके, यस्तो अवस्थामा केन्द्रले अविलम्ब यहाँ आवश्यक जनशक्ति पठाउनुपर्छ ।’

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त जनशक्ति अभावकै कारण नारायणी अस्पतालमा बिरामी भर्ना नगर्ने, संक्रमित बिरामीलाई निको पारेर नभई संक्रमित अवस्थामै जबर्जस्ती डिस्चार्ज गर्ने जस्ता जनगुनासो व्यापक रूपमा आइरहेको बताउँछन् । ‘यदि यस्ता गुनासा सही हुन् भने त्यो मानवताविरुद्धकै अपराध हो,’ उनले भने, ‘अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी भनेको युद्धको मैदानमा सेना जस्ता हुन्, उनीहरू कुनै पनि बहानामा मैदानबाट पछि हटेर कायरता देखाउने होइन ।’

प्रकाशित : वैशाख २६, २०७८ १२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×