कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ सय शय्याको अस्पताल र आइसोलेसन

पर्सा — वीरगन्जस्थित गोपाल मण्डली धर्मशालामा शुक्रबारदेखि अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ ।

२ सय शय्याको अस्पताल र आइसोलेसन

वीरगन्ज महानगरपालिकाले सञ्चालन गरेको अस्पताल तथा आइसोलेसन सेन्टरको महानगरका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरे । धर्मशालाको भुइँतल्लामा १ सय शय्याको आइसोलेसन र माथिल्लो तल्लामा १ सय शय्याकोअक्सिजनसहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिएको हो ।

कोभिड अस्पतालमा पहिलो बिरामीको रूपमा महानगरकी उपप्रमुख शान्ति कार्कीलाई भर्ना गरिएको छ । बुधबार कोरोना संक्रमित पुष्टि भएकी उनी यसअघि वीरगन्जकै विजय ज्योति आइसोलेसन होटलमा बसेकी थिइन् । अस्पताल र आइसोलेसन सेन्टर दुवै निःशुल्क सेवासहित सञ्चालनमा ल्याइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले बताए ।

पर्साका १४ स्थानीय तहमध्ये वीरगन्जले सबैभन्दा पहिले कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गरेको हो ।

जिल्लामा हाल १ हजार ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । तीमध्ये अधिकांश होम आइसोलेसनमा छन् । अस्पताल तथा आइसोलेसन सेन्टरको अभावमा उनीहरू असुरक्षित रूपमा घरमै बस्न बाध्य भएका हुन् । महानगरको अस्पतालमा अक्सिजनको अभाव हुन नदिने र अब अक्सिजनको नभएकै कारण जिल्लामा कोरोना संक्रमितको ज्यान जाने घटनामा कमी आउने कार्यकारी प्रमुख निरौलाले बताए ।

वीरगन्जका अस्पतालहरूमा भर्ना गरिएका अधिकांश संक्रमितलाई अक्सिजन दिएरै राखिएको छ । गम्भीर बिरामीहरूलाई मात्र अस्पतालहरूमा भर्ना गरिएको छ । होम आइसोलेसनमा बसेर अक्सिजन लिने संक्रमितको संख्या पनि निकै छ ।

पर्सामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार बिहीबार नारायणी अस्पतालमा पर्सा विश्रामपुर २ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।

बिहीबार नै नेसनल मेडिकल कलेजमा पर्सा बहदुरमाई नगरपालिका ४० वर्षीय पुरुषको र वीरगन्ज २८ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । शुक्रबार वीरगन्ज हेल्थ केयर अस्पतालमा वीरगन्ज ११ का ५४ वर्षीय पुरुष, कालिकामाई २ का ५५ वर्षीय पुरुष र नेसनल मेडिकल कलेजमा वीरगन्ज ५ की ७९ वर्षीया महिलाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २५, २०७८ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?